सोमबार, २ असार २०७६
DainikNepal.com
सोमबार, २ असार २०७६

रोहिणी नदी सभ्यताको पुनर्जागृतिका लागि

सिद्धिचरण भट्टराई २०७६ जेठ ५ गते १४:२८

-सिद्धिचरण भट्टराई

पवित्र नदी रोहिणी नदीका बारेमा जति महिमा उल्लेख हुनु पर्ने हो त्यति चर्चामा पाईदैन । आजभन्दा २६ सय वर्ष अघि जन्मिएका बुद्ध जन्मनु अघि शाक्य गणराज्य कोलिय गणराज्य छु्ट्याउने सिमा नदी हो । यही नदीको पानीको बाँडफाँडको विषयलाई लिएर कोलिय र शाक्य गणराज्यबीच भएको विवाद मिलाउन नसकेर बुद्ध बिरक्तिएका थिए ।

बुद्धको जन्मस्थल लुम्बिनीबाट ५४ किमी पूर्व उत्तरमा रहेको छ । चुरे पहाड तराई हुँदै भारतको उत्तर प्रदेशतर्फ बहने यो नदीको काखमा प्राचिन कोलिय गणराज्यको राजधानी देवदहले विशाल पुरातात्विक खण्डहर बोकेर संसारका पर्यटकहरुलाई पर्खिरहेको छ । आज यस लेखमा रोहिणी नदीको धार्मिक र मानवसभ्यतामा रहेको योगदान बारे एक परिचर्चा गरिनेछ ।

उनको भनाईमा सत्यता पनि लाग्दछ किन भने बौद्ध साहित्यमा त्यस्तो कुनै अर्को नदीको उल्लेख छैन र तराईमा नदीले पटक पटक बाटो बदल्ने गरेको देखिन्छ ।

गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको ७ बर्ष पछि आफ्ना चेला जैन साधु निर्ररत्नाथपुत्र सहित देवदह आएका थिए र यहाँ देशना (प्रवचन) दिएका थिए । देवदह र रोहिणी नदी बारे धम्मपद, ललितविस्तार र जातक अधकथा जस्ता बुद्ध साहित्यमा धेरै पटक चर्चा गरिएको छ । रोहिणी नदी कोलिय गणराज्य र शाक्य गणराज्यमा सिँचाईको मुल आधारस्तम्भ थियो । यसले त्यतिखेर कृषि युगको विकास र विस्तार भएको र दुवै गणराज्य समृद्ध भएको आधार दिन्छ ।

प्राचिन रोहिणी नदी भनेको अहिलेको तिलोत्तमा नदी हो भनेर बुद्ध दर्शनमा स्नातकोत्तर गरेका देवदहवासी डा. कृष्ण न्यौपानेले आफ्नो सोधपत्रमा उल्लेख गरेका छन । जो पहिले चुरेको फेदी हुँदै यही भएर बग्दथ्यो । पछि नदीले बाटो बदलेर सोझै दक्षिण गएको हो भन्ने उनको भनाई छ । उनको भनाईमा सत्यता पनि लाग्दछ किन भने बौद्ध साहित्यमा त्यस्तो कुनै अर्को नदीको उल्लेख छैन र तराईमा नदीले पटक पटक बाटो बदल्ने गरेको देखिन्छ ।

लेखक

अर्कोतिर चिनियाँ यात्रीहरु इशाको पाँचौ शताब्दीमा फाइयानले र सातौँ शताब्दीमा हुएन सांगले बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गरेको यात्रा बृतान्तमा पनि रोहिणी नदीको चर्चा गरिएको छ । रोहिणी नदी विश्वको दोश्रो र एशियाको पहिलो मानवसभ्यताको शुरुवात स्थल हो भन्ने कुरा एक करोड दशलाख बर्ष पुरानो नरबानर रामापिथेकसको बंगारा तिनाउँ नदीको किनारमा भेटिएबाट प्रष्ट हुन्छ ।

मानिसको प्राक ऐतिहासिक अध्ययन, ऐतिहासिक अध्ययन, लिखित र अलिखित इतिहासका अध्ययन अन्वेषणबाट रोहिणी नदी सभ्यता विश्वकै पुरानो मानव सभ्यताको थलो भएको प्रमाणहरु प्रस्तुत गर्दछन् । यही नदी पूर्व रहेको कोलिय गणराज्य त्रिवेणी नदी सम्म फैलिएको थियो । अहिलेको रामग्राम, पण्डीतपुर कोलिय गणराज्यकै पवित्र क्षेत्रहरु हुन् । प्राचिन देवदहलाई अहिलेको देवदह नगरपालिकाको साँघुरो घेराबाट मात्र हेर्नु एउटा लघुताभास हुनेछ ।

देवदहको प्रामिणकताबारे अझै पनि प्रश्नहरु अनुत्तरीत छन् तर, अनुसन्धानकर्ता डा. होएले मणीग्राम देखि १० किमि पूर्व र रामग्रामदेखि १५ किमि पश्चिम रोहिणी नदिको कोखमा रहेको साविक केरवानी ७ हाल देवदह नपा ४ मा अवस्थित भवानीपुरलाई प्राचिन देवदह मानेका छन् । (डा. गितु गिरी), डा होयलाई उल्लेख गर्दै नेपालका संस्कृतिविद डा. गितु गिरीले लुम्बिनी क्षेत्रका पर्यटकीय सम्पदा नामक पुस्तकमा भनेका छन् —देवदह सिद्धार्थ गौतम बुद्धको मावली गाउँ थियो ।

यसरी उनीहरु बसेको नगरलाई कोलिय नगर, व्यग्रपुर, रामग्राम, देवदह आदि नामले चिनिन थाल्यो ।

इशापुर्व छैटौँ शताव्दीतिर देखापरेका कुशिनगर, बैशाली, कोशल, मगध, पावा र कपिलवस्तु जस्ता गणराज्य मध्ये देवदह कोलिय शासकहरुको गणराज्य थियो । कपिलवस्तुका स्वेतकुष्ठरोगबाट पीडित शाक्यकुलकी दिदी प्रिया नगरबाट टाढाको जंगलमा एकान्त रुपमा बस्न थालिन् । त्यसैबेला बनारसका राजा राम पनि स्वेत कुष्ठरोगले पीडित भई यहाँ कोलबृक्षको छहारीमा आई रोग निको पार्न बसेका बखत दुवै प्रेम बन्धनमा बाँधिई विवाह गरी जीवन निर्वाह गर्न थाले । यसरी उनीहरु बसेको नगरलाई कोलिय नगर, व्यग्रपुर, रामग्राम, देवदह आदि नामले चिनिन थाल्यो । शाक्य र कोलिय बंशिहरुले स्नान गर्ने ठूलो दह भएकोले देवदह भनिएको बौद्ध साहित्यमा उल्लेख छ । यो दह रहेको ठाउँ देवदह १० घोडाहामा रहेको सिमसारयुक्त दह हो भनिएको छ ।

यी बाहेक प्राचिन कोलिय नगरको राजधानी ठानिएको देवदहभित्र खयरडाँडा, बडीमाई कन्यामाई, बंगाला बंगाली, देविदमार जस्ता भग्नावशेषयुक्त स्थानहरु रहेका छन् । जुन प्राचिन देवदहसँग सम्वन्धित मानिन्छन् । यी स्थानमा प्राचिन मुर्तिहरु, प्राचिन इट्टाहरु, भाँडाकुडा, कुवाहरु पाइएका छन् ।

सन २०१२ मा लुम्बिनी विकास कोषको पहलमा पुरातत्व विभागका पुरातत्वविद प्रकाश दर्नालको नेतृत्वमा भएको उत्खननमा भवानीपुर र बैरीमाईमा पाइएका प्रमाणहरु इशाको दोश्रो र तेश्रो शताव्दीका भएको बताएका छन् । जहाँ बुद्धको भूस्पर्स मुर्ति र माटाका भाँडाकुडाहरु रहेका थिए । दर्नालका अनुसार आर्किलोजिष्ट र चिनियाँ यात्रुहरु मध्ये पाँचौँ शताव्दीमा फाइयान, सातौँ शताव्दीमा ह्वेन सांग र होयले १९६२ मा दिएका यात्राबृतान्त र तथ्यका आधारमा बुद्धकी आमा मायादेवी र श्रीमती यशोधरा रोहिणी नदी पूर्व र नारायणी नदी पश्चिमामा रहेको कोलियनगर नै बुद्ध साहित्यमा भएको देवदह भएको तथ्यसँग मेल खाने उल्लेख गरिएको छ ।

यसरी रोहिणी नदी देवदहलाई बुद्धको मावली स्थल प्रमाणित गर्ने सिमा नदी मात्र नभएर हिन्दु बौद्ध धर्मावलम्वीको पवित्र स्नानघाट पनि हो । हिन्दु धर्मशास्त्रहरु र उपनिषदहरुमा चन्द्रमाले महापराक्रमी तथा तपबाट शक्ति पाएका ऋषि दक्ष प्रजापतिको अति सुन्दर साइली छोरी रोहिणीलाई भगाएर विवाह गरे । यसबाट रिसले चुर भएका दक्ष प्रजापतिले चन्द्रमा र रोहिणी दुवैलाई लखेट्दै जाँदा चन्द्रमा शिवजीको शिरको जटामा लुकेर बाँचे भने उनकी नवविवाहित श्रीमती चुरे शिवालिक क्षेत्रको सत्यवतिमा आएर अलप भइन् । यही रोहिणी अलप भएको सत्यवति क्षेत्रबाट बहने नदीलाई रोहिणी भनिएकोले यसको हिन्दु धार्मिक महत्व पनि उत्तिकै छ । तत्कालिन कोलिय र शाक्य गणराज्य पनि शैव परम्परामा बाँधिएकोले यसको सत्यतामा शंका गर्ने ठाउँ छैन । अहिले देवदह १० साविक भलुहिका बासिन्दाले रोहिणीको महत्वलाई उजागर गर्नका लागि आफ्नो ठाउँको नाउँ रोहिणीनगर राखियोस् भनि नगरपालिकामा प्रस्तावित भई नगर परिषदले स्वीकृत समेत गरेको अवस्था रहेको छ । रोहिणी सभ्यताको पुनर्जागृतिका लागि यो असल प्रयास हो ।

रोहिणी नदीको पानीलाई संग्रह गरी सिँचाई, जल पर्यटन, मत्स्यपालन, बौद्धधार्मिक महत्वका हिसावले पूर्वाधार विकास गर्ने हो भने विश्वभरीका पर्यटकहरुलाई आकर्षण गर्न सकिन्छ ।

यस रोहिणी नदी किनारमा साविक मक्रहर हाल तिलोत्तमा १६ स्थित मद्राहानीमा प्राचिन कुमारवर्ती मन्दिर छ र यहाँ पनि प्राचिन इट्टाहरु पाइन्छन् । यहाँ पनि थारु र हिन्दुहरुले पुजा अर्चना गर्ने गर्दछन् । यसैगरी, रोहिणी नदी किनारकै दक्षिण पटखौली गाविसमा रहेको ओमसतिया माईको मन्दिर छ । जहाँ प्राचिन कालदेखि नियमित मेला लाग्ने गर्दछन् । रोहिणी नदी सभ्यताका हिसावले भवानीपुरमा लाग्ने रामनवमी मेला (चैते दशै मेला) र सतियामाई मेलामा धेरै टाढा टाढाबाट दर्शालु र भक्तालुहरु आउँछन् । यी पर्व र मेलाको बजारीकरण गर्न सक्दा देवदह र प्राचिन कोलिय गणराज्यको गौरवशाली समृद्धि हासिल गर्न सघाउन सक्छ ।

यसका अतिरिक्त देवदह नगरपालिकाले बनाएका पर्यटन गुरुयोजनामा रोहिणी नदीलाई बुद्ध र हिन्दु सभ्यतासँग जोड्दै पर्यटकहरुको आकर्षक थलो बनाउने कार्यक्रम राखिएको छ । देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले तेश्रो राष्ट्रिय देवदह औद्योगिक तथा व्यापार मेला तथा पर्यटन महोत्सवका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा रोहिणी स्नानघाट र सिद्धेश्वर गौशाला निर्माणको कार्यक्रम रहेको बताएका छन् । रोहिणी नदीको पानीलाई संग्रह गरी सिँचाई, जल पर्यटन, मत्स्यपालन, बौद्धधार्मिक महत्वका हिसावले पूर्वाधार विकास गर्ने हो भने विश्वभरीका पर्यटकहरुलाई आकर्षण गर्न सकिन्छ । आजैदेखि रोहिणी नदीको संरक्षण, विकास र पवित्रताका लागि हामी सबै लागौं ।

अझ आजको नयाँ पुस्ता रोहिणीमा बुद्धलाई खोज्न, त्यसको सदीयौँ पुरानो सभ्यता अन्वेषण गर्न, विकासका नाममा हुने विविध प्रकृतिको विनासकारी पक्षहरुबारे आफ्नो बुद्धिको ढोका खुल्ला राख्दै अविरल ज्ञान प्रवाहमा नदी जस्तै प्रवाहित भई पारंगत बन्नु पर्ने आवश्यकता छ । र अन्तमा : बुद्धम् शरणम् गच्छामी र संघम् शरणम् गच्छामी, धम्मम् शरणम गच्छामीको सदीयौँ पुरानो पवित्र मन्त्रध्वनी पवित्र रोहिणीको कलकल पानीमा सुन्न शान्तचित्त बनौं ।

प्रतिक्रिया
सम्बन्धित