आइतबार, ८ भदौ २०७६
DainikNepal.com
आइतबार, ८ भदौ २०७६

उड्डयन प्राधिकरणमा महानिर्देशकको खेल, देउवानिकट पोखरेलले बाजी मार्लान ?

दैनिक नेपाल २०७६ जेठ ९ गते ९:०९

काठमाडौं, ९ जेठ । नेपाल नागरिक उड्डयन प्राधिकरण जेठ १३ गते देखि महानिर्देशक बिहीन बन्दै छ ।

पदावधि सकिनु १ महिना अगावै बिदामा बस्नुपर्ने महानिर्देशक सञ्जीव गौतम हालसम्म बिदामा बसेका छैनन् ।

जेठ १३ गतेदेखि खाली हुने महानिर्देशक पद हत्याउन प्राधिकरणकै दुई उपमहानिर्देशकबीच रस्साकसी छ ।

नेपाली कग्रेसका सभापति शेरबहादुर देउवा निकटका उपमहानिर्देक राजन पोखरेल महानिर्देशक बन्न लागि परेका छन् ।

पोखरेल तिनै उपमहानिर्देशक हुन्, जसले हवाई यातायात तथा नियमन निर्देशनालयमा रहँदा श्री एयरलाईन्ससँग मोटो रकम लिएर अन्तर्राष्ट्रियतर्फको एओसी दिएका थिए ।

एओसिआरमा उल्लेख भए अनुसारको धरौटी रकम नराखी श्री एयरलाईन्सका मलिकसँग मोटो रकम लिएर पोखरेलले एओसी उपलब्ध गराएका थिए ।

पोखरेलमाथि अनिल मानन्धर नामका श्री एयरलाईन्सका कर्मचारीलाई पेप्सीकोला स्थित घरमै बोलाई लाखौ रकम बुझेर गैर कानुनी रुपमा एओसी दिलाएको आरोप लाग्ने गरेको छ ।

वायुसेवा कम्पनीका व्यक्तिलाई घरमै बोलाई रकम असुल्ने र बोलीमा मिठास दिंदै हिड्ने उपमहानिर्देशक पोखरेल यूरोपियन यूनियनमा कालो सूचीमा परेको नेपालको उड्डयन जगतलाई हटाउने भन्दै दर्जनौ पटक बिदेश समेत गएका छन् ।

उनले आजसम्म पनि कालो सूचीबाट हटाउन सकेका छैनन् । हालका महानिर्देशक गौतमले पनि पोखरेललाई महानिर्देशक बनाउन कांग्रेस निकट पोखरेललाई सत्तारुढ दल नेकपाका शक्ति केन्द्रहरुमा लिएर जाने गरेका छन् ।

प्राधिकरणकै निर्देशक प्रदीप अधिकारी पनि जतिसुकै रकम खर्च गरेर भए पनि पोखरेलाई नै महानिर्देशक बनाएरै छाड्ने रणनीतिमा छन् ।

उनले आफ्ना नजिकका व्यक्तिहरूलाई पोखरेललाई महानिर्देशक बनाउन आफू जति पनि रकम खर्च गर्न तयार भएको बताउने गरेका छन् ।

पोखरेलाई महानिर्देशक बनाउन यति एयरलाइन्सका मालिक सोनाम छिरिङ शेर्पाले प्रधानमन्त्री केपी ओलीलाई समेत भेटाइसकेको बालुवाटार स्रोतले बताएको छ ।

महानिर्देशकै दौडमा रहेका अर्का प्रतिष्पर्धी उपमहानिर्देशक देवानन्द उपाध्याय पनि लागि परेका छन् । पोखरेलभन्दा आफू सिनियर भएको भन्दै उपाध्याय महानिर्देशक बन्न लविङमा जुटेका छन् ।

उपाध्यायले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको महाप्रबन्धक हुँदा बिभिन्न अन्तरिक बिमानस्थललाई समेत सवल र सक्षम रुपमा सञ्चालन गरेका थिए ।

कार्यलयको प्रशासनिक ज्ञानदेखि अपरेसनमा समेत उपाध्याय अव्बल मानिन्छन् ।

प्रतिक्रिया
सम्बन्धित