बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

‘नेकपा’सँग डराए चितवनमा एसपी सिंह, काम देखाउन खोजीखोजी गलत व्यक्ति पक्राउ

दैनिक नेपाल २०७६ जेठ ७ गते १०:०९

चितवन, ६ जेठ । चितवन प्रहरीले ‘गोन्द्राङ ढाड काण्ड’का प्रमुख दोषीहरूलाई छाडेर गलत व्यक्तिहरूलाई पक्राउ गरेर मुद्धा चलाएको आरोप लागेको छ ।

गोन्द्राङ ढाड काण्डमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश ३ का सांसद कृष्ण खनाल र रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी संलग्न रहेको जान्दा जान्दै चितवन प्रहरीले गलत निर्दोष व्यक्तिहरूलाई पक्राउ गरेर दुःख दिएको आरोप लागेको छ ।

प्रहरीले गोन्द्राङ ढाड काण्डमा रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल सौराह (रेवान)का अध्यक्ष गोकर्ण गिरीसहितका केही व्यक्तिलाई पक्राउ गरेको छ । रेवानले अध्यक्ष गिरीको कुनै संलग्नता नरहेको भन्दै प्रहरीले दुःख दिएको आरोप लगाएको छ । रेवानले विज्ञप्ति जारी गरेर गिरीलाई विनासर्त रिहाइ गर्न माग पनि गरेको छ ।

दुई दिन अगाडि भरतपुरमा बसेको सर्वदलीय बैठकले पनि दोषीलाई कारबाही गर्ने निर्णय गरेको थियो । घटनामा खिचिएको भिडियोमा देखिएका व्यक्तिलाई कारबाही गर्ने सर्वदलीय बैठकको निर्णयविरुद्ध चितवन प्रहरीले निर्दोष व्यक्तिहरूमाथि मुद्धा चलाएको भन्दै विरोध भएको छ ।

चितवन प्रहरीका प्रमुख एसपी सुशील सिंह राठौरले मुख्य आरोपीहरू राजनीतिक पहुँच भएका र शक्तिशाली रहेका कारण उनीहरूलाई पक्राउ नगरी काम देखाउन निर्दोष व्यक्तिहरूलाई पक्राउ गरेर झुठ्ठा मुद्धा लगाएको आरोप छ ।

मुख्य दोषीहरू राजनीतिक संरक्षणमा छन् । राजनीतिक पहुँच भएका मुख्य व्यक्तिहरूलाई चलाएर एसपी राठौर विवादमा पर्न नचाहेको देखिएको छ । तर, उनको यो कार्यको सबैले चितवनमा आलोचना गर्न थालेका छन् ।

स्थानीय व्यापारीहरूले राठौरविरुद्ध आन्दोलनको तयारी समेत गरेका छन् । एसपी राठौरको उजुरी स्थानीय व्यापारीहरूले गृहमन्त्री रामबहादुर थापा, आइजीपी सर्बेन्द्र खनालसम्म पुर्‍याएका छन् ।

नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख कृष्णबहादुर महराको पावर लगाएर चितवनमा सरुवा भइ आएका एसपी राठौर पछिल्ला दिनहरूमा विवादमा पर्दै आएका छन् । उनका विरुद्ध स्थानीयले मुख खोल्न सकेका छैन । गोन्द्राङ ढाड काण्डमा गलत व्यक्तिलाई पक्राउ गरेर असली दोषीलाई छाडेपछि एसपी राठौरको आलोचना बढेको छ ।

गोन्द्राङ ढाड काण्डमा नेकपाका प्रदेश सांसद कृष्ण खनाल, रत्ननगर नगरपालिकाका उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीसहितका व्यक्ति संलग्न भएपनि तपाईले किन पक्राउ गर्नुभएन भन्ने दैनिक नेपालको जिज्ञासामा एसपी सिंहले भने, ‘छानविन र अनुसन्धान भइरहेको छ । केही व्यक्तिलाई पक्राउ गरेका छौँ । म्याद थप भएको छ ।’ संघका अध्यक्ष रेग्मीलाई प्रहरीले छाडिदिएको थियो ।

प्रदेश सांसद खनाल र संघका अध्यक्ष रेग्मीलाई किन पक्राउ गर्नुभएको छैन ? भन्ने प्रश्नमा एसपी सिंहले भने, ‘खोज तलास भइरहेको छ । उहाँहरू फरार हुनुहुन्छ । फेला पार्नेवित्तिकै पक्राउ गर्छौं ।’

नेकपाका प्रदेश सांसद खनाल र संघका अध्यक्ष रेग्मी चितवनमै खुलेआम हिँड्ने गरेका छन् । उनीहरूलाई पक्राउ गर्नेतर्फ एसपी सिंहले कुनै पनि प्रक्रिया अगाडि नबढाएको स्थानीयहरूको आरोप छ ।

प्रदेश सांसद खनाललाई पक्राउ गर्न प्रदेशका सभामुखको अनुमति लिनुपर्छ । तर, एसपी सिंहले यो समाचार तयार पार्दासम्म प्रदेश सांसद खनाललाई पक्राउ गर्नेबारेमा कुनै पनि प्रक्रिया चलाएका छैनन् ।

घटनाका बेला तयार पारिएको भिडियोमा रेवान सौराहका अध्यक्ष गिरी देखिएका छैनन् । दैनिक नेपाललाई प्राप्त भिडियोमा गिरी कतै देखिएका छैनन् । भिडियोलाई आधार मानेर कारबाही गर्ने सर्वदलीय बैठकको निर्णय छ ।

चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जितेन्द्र बस्नेतले गोन्द्राङ ढाड काण्डको घटनामा केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जानकारी दिए ।

‘केही व्यक्ति पक्राउ पर्नुभएको छ । प्रहरीले जिल्ला प्रशासन कार्यालयमा ल्याएर म्याद थप गरेको छ’, उनले भने, ‘केही व्यक्ति फरार छन् भन्ने सूचना मलाई प्रहरीले दिएको छ ।’

सिडिओ बस्नेतले घटना भएको स्थान पूर्वपश्चम महेन्द्र राजमार्ग र व्यस्त सडक भएकाले सो घटनामा देखिएका सबै व्यक्तिहरू दोषी नरहेको बताए । उनले छानविनपछि बास्तविक दोषी पत्ता लाग्ने बताए ।

ढाडले कर उठाएको विषयमा व्यापारी, स्थानीय व्यक्ति आदि सबैको विरोध थियो । कर उठाउने ढाड शून्य स्थानमा राख्नुपर्नेमा ठेकेदारले व्यस्त बजारको छेउमै राखेर हैरान बनाउँदा पनि प्रहरी, प्रशासन चुपचाप थियो ।

रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल सौराह (रेवान)ले पक्राउ परेका आफ्ना अध्यक्ष गिरीलाई रिहाइ गर्न माग गरेको छ ।

रेवानका वरिष्ठ उपाध्यक्ष दीपेन्द्रप्रसाद खतिवडाले विज्ञप्ति जारी गरेर विनाकारण प्रहरीद्वारा पक्राउ गरिएका अध्यक्ष गिरीलाई तत्काल छाड्न माग गरेका हुन् ।

वरिष्ठ उपाध्यक्ष खतिवडाले गोन्द्राङ ढाड काण्डमा कुनै पनि संलग्नता नरहेको भन्दै रिहाईको माग गरेका हुन् ।

रेवान सौराहले घटनामा घाइते भएकी प्रहरी सहायक निरीक्षक कल्पडा खड्काको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । सो घटनामा संलग्न भएकाहरूलाई प्रहरीले दोषी भनिएकालाई भने हालसम्म पक्राउ गर्न सकेको छैन् ।

‘०७६ जेठ ३ गतेका दिन बिहान साढे १० बजे भरतपुर महानगरपालिकास्थित लाईम एण्ड लेमन रेष्टुरेण्टको उद्घाटन कार्यक्रममा सहभागी भई फर्कने क्रममा पूर्वपश्चिम महेन्द्र राजमार्गअन्र्तगत पर्ने भरतपुरको गोन्द्राङ्गको सडक कर संकलन केन्द्रमा कर संकलन कर्ता र दास ढुङगामा पार्टीको कार्यक्रम सकेर फर्किएका प्रदेश सांसद कृष्णप्रसाद खनाललगायत रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीको समूहबीच बिहान करीव ११ बजे असमझदारी पैदा भई केही उच्छृङ्खल व्यक्तिहरूको समूहद्वारा आगजानी भएको घटनामा रेवानका संस्थाका अध्यक्ष गोकर्ण गिरीको कुनै संलग्नता छैन’, विज्ञप्तिमा भनिएको छ ।

‘रेष्टुरेण्टको उद्घाटन कार्यक्रमबाट फर्कने क्रममा संयोगबस सोही घटनास्थलमा भेट भएको हुँदा बिना कुनै आधार रेवानका संस्थाका अध्यक्ष गोकर्ण गिरीलाई पक्राउ गरी प्रहरी हिरासतमा राख्नु असान्दर्भिक घटना हो’, वरिष्ठ उपाध्यक्ष खतिवडाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

रेवान सौराहले अध्यक्ष गिरीलाई तत्काल रिहाइका लागि अपील गर्दै घटनाको सत्य तथ्य बुझेर छानविन गर्नको लागि प्रहरी र सरोकारवाला निकायसँग आग्रह गरेको छ ।

आगजानी गर्ने क्रममा उक्त क्षेत्रमा कार्यरत प्रहरी सहायक निरीक्षक कल्पना खडका घाइते भएको घटनाप्रति रेवान सौराहले आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनाको घोर भर्त्सना गरेको छ ।

सोही घटनामा रेवान सौराहका अध्यक्ष गिरी रहेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । रेवान सौराहका अध्यक्ष घटना भएको स्थानमा संयोगबस पुगेको विज्ञप्तिमा उल्लेख छ ।

रत्ननगर उद्योग वाणिज्य संघले पनि विज्ञप्ति जारी गरेर रेवान सौराहका अध्यक्ष गिरीलाई विनासर्त रिहाइ गर्न माग गरेको छ । संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले विज्ञप्ति जारी गरेर रेवान सौराहका अध्यक्ष गिरीलाई विनासर्त रिहाइको माग गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित