मंगलबार, ३ असार २०७६
DainikNepal.com
मंगलबार, ३ असार २०७६

उपमेयरको ‘चड्कन’ भेटेका इटहरीका मेयरका अनेक काण्ड

दैनिक नेपाल २०७६ जेठ ९ गते ११:०९

काठमाडौं, ९ जेठ । प्रदेश १ को जङ्शन, इटहरी । र, त्यो उम्दा उपमहानगरपालिकाका रूपमा व्याख्या पनि हुन्छ । नगरपालिका घोषणा भएदेखि नै तत्कालिन एमालेको नेतृत्व हुँदा कहिले पनि विवाद थिएन । तर, हालका मेयर द्वारिकलाल चौधरी निर्वाचित भएपछि भने विवादको घेराबन्दीमा परेको छ ।

मेयर चौधरीको उदण्ड, उत्पात र आवेशले नगरवासी आजित भएको गुनासो बढ्न थालेको छ ।

उनको उदण्डताको पराकाष्टचाहिँ कर्मचारीदेखि पत्रकारसम्मको कठालो समात्नु बन्यो । सौर्यवत्ति काण्डदेखि कर्मचारीको मोटरसाईकलको चाबी खोस्ने र सरकारी जग्गा खोज्ने नाममा डोजर चलाउनसम्म थालेका चौधरी गुण्डागर्दीमा उत्रिएको आरोप लाग्न थालेको छ ।

उनले बुधबार इटहरी–१९ का वडासचिव मनोज दाहाल र उपमहानगरपालिकाका सब ओभरसियर राम खड्कामाथि हातपात गरे । यहि प्रकरणमा चौधरीविरुद्ध कर्मचारी आन्दोलनमा छन् ।

समाचार संकलनको क्रममा प्रतिक्रिया लिन पुगेका पत्रकारद्वय विकल रेग्मी र कृष्णबहाव भट्टराईलाई गाली गलौज गर्दै मेयर चौधरीले दुव्र्यवहार गरेका थिए । पत्रकार रेग्मीलाई कठालो समातेका छन् भने भट्टराईलाई सार्वजनिक स्थलमा हप्काएका थिए । मेयरले दिउसो कर्मचारी कुटपिटको विषयमा प्रतिक्रिया लिन पुगेको दुबै पत्रकारमाथि मेयरले दुव्र्यवहार गरेपछि नेपाल पत्रकार महासंघ सुनसरीले एक विज्ञप्ती जारी गर्दै भत्र्सना गरेको थियो । महासंघका अध्यक्ष अमर खड्का र सचिव हिमाल दाहालले विज्ञप्ती जारी गर्दै प्रेस स्वतन्त्रताको माग समेत गरेका थिए ।

पहिलैदेखि उदण्ड

स्थानीय तहको निर्वाचनमा आदीवासी जनजाती कोटामा इटहरी उपमहानगरको मेयरका लागि तत्कालिन एमालेले उनको नाम फाइनल गरेको थियो । धेरैको विरोधकाबीच पार्टी केन्द्रीय कमिटीले उनको नाम निर्णय गरे पनि उनले राजनीतिमा गतिलो नजिरचाहिँ राखेका थिएनन् ।

पहिलो संविधानसभाका बेला तत्कालि एमाले देशैभर कमजोर बनिरहेका बेला संगठन निर्माण गर्नुको साटो चौधरीले ‘थारु नसमेटेको’ भन्ने स्टन्ट देखाउँदै राजीनामाको घोषणा गरे । तर, अन्यत्र कतै ठाउँ नपाउने भएपछि जिल्ला कमिटीमा बस्न बाध्य भए ।

पत्रकारको कठालो समात्दै मेयर चौधरी

जिल्ला कमिटीमा पनि नेतृत्व नपाएको झ्वाँकमा विभिन्न व्यक्तिसँग उनको विवाद कायमै रहेको थियो । जिल्लाका कतिपय नेतासँग उनले मुखामुख गर्दै आएका छन् । हालै मात्र एउटा अन्तरवार्तामा पत्रकारको मुख थुन्नुअघि उनले जिल्ला नेता रामप्रसाद चौलागाँईलाई ‘भ्रष्टाचारी’ भनिदिए । सम्मानित पद मेयर जस्तो व्यक्तिले प्रमाण नै नपुराई आफ्नै पार्टीका नेतामाथि यस्तो आरोप लगाएर हुर्मत लिने काम गरेका थिए ।

हालकी उपमेयरको चड्कन !

उपमहानगरपालिकामा उपमेयर छिन्, लक्ष्मी गौतम । एउटै पार्टीको जिल्ला कमिटीमा रहेका उनीहरूबीच जिल्ला पार्टी कार्यालयमा रहँदाको कहानी पनि खुलेको छ ।

जिल्ला कमिटीको बैठकका क्रममा चौधरीले महिलाको अपमान हुनेगरी बोलेका कारण गौतमले उनलाई चड्कन लगाएको चर्चा चलेको थियो । विवादका क्रममा अपशव्द प्रयोग गरी महिलाकै अपमान गरेका कारण गौतमले चड्कन लगाएकी थिइन् ।

मेयर र उपमेयरमा दुवै निर्वाचित भए पनि अहिले काम गर्ने शैली मिलेको छैन । कतिपय मुद्दामा दुवैबीच विवाद समेत हुने गरेको बताइन्छ ।

प्रतिक्रिया
सम्बन्धित