बिहीबार, ५ भदौ २०७६
DainikNepal.com
बिहीबार, ५ भदौ २०७६

राजपा अध्यक्षमण्डलको संयोजक अनिल झा, वैधानकिता जोगाउन विधान संशोधन

दैनिक नेपाल २०७६ जेठ ५ गते १५:२७

काठमाडौँ, ५ जेठ । राष्ट्रिय जनता पार्टी राजपा नेपालको अध्यक्षमण्डलको संयोजक अनिल कुमार झा हुने भएका छन् । उनले भोलिदेखि अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी सम्हालेछन् ।

साथै, राजपा नेपालले महाधिवेशनपछि अध्यक्ष मण्डल नरहने भएको छ । जेठ २ गतेदेखि जारी पार्टीको केन्द्रीय अध्यक्ष मण्डलको बैठकले अब अध्यक्षीय प्रणालीमा जाने निर्णय गरेको हो ।

‘धारा ३१(१२) मा यसअघि महाधिवेशनपछि पनि अध्यक्ष मण्डलको व्यवस्था गरेकोमा अब उपरान्त महाधिवेशनपछि अध्यक्ष मण्डल नरहने र पार्टी अध्यक्षीय प्रणालीमा अगाडि बढ्ने व्यवस्था गरिएको छ,’ बैठकपछि आइतबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

विभिन्न ६ वटा मधेशवादी पार्टी मिलेर बनेको राजपाले पूर्व घटकहरुका अध्यक्षको अध्यक्ष मण्डल गठन गरेको थियो । त्यसको संयोजक पालैपालो अध्यक्ष मण्डलमा भएका नेताहरुले गर्दै आएका छन् ।

पछिल्लो दुई महिना पार्टीको अध्यक्ष मण्डलको संयोजक शरदसिँह भण्डारी छन् । उनीअघि महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र राय यादवले संयोजकको जिम्मेवारी सम्हालिसकेका छन् ।

बैठकपछि संयोजक भण्डारीले जारी गरेको विज्ञप्ती अनुसार, पार्टी विधानको धारा ३१ (१०) मा पार्टीको महाधिवेशन २ वर्ष भित्र गरिनेछ भनिएकोमा समयावधि बढाएर ३ वर्षभित्र गर्ने व्यवस्था गरिएको छ ।

निर्वाचन आयोगले दिएको म्यादभित्र महाधिवेशन गर्न नसकेपछि पार्टीको बैधानिकता जोगाउन राजपाले विधान संशोधन हो । पार्टी विधानअनुसार निर्वाचन आयोगले २०७६ वैशाखभित्र महाधिवेशन गर्न म्याद दिएको थियो । तर उक्त मितिमा महाधिवेशन गर्न नसकेपछि राजपाले असारसम्मको समय मागेको थियो ।

असारसम्म पनि महाधिवेशन नहुने भएपछि विधानको ३१ (१०) मा रहेको २ वर्षभित्र महाधिवेशन गर्नुपर्ने व्यवस्थालाई संशोधन गरेर ३ वर्ष बनाइएको हो ।

यसैगरी, विधानको धारा ७(२) (क) मा वडा समितिका निर्वाचित सदस्य, पदाधिकारी तथा वडाबाट निर्वाचित अन्य ‘डेलिगेट्स’ हरुले सक्रिय सदस्यता लिनु पर्ने व्यवस्था नरहेकोमा अब वडा तहबाट निर्वा्चित सदस्य, पदाधिकारी तथा ‘डेलिगेट्स’ हरुले निर्वाचित हुना साथ पद तथा गोपनीयताको सपथ लिनु अघि सक्रिय सदस्यताको फारम भर्न अनिवार्य गरिएको छ ।

धारा १० (ङ) मा यस अघि कुनै पनि तल्लो तहका निर्वाचित सदस्य, पदाधिकारीहरुलाई माथिल्लो तहमा उम्मेदवारी दिँदा आफ्नो तल्लो तहको पदबाट राजिनामा दिनु पर्ने व्यवस्था थिएन। तर अब राजिनामा दिनु अनिवार्य गरिएको छ ।

पार्टीको कुनै तह वा स्तरमा समितिहरु बनाउँदा राजपा नेपालमा एकीकृत ६ वटै दलको सम्बन्धित स्तरका कार्य समितिमा आपसी सहमतिको आधारमा मात्रै गठन गर्ने प्रावधान धारा ३१(७) मा रहेकोमा यो उपधारा बैठकले हटाएको छ ।

विधानमा निर्वा्चित सदस्य, पदाधिकारीहरुको लागि सपथ ग्रहणको व्यवस्था छुट्न गएको बताउँदै पार्टीले सपथ ग्रहणको व्यवस्था समेत गरेको छ । सो सम्बन्धी व्यवस्था विधानको अनुसूची–४ मा समेटेको छ ।

प्रतिक्रिया
सम्बन्धित