सोमबार, २ असार २०७६
DainikNepal.com
सोमबार, २ असार २०७६

सिंहदरबारमा वार्ताको तरवारः न बस्न मिल्ने न भाग्न मिल्ने

राजेन्द्रवीर राय २०७६ जेठ ९ गते १०:०२

राजेन्द्रवीर राय

दक्षिण–पश्चिम अमेरिकी मुलुक पेरूमा सन् १९९० को दशकमा फुजिमोरी सरकार र साइनिङ पाथबीच भीषण युद्ध भयो । ३० करोडभन्दा बढी जनसंख्या रहेको पेरूमा गोन्जालो नेतृत्वको कम्युनिस्ट युद्धले गाउँदेखि सहर घेर्दै लगेको थियो । सोभियत संघको समाजवाद तासको महलझैं भत्किएको थियो । माओको चिनियाँ क्रान्ति संशोधनको बाटोमा थियो । विश्वबाट कम्युनिस्टको जग भत्किरहेका बेला पेरूमा कम्युनिस्ट पार्टीको झन्डा फहराउँदै गोन्जालोले युद्धलाई उत्कर्षमा पुर्याए । गाउँ मात्र होइन, ठूला सहर पनि आफ्नो कब्जामा लिइसकेका थिए । त्यही बेला अमेरिकाको पूर्ण सहयोगप्राप्त फुजिमोरी सरकारले अन्तिम र निर्णायक वार्ता आह्वान गर्यो । केही दिनको वार्तापछि गोन्जालोलाई फुजिमोरी सरकारले गिरफ्तार गर्यो । त्यसपछि पेरूको कम्युनिस्ट पार्टी टर्च लाइट बालेर खोज्नुपर्ने परिस्थितिमा पुग्यो ।

शक्तिशाली गोन्जालोलाई जेलमा राखेर कम्युनिस्टको युद्ध समाप्त पार्ने ताकत फुजिमोरी सरकारले राख्यो । सरकार जहाँ र जहिले पनि शक्तिशाली हुन्छ । विश्वका धेरै यस्ता उदाहरण छन् । पेरूको राजधानी लिमा कब्जा हुनै लागेका बेला फुजिमोरीले अन्तिम तथा निर्णायक वार्ता आह्वान गरेर कम्युनिस्टलाई झुक्याए । उनले कम्युनिस्ट पार्टी समाप्त पारिदिए ।
पेरूको फुजिमोरी सरकार र गोन्जालोको इतिहास राम्रोसँग अध्ययन गरेका कम्युनिस्ट पार्टीका नेता यति बेला नेपालमा सरकार चलाइरहेका छन् । उनीहरू गोन्जालोको बखान गर्छन् तर रणनीतिक योजना भने फुजिमोरीको अपनाइरहेका छन् । पृथकतावादी आन्दोलन चलाएका सीके राउतसँग त्यही शैलीको वार्ता गरे । विप्लव नेतृत्वको नेकपासँग त्यही शैलीको गोप्य संवाद थालिरहेका छन् ।

वार्ता र संवाद ओली सरकारले विप्लवसँग मात्र होइन, हिन्दुराष्ट्र माग गर्दै आन्दोलनमा होमिएको राप्रपासँग पनि गरिरहेको छ । सरकार र राप्रपाबीचको वार्ता निष्कर्षमा पुग्नै नसक्ने तथ्य दुनियाँका अगाडि जगजाहेर छ । तापनि, सिंहदरबारमा वार्ता चलिरहेकै छ ।

दुवै शक्ति शक्तिशाली भएका बेला गरिएका वार्ता त्रासमा परेर लेनदेनमा टुंगिन्छन् । तर, एउटा शक्ति कमजोर र अर्काे शक्तिशाली भएका बेला गरिएका वार्ता सम्झौतामा टुंगिदैनन्, कम्युनिस्टको भाषामा भन्नुपर्दा आत्मसमर्पण हुन्छ । सरकार यति बेला वार्ताका नाममा सके आत्मसमर्पण गराउने, नसके वार्ताको औचित्य समाप्त पारिदिने भित्री तरवार लिएर बसिरहेको छ ।

राप्रपाले गणतन्त्रको विकल्पमा संवैधानिक राजतन्त्र, धर्मनिरपेक्षताको विकल्पमा हिन्दूराष्ट्र, संघीयताका विकल्पमा स्थानीय तहमा अधिकार हुने गरी केन्द्रित शासन प्रणालीको माग गरिरहेको छ । यी माग केपी ओली र पुष्पकमल दाहाल सरकारले पूरा गर्नै सक्दैन । तापनि, वार्ताको एउटा नमुना चिया गफमा रुमलिएको छ ।

शक्तिशाली कम्युनिस्ट सरकारका अगाडि राप्रपा कमजोर छ । तर, हिन्दूराष्ट्रको एजेन्डा शक्तिशाली सरकारलाई ठूलो चुनौती बनेको छ । हिन्दुराष्ट्रका पक्षमा गरिएका कुनै पनि कार्यक्रममा नागरिकको ठूलो सहभागिता हुन थालेपछि वार्ताको नाटक मञ्चन भएको हो । हिन्दूराष्ट्रका पक्षमा नागरिकलाई सडकमा आउन नदिन सरकारले वार्ताको रंगमञ्च खडा गरिरहेको छ । चारपटक राप्रपासँग वार्ता भयो तर प्रगति शून्य छ । किनकि, ढुंगालाई जति पेले पनि तेल निस्किँदैन, धूलो मात्र उड्छ । राप्रपा र सरकारको वार्ता तेल निकाल्ने नभई धूलो उडाउने मात्र हो ।

सरकारको दिमागमा एउटा नामले बास गरिरहेको छ । त्यो नाम हो, कमल थापा । फुजिमोरी सरकारले साइनिङ पाथका गोन्जालोलाई जस्तै कमल थापालाई एम्बुसमा पार्ने योजना बुनिरहेको छ । सरकारले बन्दुकका भरमा नभए पनि वार्ताको माध्यमबाट झुक्याउने प्रयास गरिरहेको छ । कमल थापालाई अलमलमा पारे हिन्दूराष्ट्रका पक्षमा सडकमा उर्लिन लागेको माहोल थाम्न सकिने योजनामा छ । राजालाई झुक्याएर गणतन्त्र, सांसदलाई झुक्याएर धर्मनिरपेक्षता लागू गरेका कम्युनिस्ट–कांग्रेसका नेता कमल थापालाई झुक्याएर हिन्दूराष्ट्रको एजेन्डा ओझेलमा पार्ने प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित