बिहीबार, २ साउन २०७६
DainikNepal.com
बिहीबार, २ साउन २०७६

नारायणहिटी हत्याकाण्डमा राजा वीरेन्द्रका एडिसी सुन्दरप्रताप रानाले जे देखे…

दैनिक नेपाल २०७६ जेठ ६ गते ७:१२

काठमाडौं, ६ जेठ । दरबार हत्याकाण्डमा गोली चल्दै गर्दा नारायणहिटीमा प्रवेश गर्ने शाही पाश्र्ववर्ती (एडिसी) सुन्दरप्रताप रानाले १८ वर्षपछि लेखेको ‘दरबारको दुःखान्त’ पुस्तक बजारमा आउने भएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

दरबार हत्याकाण्ड र राजपरिवारसँग आफ्नो सम्बन्धमा आधारित रहेर उनले पुस्तक लेखेका हुन् । तत्कालीन राजा, रानी र युवराजको पाश्र्ववर्तीका रूपमा १७ वर्ष दरबारमा बिताएका रानाले पुस्तकमा दरबारबारे आफ्नो अनुभव सार्वजनिक गर्न लागेका हुन् । किताब पब्लिसर्सले प्रकाशन गरेको सो पुस्तकका केही सन्दर्भ यस्ता छन् :

त्रिभुवन सदनभित्र पस्दा मान्छे पूरै सोत्तर भएर लडेको देखेँ

स्वचालित हतियार नियन्त्रण गर्न स्वचालित हतियारै चाहिन्थ्यो । तर, गजेन्द्र (दीपेन्द्रका एडिसी)ले अटोमेटिक हतियार ल्याउलान् भनेर पर्खिरहने समय थिएन, म आफ्नो ‘होल्स्टर’मा रहेको पिस्तोल निकाल्दै बिलियर्ड हलतिर दगुरिहालेँ ।दगुर्दै जाँदा झ्यालबाट मेरा आँखा हलभित्र सरर्र पुगे, मान्छे पूरै सोत्तर भएर लडेको देखेँ । बिलियर्ड टेबलनजिक वीरेन्द्र सरकारको शरीर समातेर पूर्वअधिराजकुमार धीरेन्द्रका ज्वाइँ डा. राजीव शाही बस्नुभएको थियो । त्यहाँ छिर्ने एउटै मात्र ढोका पूर्वतिर थियो, प्यासेजपट्टि अलिकति घुमेर जानुपर्थ्याे ।

म दगुर्दै भित्र पुग्दा केही क्षणअघि मात्र देखिएका डा. शाही त्यहाँ हुनुहुन्नथ्यो । त्यसवेला हलको बाहिरपट्टि गोली चल्दै थियो । हलभित्र पुग्दा भएभरका मानिस भुइँमा लडेका देखेँ । त्यो रगताम्मे माहोलमा सुरुमा त तिरिमिरी भयो । तर, तत्कालै आफूलाई सम्हालेँ । को–को लडे र कसलाई के–के भयो भनेर सोच्ने–हेर्ने समय थिएन । एक–एक सेकेन्डको महत्व थियो । मेरो ध्यान महाराजाधिराजतिर मात्र केन्द्रित थियो । लडेका मानिसलाई नाघ्दै म सरकार भएको ठाउँमा पुगेँ । सरकारलाई गोली लागेको प्रस्ट भइसकेको थियो । बिलियर्ड टेबलनजिक भुइँमा ढलेका राजालाई कसरी बाहिर निकाल्ने र अस्पताल लैजाने भन्ने कुरा मेरा लागि मुख्य चुनौती बन्यो ।

पारसले सोधे, ‘ह्वाट इज ह्यापेनिङ ?’

सैनिक अस्पतालमा मेरोनजिक आएर शाहज्यादा पारसबाट सोधनी भयो, ‘सुन्दर, ह्वाट इज द सिचुएसन हियर राइट नाउ ? प्लिज ब्रिफ ह्वाट इज ह्यापेनिङ ?’ त्यहाँ उपलब्ध राजपरिवारका सदस्यमध्ये सबभन्दा वरिष्ठ मैले पारसलाई मात्र देखेँ । के भइरहेको छ भनेर सोधेपछि मैले आफ्नो पेसागत कर्तव्यअनुरूप जवाफ दिनुपर्थ्याे, त्यसवेलासम्मका सबै विवरण बताइदिएँ ।

यता अरू घाइतेलाई तारन्तार ल्याइँदै थियो । आपत्को त्यो वेला दरबारमा एम्बुलेन्सहरूको व्यवस्था हुन सकेन, तर सुरक्षाकर्मीहरू तुरुन्त परिचालित थिए । घाइतेमध्ये कसैलाई भ्यान, कसैलाई मिनीबस, कसैलाई पिकअप, जे–जे भेटिन्छ, त्यसैमा हालेर अस्पताल ल्याउने काम गरियो ।केहीबेरमा श्रुति सरकारलाई ल्याइयो । मौसुफलाई स्टिलको ट्रलीमा राखिएको थियो । अस्पताल ल्याइपु-याउँदा मौसुफ जीवितै होइबक्सन्थ्यो । मैले छेउमा गएर हेरेँ, अतिशय पीडाले छटपटाउँदै ‘दुख्यो ! दुख्यो !!’ भन्दै तारन्तार कराइबक्स्यो । त्यो देखेर मैले डा. खगेन्द्रबहादुर श्रेष्ठलाई कोट्याएँ, ‘सी इज अलाइभ डाक्टर सा’ब, केही गर्नुप-यो ।’

उहाँले भन्नुभयो, ‘ठीकै छ, उहाँलाई केही भएको छैन, अलेलि दुख्यो होला ।’उहाँले यसो भन्नु पनि स्वाभाविकै थियो । किनभने सर्सती हेर्दा अधिराजकुमारीको जिउबाट कतै पनि रगत बगेजस्तो र घाउ लागेजस्तो देखिएको थिएन । यस्तोमा डाक्टरहरूको ध्यान राजा, रानी, युवराज र अरू घाइतेतिर जानु स्वतः बुझ्न सकिने कुरा हो ।

खासमा श्रुति सरकारलाई जाँघमा गोली लागेको रहेछ, जो बाहिरबाट हेर्दा देखिएको थिएन । आफ्ना पति गोरखशमशेर राणा गोली लागेर ढलेपछि श्रुति सरकारले छोप्न जाँदा अप्ठ्यारो ठाउँमा लागेको गोलीतिर समयमै कसैको ध्यान पुग्न सकेन । मलाई अहिले पनि सम्झिँदा साह्रै थकथक लाग्छ, डाक्टरहरूले त्यतिवेला प्राथमिकताका साथ हेर्न सकेको भए श्रुति सरकारको ज्यान जाने थिएन कि ! तर, सायद नियतिको खेल अर्कै थियो । श्रुति सरकार आफ्नो चोटभन्दा पनि बुबामुमा बितेको आघातले छटपटिएको र कराइबक्सेको होला भन्ठानेछन् डाक्टरहरूले । अन्ततः मौसुफको प्राणपखेरु उडिहाल्यो ।

यता कोमामा राखिएका युवराज दीपेन्द्र सरकारको स्वास्थ्य खस्किइरहेको थियो । जुनसुकै वेला निधन हुन सक्ने अवस्था थियो । त्यस्तो अवस्थामा मौसुफपछिका राजगद्दी उत्तराधिकारी एवं तत्कालीन ‘राज्य सहायक’ अधिराजकुमार ज्ञानेन्द्रलाई पूरापूर सुरक्षाका साथ राख्नु हाम्रो कर्तव्य हुन गएको थियो ।‘राजा बिते, राजा अमर रहून्’ भन्ने फ्रान्सेली उखान नै छ । वीरेन्द्र सरकार र त्यसपछि दीपेन्द्र सरकारको पालैपालो निधन भए पनि गद्दी खाली राख्न मिल्ने थिएन । त्यसैले तेस्रो राजाको राज्यारोहणका वेला आइहाल्छ भन्ने कुरा सबैले बुझेका थिए । त्यसै सन्दर्भमा ज्ञानेन्द्र सरकारबाट हुकुम भयो, ‘आवश्यक प-यो भने जुनसुकै वेला मलाई फोन गर्नू, म तयारै हुन्छु ।’

कोमामा राखिएका दीपेन्द्र सरकारलाई मैले ढोकैबाट हेरेँ । घ्यारघ्यार सास चलिरहेको थियो, दाह्री बढेर कालो भएको थियो र वेलावेलामा तर्सेर झस्किए जसरी शरीर चलाएको देखिन्थ्यो ।रातदिनको तनाव र अनिद्राबाट थकित भएर म केहीबेर आराम गर्न राति नारायणहिटी दरबारकै क्वार्टरमा फर्किएको थिएँ, दीपेन्द्र सरकारको निधन भएको खबर छाउनी अस्पतालबाट आयो । जेठ २२ गते बिहान ३ः४५ बजे मौसुफको स्वर्गारोहण भएको डाक्टरहरूले घोषणा गरेका थिए । मैले तुरुन्त फोन गरेर ज्ञानेन्द्र सरकारलाई जानकारी दिएँ । ‘ठीक छ, म आएँ,’ मौसुफले भनिबक्स्यो । अस्पतालसम्म सवारी चलाउन म आफैँ निर्मलनिवास पुगेँ ।

बीचमा कान्छाभाइ धीरेन्द्रसँग वीरेन्द्र सरकारको निकै दूरी बढ्यो । तर, उत्तराद्र्धमा फेरि निकटता कायम हुँदै आएको थियो । धीरेन्द्रले ०४५ मंसिर २८ गतेबाट लागू हुने गरी ‘श्री ५ अधिराजकुमार’को उपाधि र त्यो हैसियतमा पाइने सबै किसिमका सुविधाहरू छाड्नुभएको थियो । खासमा त्यो छाड्न उहाँलाई राजपरिवारबाटै दबाब सिर्जना गरिएको थियो । त्यो हुनुभन्दा केहीअघि मैले दरबारको शुक्रबारे पार्टीमा महाराजाधिराज सरकारले राजपरिवारका सदस्य र नातेदारहरूबीच हस्ताक्षर संकलन गरिबक्सेको अनौठो दृश्य देखेको थिएँ । त्यो कुन प्रयोजनका लागि हो भन्ने त्यसबखत खुल्न सकेको थिएन । किनभने हामी सोध्न पाउँदैनथ्यौँ, शाही परिवारले यो भन्ने कुरा भएन । तर, तीन महिनापछि धीरेन्द्र शाहको मानपदवी खोसिएपछि हस्ताक्षर संकलन त्यही प्रयोजनार्थ गरिएको कुरा मैले बल्ल बुझेँ ।

धीरेन्द्रमाथि यसरी पारिवारिक सहमति लिएर ‘कारबाही’ गर्नुको मुख्य कारण थियो– बेलायतमा बसोवास गर्दै आएकी क्यानेडेली युवती सिर्ली ग्रेनीसँगको प्रेम–सम्बन्ध । ऐश्वर्य सरकारको क्रोधले सीमा नाघ्यो । फलतः धीरेन्द्रको मानपदवी मात्रै होइन, उहाँले आफ्नो सम्पत्ति देशबाहिर लैजान सहज नहोस् भनेर कूटनीतिक पासपोर्टसमेत खोसिएको थियो ।बेलायतमा बसेकै वेला सिर्लीका तर्फबाट धीरेन्द्र शाहकी कान्छी छोरी उशाना लैला शाहको जन्म भयो, ०५० साउनमा । त्यहाँ सामान्य नागरिकको हैसियतमा बसिरहेका पूर्वअधिराजकुमारले दैनिक गुजारा चलाउन एउटा प्रशिक्षण केन्द्रमा गोराहरूलाई जुडो सिकाउने कामसमेत गर्नुपरेको थियो । उहाँ मार्सल आर्टस्का पुरानो खेलाडी भएकाले त्यहाँ त्यो सीप काम लागेको थियो ।

माओवादी समस्याको समाधान वार्ताबाट

वीरेन्द्र सरकारले माओवादीसँगको वार्तालाई पहिलो र सेना परिचालनलाई अन्तिम विकल्पका रूपमा राखिबक्सेको थियो । द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्ने योजनामा लागिबक्सेको थियो । त्यही प्रयोजनका लागि पञ्चायतकालमै शाही मानपदवी त्यागेर बिदेसिएका भाइ पूर्वअधिराजकुमार धीरेन्द्रलाई देशमा फिर्ता बोलाइबक्सेको थियो । अझ पछिल्लो चरणमा त धीरेन्द्र शाहलाई दरबारभित्रै राखिएको थियो । दरबार हत्याकाण्ड हुनुभन्दा केही साताअघि धीरेन्द्रमार्फत दरबार र माओवादीबीच बाक्लै संवाद भएको थियो । वीरेन्द्र सरकारको विश्वास थियो– माओवादी समस्याको शान्तिपूर्ण हल हुन सक्छ ।

गिरिजाको जोड सेना परिचालनमा

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको फरक विचार थियो । प्रहरी परिचालन विफल भएपछि प्रधानमन्त्रीलाई लागेको थियो, अबको एक मात्र उपाय सेना परिचालन मात्र हो । यही विषयमा महाराजाधिराज र प्रधानमन्त्रीबीच मतभेद गहिरिँदै गएको थियो । माओवादी समस्याको सामना र समाधान कसरी गर्ने भन्नेबारे बुझाइमा एकरूपता कायम गर्ने उद्देश्यले महाराजाधिराजले ०५७ चैतमा नारायणहिटी राजदरबारभित्र मंगल सदनमा एउटा बृहत् बैठक आयोजना गरिबक्स्यो ।

त्यहाँ प्रधानमन्त्री कोइराला, उपप्रधानमन्त्री तथा गृहमन्त्री रामचन्द्र पौडेल, रक्षामन्त्री महेश आचार्य, अर्थमन्त्री डा. रामशरण महतलगायत अन्य मन्त्री, सचिव, सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखसहित श्री ५ को सरकारका झन्डै डेढ दर्जन पदाधिकारी सहभागी हुनुहुन्थ्यो । राजदरबारका प्रमुख पदाधिकारीहरूसहित दीपेन्द्र सरकार पनि त्यहाँ उपस्थित होइबक्स्यो । त्यो बैठक साँझ ६ बजेबाट सुरु भएर राति झन्डै १० बजे मात्र सकिएको थियो ।

त्यहाँ प्रधानमन्त्री कोइरालाको एक मात्र जोड जसरी भए पनि सेना परिचालन गर्नुप-यो भन्नेमा थियो । त्यही आशयमा उहाँले बोल्नुभयो र उहाँ मातहतका मन्त्री तथा सुरक्षा निकायले पनि सेना परिचालन गर्नुपर्ने आवश्यकता आइलागेको जाहेरी महाराजाधिराजका सामुन्ने गर्नुभयो । मैले अवलोकन गरिरहेको थिएँ, वीरेन्द्र सरकारले सबैको धारणा एकएक गरेर धैर्यपूर्वक सुनिबक्स्यो । माहोल हेर्दा यस्तो लाग्थ्यो, मानौँ महाराजाधिराजले त्यहीँबाट सेना परिचालनको आदेश बक्सिनुहुनेछ । तर, त्यसो भएन । मौसुफ कुर्सीबाट जुरुक्क उठिबक्स्यो र उहाँलेझैँ ‘पोडिएम’मा गएर बोलिबक्स्यो ।

मौसुफले सिद्धान्ततः आफू पनि सेना परिचालनको विरोधी नरहेको, तर त्यसका लागि के–कति तयारी भएको छ, त्यसबाट के–कस्तो परिणाम र दुष्परिणाम निस्कन सक्छ, त्यस सम्बन्धमा विचार गरिएको छ कि छैन भन्ने प्रकृतिका प्रश्नहरू राखिबक्स्यो ।

‘सेना परिचालन खर्चिलो छ, त्यसको खर्च सरकारले कसरी जुटाउँछ ?’ महाराजले सोधिबक्स्यो, ‘सेना नै अन्तिम विकल्प हो भन्ने के इन्टेलिजेन्स छ ?’ त्यसअघि राष्ट्रिय अनुसन्धान (गुप्तचर) विभागका प्रमुख देवीराम शर्माले जाहेरी गर्दा भन्नुभएको थियो, ‘सरकार, गुप्तचर विभागको अधिकृत सिडिओको अर्दलीजस्तो मात्रै हो, उसको हातमा एउटा फोन पनि हुँदैन, यस्तो अवस्थामा हामीले कसरी काम गर्ने ? के सूचना बटुल्ने ?’

प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला यही कारणले महाराजाधिराजसँग चिढिनुभएको थियो । उहाँ वीरेन्द्र सरकारलाई सबभन्दा बढी भेट्ने प्रधानमन्त्रीमा पर्नुहुन्थ्यो । किनभने उहाँले नै सबभन्दा धेरैचोटि सरकारको नेतृत्व गर्नुभयो । तर, दरबारसँग कार्यगत सम्बन्ध कहिल्यै सहज भएको देखिएन । राजाको दर्शनभेटका लागि कोइराला आउँदा कहिलेकाहीँ बाहिर कुर्नुपर्दा पनि केही बोल्नुहुन्नथ्यो । भेटिसकेपछि केही नबोली सुरुसुरु बाहिर जानुहुन्थ्यो । प्रायः आफूलाई दिइएको समयभन्दा पाँच–दश मिनेटअगावै दर्शनभेट सकेर बाहिर निस्कनुहुन्थ्यो । यसले के देखाउँछ भने महाराजसँग उहाँको खासै हिमचिम कायम हुन सकेको थिएन ।

प्रजातन्त्र आएकोमा ज्ञानेन्द्रलाई चित्त बुझेको थिएन

पञ्चायती व्यवस्था ढलेपछि प्रधानमन्त्रीको काँधमा कार्यकारी अधिकार गएकोसमेत ज्ञानेन्द्र सरकारलगायत केहीलाई मन परेको थिएन । वीरेन्द्र सरकार भने यसबारे केही बोलिबक्सिन्नथ्यो । सत्ताको लुछाचुँडीमा नेताहरू सरकार बनाउने र गिराउने फोहोरी खेलमा लाग्दा जनतामा भ्रष्टाचार तथा महँगी बढ्यो भन्ने आभास भइरहँदा दरबारको लोकप्रियता तथा नेताहरूप्रतिको घृणा बढ्दै जान थालेको थियो । ज्ञानेन्द्र सरकारचाहिँ यही लोकप्रियतालाई उपयोग गरी दरबार सक्रिय हुनुपर्ने धारणा अघि सारिबक्सन्थ्यो । यही बिन्दुमा आएर दाजुभाइको कुरा मिलेको थिएन ।

मदन भण्डारीसँगको दूरी पहिलो भेटबाटै घट्यो

आफूलाई आलोचना गर्ने भए पनि देशभक्त व्यक्तित्वहरूलाई वीरेन्द्र सरकारले इज्जत गरिबक्सन्थ्यो । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीसँग मौसुफको सम्बन्ध त्यसैगरी विकसित भएको थियो । ०४७ सालमा भूमिगत जीवनबाट सार्वजनिक हुनुभएका भण्डारी पहिले राजाको चर्को आलोचक हुनुहुन्थ्यो । तर, पछिल्लो कालखण्डमा त्यस्तो दूरी देखिएन ।महासचिव भण्डारीले ०४८ सालको आमनिर्वाचनअघि राजाविरुद्ध निकै आक्रामक अभिव्यक्तिहरू दिनुभयो । ०४७ चैतमा चाबहिलको एउटा आमसभामा गरेको चर्को भाषण पत्रपत्रिकामा छापियो, जहाँ उहाँले भन्नुभएको रहेछ– ‘महाराज ! हात नलम्काई बक्स्योस्, आँखा नचम्काई बक्स्योस् र आफ्ना शण्ड–मुशण्डहरूलाई नचलाई बक्स्योस् । यदि शण्ड–मुशण्डलाई चलाउने नै हो भने महाराजले श्रीपेच उतारेर, सिंहासनमा राखेर, नेता भएर मैदानमा आउनुप-यो ता कि प्रतिद्वन्द्विता गर्न सकियोस् ।’वीरेन्द्र सरकारका विरुद्धमा यति चर्को सार्वजनिक अभिव्यक्ति त्यसअघि कहिल्यै सुनिएको थिएन । त्यसले दरबारभित्र ठूलै प्रतिक्रिया उत्पन्न ग-यो ।

ओलीले वीरेन्द्रलाई धेरै भेट्थे, गफ पनि धेरै गर्थे

०५१ सालको मध्यावधि निर्वाचनबाट एमाले सबभन्दा ठूलो दलका रूपमा स्थापित भयो । तर, संसद्मा बहुमत ल्याउन सकेन । अनि एमाले अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा अल्पमत सरकार गठन भयो । त्यो सरकारको गृहमन्त्री हुनुहुन्थ्यो, केपी शर्मा ओली । उहाँ महाराजाधिराजसँग दर्शनभेटका लागि बरोबर आउने गर्नुहुन्थ्यो । तर, जहिल्यै निर्धारण गरेभन्दा दोब्बर समय बिताइदिनुहुन्थ्यो । ०५१/५२ सालमा गृहमन्त्री छँदा उहाँका लागि प्रायः ४५ मिनेट छुट्याइएको हुन्थ्यो । तर, जहिल्यै ९० मिनेटभन्दा बढी बसिदिनुहुन्थ्यो । निर्धारित समय सकिएपछि एडिसीले ढोका ढकढक गरेर भित्र पसी संकेत गर्नुपर्ने हुन्थ्यो । त्यसो हुँदा म ठीक ४५ मिनेट भएपछि ढोका ढकढक्याउन जान्थेँ ।‘एकछिन पख, कुरा सकिएको छैन,’ महाराजाधिराज आफैँले समय बढाइबक्सन्थ्यो ।

प्रतिक्रिया
सम्बन्धित