बिहीबार, ५ भदौ २०७६
DainikNepal.com
बिहीबार, ५ भदौ २०७६

आठराईबासीसँग प्रधानमन्त्रीको जिज्ञासा-भित्रिया र खमारेमा आँप कटहर छन् कि छैनन् ?

दैनिक नेपाल २०७६ जेठ ९ गते १८:५०

काठमाडौँ, ९ जेठ । प्रधानमन्त्रीलाई भेट्न आउजाउ गर्ने थुप्रै नेता, कार्यकर्ता, मतदाता, शुभचिन्तक हुन्छन् । बिहान सबेरैदेखि रातिसम्म दैनिक सयौँ मानिसहरुसँग प्रधानमन्त्रीको भेटघाट र अन्तक्र्रिया हुन्छ ।

तर, बिहीबार बिहान प्रधानमन्त्री ओलीको करिब १५ मिनेटको भेटघाट भने बिल्कुल फरक रह्यो । सधैँ राष्ट्रिय राजनीति र विकासका ठूला ठूला नीति र योजनाका बिषयमा छलफल हुने यस ठाउँमा आज प्रधानमन्त्रीले आफ्नो जन्मस्थानको चर्चा र बाल्यकालका साथीसंगीलाई सम्झना गरे ।

चुहानडाँडा विमानस्थलका लागि रकम माग गर्न आठराई गाउँपालिकाबाट एउटा समूह प्रधानमन्त्री निवासमा आएको थियो । त्यहाँ अधिकांश उतै आठराईमै बसोबास गरेकाहरु र केही झापा र राजधानीमा बसोबास गरिरहेका तर आठराईलाई माया गर्नेहरु थिए । आठराईमा विमानस्थलका लागि पैसा माग्न आएको समूहका बारेमा पूर्व जानकारी पाएका प्रधानमन्त्री ओली अनौपचारिक पोषाकमा नेकपाका महासचिब विष्णु पौडेलसहित बैठक कक्षमा प्रवेश गरे । ‘

के छ आठराईको खबर ?’ प्रधानमन्त्रीको जिज्ञासा थियो । आगन्तुक सबैले आठराई विमानस्थलका लागि रकम छुट्याउन माग गरे । ‘नीति कार्यक्रममा आइसकेको छ । बजेटका लागि चिन्ता नगर्नु’ प्रधानमन्त्री ओलीले भने ।

त्यसपछि प्रधानमन्त्री ओलीले आफूसँग भएको कलेजी रंगको डायरी पल्टाएर आठराईको एउटा सडकको योजना सुनाए । सुकेपोखरी–छातेढुंगा–प्रणामी मावि इवा–भदौरे–बिजौरे आधारभूत विद्यालय हुवाकु –निगुरादिन – चोपुर हुँदै हाङपाङ स्कूल – शान्ति आधारभूत विद्यालय मिचिरिङ हुँदै दोभान–ठोट्ने हुँदै तेल्लाबुङसम्म सडकका लागि पनि यसपालि रकमको व्यवस्था हुन्छ ।

जन्मस्थान आठराई इवा छोडेको ५८ बर्षपछि पनि आठराईका चोकचोकमा नाम प्रधानमन्त्रीले फटाफट भनेको सुनेपछि आठराईबासीहरुले प्रधानमन्त्रीलाई अहिले पनि उही इवाकै छिमेकीकै रुपमा महसुस गरे । चुहानडाँडा विमानस्थलमा रकम माग गरिएको कागज लिएर प्रदेशसभा सांसद तेजमान कङ्दङ्वा प्रधानमन्त्री नजिक गए ।

तेजमानको हात समाएर प्रधानमन्त्री ओलीले महासचिव पौडेललाई चिनाउदै भने, ‘ऊ मेरो गाउँले भाइ हो । अहिले प्रदेशसभाको सांसद ।’ प्रधानमन्त्रीले फेरि सम्झिए, ‘अर्का तेजबहादुर कङदङ्वा पनि हुनुहुन्छ । वहाँ चाँही विर्तामोडमा हुनहुन्छ । तेजप्रसाद कङदङ्वा चाँही मेरै सामु हुनुहुन्छ ।’

प्रधानमन्त्री ओलीले बालसखा चन्द्र कन्दङवाको पनि सम्झना गरे । ‘मेरो बाल्यकालको साथी चन्द्र । म भन्दा सिनियर पनि हुन् तर, पनि हामी साथी साथी थियोैं । हामीले एकैदिन २०२६ साल फागुन १२ गते नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका । अर्का सूर्य कङदङवा त मेरा गुरु नै हुनुभो ।’

प्रधानमन्त्रीलाई आठराईबासीले भने ‘हामीलाई पानीको चाँही सारै समस्या छ ।’ यति भनिसक्दा प्रधानमन्त्रीले आफूले बाल्यकालमा पानी खाने गरेको इवा कै चुच्चेधारो सम्झिए । ‘उबेला चुच्चेधाराको पानी अजुंलीमा थापेर खान कम्ती मजा हुँदैन थियो’, प्रधानमन्त्रीले ओलीले भने, ‘अहिले सुकेर तिर्र….मात्र पानी आउँदो रहेछ । ५ बर्ष अघि आठराई गएको बेला चुच्चे धाराको रवाफ दिंदै श्रीमतीलाई पनि पानी खुवाउन लिएर गएको त पानी सुकिसकेछ । त्यसपछि आफै हिस्स परियो ।’

पानीको प्रसंगमा प्रधानमन्त्रीले संक्रान्तिको याकुम्बा गढी पनि स्मरण गरे । ‘गढी के भएछ त । त्यहाँबाट आरोलो लागेपछि त थुप्रै पानीका मुल थिए पहिला त’ उनले भने ।

प्रधानमन्त्रीको यो जिज्ञासा सुनेपछि आठराईबासीले नेपालका गाउँबस्तीमा पानीका मुल सुक्नाका केही गम्भिर कारणहरु एकपछि अर्को गर्दै प्रधानमन्त्री समक्ष राखे । पूर्वप्रधानअध्यापक आरसी थपलियाले भने, ‘जतासुकै मोटरबाटो खनियो । यसले पानीको मुललाई धक्का दियो । मुलहरु अन्तै सरे ।’

भीष्म थपलियाले थपे, ‘भैंसी पाल्ने चलन हरायो । जसले गर्दा आहाल मासिए । आहाल नभएपछि पानी जम्मा हुन र रसाउन पाएन । पानीका मुल सुके ।’

त्यसैमा टिका उप्रेतीले थपे, ‘पहिला जस्तो साउने झरी पर्न छाड्यो । त्यतीबेला साउने झरी हप्तादिनसम्म बिस्तारै बर्सीरहन्थ्यो । त्यसले जमिनको भित्री भागसम्म पानी जान्थ्यो । अहिले दर्र…पानी पर्छ जमिनको सहतमै बगेर सकिन्छ ।’

भीम घिमिरेले अर्को कारण थपे, ‘अहिले सानो मुल कतै भेटिए मानिसले सुविधाका लागि पाइप घुसाएर घर मै पानी पुर्याउँछन् । जसले गर्दा पानीको प्राकृतिक बहाव मासियो । अनि हामी काकाकुल भयौं ।’

प्रधानमन्त्री ओलीले आठराईमा एउटा फूटबल मैदानको प्रस्ताव गरे । ‘तपाईंहरुसँग छ भने जग्गा दिनुहोस् । हैन भने म जग्गा दिन्छु’ प्रधानमन्त्रीले भने, ‘छन् त चुहानडाँडाँमा उप्रेतीटार, थपलीयाटार ।’

त्यसपछि प्रधानमन्त्री इवाको भित्रिया र खमारेको बगैँचामा पुगे । भित्रिया र खमारेको बगैंचामा खाएका आँप र कटहरको चर्चा प्रधानमन्त्रीले गरे ।

‘हरेक बर्ष असार २२ गते कटहर टिप्ने दिन हुन्थ्यो’ प्रधानमन्त्री ओलीले भने, ‘मैले पनि धेरै पटक यहाँका आँप कटहर टिपेको छु । खाएको छु । अहिले छन् कि छैनन् , भित्रिया र खमारेमा आँप कटहर ?’

प्रतिक्रिया
सम्बन्धित