मंगलबार, ३ असार २०७६
DainikNepal.com
मंगलबार, ३ असार २०७६

…जब मनमोहन अधिकारी त्रिशुली किनारमा डाँको छाडेर रुनुभयो !

ईश्वर पोखरेल २०७६ जेठ ३ गते १४:२४

-ईश्वर पोखरेल

३ जेठ, २०५०, जननेता मदन भण्डारीको रहस्यमय तथा षड्यन्त्रपूर्ण मृत्युपछि नेकपा (एमाले) पंक्तिमा मात्र होइन, आम जनतामा समेत शोकको लहर छाएको थियो । पार्टी पंक्तिमा कति शोक र चिन्ता छाएको थियो भन्ने कुरा अध्यक्ष मनमोहन अधिकारीले त्रिशूलीको बगरमा मदनको शव खोजी गर्दै नभेटेपछि डाको छोडेर रूनु भएको तथ्यले पुष्टि गरेकै थियो । उहाँमा मदनप्रति माया, सम्मान र समर्पण भाव कति उत्कर्षमा थियो भन्ने कुरालाई दर्शाउँछ ।

वास्तवमा, त्यो मदनको मृत्युमा पार्टी पंक्तिको प्रतिनिधि भाव पनि थियो ! दुर्घटनाको समाचार आएदेखि मुलुकभरिकै जनता चिन्तामा परेका थिए, गाडी नभेटिएको, मदन–आश्रितको कुनै सुईंको–संकेत नमिलीरहेको, अझ पछि मदनका बारेमा केही थाहा नपाइरहेको, पछि अस्वाभाविक अवस्थामा वहाँको शव भेटिएको, वहाँको शव भरतपुर हुँदै काठमाडौंमा ल्याइपुरयाएपछि शोकाकूल जनसमूदायको उपस्थिति, ५ जेठदेखि ८ सम्म काठमाडौको दशरथ रंगशालामा वहाँहरूको शवमा श्रद्धान्जली व्यक्त गर्न उपस्थित लाखौं जनसमूदायले व्यक्त गरेको श्रद्धान्जली, झण्डै पाँच लाख जनताको अश्रुपुरित शोकाकूल उपस्थितिमा भएको शव यात्रा आदिले मदन–आश्रितप्रति जनताको अपार माया र सम्मानलाई प्रकट गरेको थियो ।

कसैले कल्पनासम्म पनि गरेका थिएनन् होला, कसैको मृत्युमा यस किसिमको जनआलोडन पैदा हुनेछ ! तर भयो त्यस्तै ! शव यात्रामा शोकाकूल भएर उपस्थित लाखौं जनतासित शोकका लागि ऐक्यवद्धता जनाउँदै घर–घरबाट असंख्य नागरिकहरू निक्लिएका थिए । शोकका लागि तर अत्यन्त अभूतपूर्व स्थिति ! यस किसिमको स्वतस्फूर्त उपस्थिति जहाँ राजदरवारका प्रतिनिधिदेखि सबै राजनीतिक पार्टीहरू, विभिन्न संगठन संस्थाहरूका नेता वा तिनका प्रतिनिधिहरूदेखि सामान्य श्रमजीवीसम्मका नागरिकहरूको अभूतपूर्व उपस्थिति ! यस्तो केले संभव भयो, कसरी संभव भयो ! नभूतो न भविष्यति ..!!

वास्तवमा मदन साँच्चै आम नेपाली जन–जनका हृदयमा वास बनाइसकेको एउटा विशिष्ट प्रतिभावान राजनेता बनिसक्नुभएको रहेछ !! मदन आश्रितको दुखद निधनप्रति शोक मनाउन र श्रद्धाञ्जली व्यक्त गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीले १२७ सदस्यीय अन्त्यष्टी व्यवस्थापन समिति गठन गर्यो । पार्टीका सबै औपचारिक कार्यक्रमहरू रद्द गरिए, पार्टी कार्यालयहरूमा राखिएका झण्डाहरू झुकाइए ।

तेह्रौं दिनमा अर्थात् १५ जेठमा पार्टीव्यापी र जनस्तरमा श्रद्धाञ्जली कार्यक्रमहरूको आयोजना गरिए । ७५ हत्तरै जिल्लाका सदरमुकाम तथा गाउँ शहरहरूमा श्रद्धान्जली सभाहरू गरिए, ती सबै ठाउँमा विशेष किसिमका कलशहरू बनाएर दिवंगत नेताहरूको अस्तु पुर्याइयो र देशभरीका नदी नालाहरू, तलाउ पोखरीहरूमा अस्तु लगेर सेलाउने काम गरियो । मेची महाकाली मात्र होइन, सर्वोच्च उचाइमा रहेको मनाङको तिलिचो ताल पनि मदन आश्रितको अस्तु सेलाउने महत्वपूर्ण र ऐतिहासिक स्थल बन्यो ।

मदनको अस्तु सहित पार्टीका नेता कार्यकर्ताहरू जनताको ठूलो उपस्थितिमा ती ठाउँहरूमा श्रद्धान्जली कार्यक्रमहरू गरिएका थिए । ती सबै ठाउँहरूमा केन्द्रीय तहका नेताहरूको सहभागिता रह्यो । सबै ठाउँमा आयोजना गरिएका ती कार्यक्रमहरूमा जनताको उल्लेखनीय सहभागिता रह्यो । ती कार्यक्रमहरूमा मदन आश्रितको नाममा विद्यालयहरू, अस्पतालहरू, सार्वजनिक भवनहरू, पार्क र बगैंचाहरू बनाउने घोषणा गरिए । विभिन्न ठाउँमा स्मृति केन्द्रहरू तथा छात्रवृत्ति कोषको घोषणा गरियो । ती श्रद्धाञ्जली कार्यक्रमहरूमा सिंगो पार्टी पंक्तिद्वारा शोकलाई शक्तिमा बदल्ने तथा पार्टीलाई नयाँस्तरमा एकताबद्ध बनाउने संकल्प गरियो । मदन भण्डारी र जीवराज आश्रितले आफूहरू जीवीत रहुन्जेल आफ्नो स्पष्ट विचार, उल्लेखनीय क्रियाशीलता, पार्टी र आन्दोलनप्रति आफ्नो निष्ठा र निरन्तरतालाई उदाहरणीय रूपमा प्रस्तुत गरिरहनुभयो ।

वहाँहरूले विचारमा ओजस्वीता, दृढता र प्रखरता, प्रस्तुतिमा स्पष्टता, व्यवहारमा लचकता देखाउनु भयो । वहाँहरूका यी विशेषता तथा विचार र योगदानहरूलाई चीरस्थायी बनाउन दिवंगत नेताहरूका नाममा पार्टी अध्यक्ष मनमोहन अधिकारीको संरक्षकत्वमा मदन–आश्रित स्मृति प्रतिष्ठान गठन गर्ने निर्णय गरियो । मदन भण्डारीलाई ‘जन नेता’को उपाधी दिने निर्णय गरियो, बहुदलीय जनवाद नै पार्टीको मूल नीति रहने घोषणा गरियो ।

दिवंगत कमरेडद्वयलाई श्रद्धा र पार्टीप्रति समवेदना प्रकट गर्ने महानुभावहरूप्रति हार्दिक कृतज्ञता प्रकट गर्ने निर्णय गरियो, षडयन्त्रपूणर््ा हत्यामा संलग्न अमर लामालाई गद्दार घोषणा गरियो, सरकारले गठन गरेको प्रचण्डराज ‘अनिल’को एक सदस्यीय छानबिन आयोगले दिएको प्रतिवेदनलाई अस्वीकार गर्दै सरकारी लापरवाहीको भत्सर्ना गरियो ।

पार्टी केन्द्रले ईश्वर पोखरेलको सम्पादनमा विशेष प्रकाशन ‘श्रद्धाञ्जली स्मारिका’ प्रकाशन गर्ने निर्णय गर्यो । र, वहाँहरूको दुखद निधन भएको ६ महिनापछि अर्थात् कात्तिक, २०५० मा मदन–आश्रित श्रद्धान्जली स्मारिका प्रकाशन गरियो ।

पार्टी केन्द्रले यी सबै कामहरू मदन–आश्रितको हत्या लगत्तै बसेको केन्द्रीय कमिटीका विभिन्न बैठकहरूमा गरेको थियो । श्रद्धाञ्जली कार्यक्रमहरू औपचारिक रूपमा सम्पन्न भएपछि रहस्यमय र षडयन्त्र तरिकाले मदन–आश्रितको हत्या भएको विरोधमा देशव्यापी कार्यक्रमहरू आयोजना गरिए । षडयन्त्रपूर्ण हत्याको बिरोध, त्यसको छानबिन तथा अपराधीमाथि कारबाहीको माग गर्दै सिंगो देश जुरूक्क उठेको थियो ।

सरकारीस्तरमा गठन गरिएको ‘अनिल’ आयोगले सार्वजनिक गरेको प्रतिवेदनका निष्कर्षप्रति गम्भिर असहमती राख्दै सर्वोच्च अदालतका बहालवाला न्यायाधीसको अध्यक्षतामा उच्चस्तरीय, अधिकार सम्पन्न र न्यायिक आयोग गठन गर्नुपर्ने मागसहीत नेकपा (एमाले) को सिंगो पंक्ति सशक्त ढंगले परिचालित भएको थियो । आफ्ना प्रिय नेताप्रतिको अगाध श्रद्धा र सम्मान तथा न्यायिक छानविनका लागि उठाइएको आवाजलाई काँग्रेसको गिरिजा सरकारले भीषण दमन गरेर दवाउने प्रयत्न गर्यो , तर दवाउन संभव भएन । सिंगै मुलुक आन्दोलनमय वन्यो , एमालेले अगुवाइ गरेको आन्दोलनमाथि सरकारले दमनमा ठूलो धनजनको क्षति भयो ।

आन्दोलनका क्रममा पुलिसको गोलीबाट नेपाली नागरिकहरू मारिए । नेपाली काँग्रेस, त्यसमा पनि त्यसका सभापति र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको दम्भ र अधिनायकत्वादी – सर्वसत्तावादी चिन्तन, आचरण र शैलीका कारण त्यो मुठभेडको स्थिति वनेको थियो । पछि , आन्दोलनले ठूलो क्षति पुर्याएपछि मदन-आश्रितको रहस्यमय हत्याको न्यायिक छानविन गर्न सर्वोच्च अदालतका वहालवाला न्यायाधीसको अगुवाइमा आयोग वनाउन गिरिजा नेतृत्वको सरकार तयार भयो । रहस्यमय तरिकाले भएको हत्याको तथ्य-सत्य पत्ता लगाउन अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन गर्ने लगायतका आन्दोलनसित गाँसिएका विभिन्न मागहरू पुरा गर्न सरकार तत्पर भएको थियो । यसरी , आफ्ना प्रिय तथा आदरणीय नेताहरूको दु:खद निधनको परिणाम सिंगो मुलुकले एउटा अप्रिय अध्यायको सामना गर्नु पर्यो । मदन मरेर जानुभयो तर वहाँले  उन्नत विचार र सुदृढ तथा राष्ट्रव्यापी जनआधार भएको पार्टी विरासतका रूपमा छोडेर जानुभयो !

(मदन–आश्रित स्मृति दिवसमा पोखरेलले सामाजिक सञ्जालमा लेख्नुभएको विचार)

प्रतिक्रिया
सम्बन्धित