शनिबार, ४ साउन २०७६
DainikNepal.com
शनिबार, ४ साउन २०७६

नेकपामा जबजलाई संजिवनी छर्कने वैचारिक लडाकू

दैनिक नेपाल २०७६ जेठ २ गते १२:१७

-बिनोद ढकाल/दैनिक नेपाल

काठमाडौं, २ जेठ । जनताको बहुदलीय जनवाद र माओवादको सैद्धान्तिक मिलनसँगैको एकीकरण घोषणा भई नेपाल कम्युनिस्ट पार्टी बनेको शुक्रबार एक बर्ष पुग्दैछ ।

नेकपा घोषणाको बर्ष दिन बित्दै गर्दा संगठनात्मक संरचना र विभिन्न निकायको एकीकरणका प्रयत्न र प्रयास भइरहेका छन् । विचारको मतभेद र मन्थाचाहिँ हुन सकेको छैन । यसबीच तत्कालिन माले, अथवा त्यसपछिको एमालेले अंगीकार गरेको मौलिक नीति जनताको बहुदलीय जनवादको विकासक्रम हुनुपर्ने धारणा एउटै मात्र नेताले बोकेका छन् । ति हुन्– सचिवालय सदस्य तथा उपप्रधान र रक्षामन्त्री इश्वर पोखरेल ।

नेकपाको सैद्धान्तिक लाइनको रेखा कोरिएको छैन तर पोखरेल जबजबाट नै यो लाइनको विकास हुनुपर्छ भन्ने मान्यता पार्टी भित्र र बाहिर पनि बताइरहेका छन् । एक अर्थमा एकीकरण घोषणाको ३६३ औं दिनमा पनि उनले युवा संघ नेपालको स्थापना दिवसका अवसरमा भने,‘जनताको बहुदलीय जनवादको धरातलमा सैद्धान्कि रेखा कोरिनुपर्छ ।’

यस अर्थमा यो बर्षदिनमा संगठनात्मक संरचनाको बहस चलिरहेका बेला विचारको लाइन अस्पष्ट नै छ । त्यसलाई स्पष्ट बनाउनुपर्छ भन्ने पोखरेल जबजलाई संजिवनी बुटी छर्कँदै त्यसलाई अगाडी बढाउनुपर्छ भन्ने लडाकू जस्ता देखिएका छन् ।

उनले सैद्धान्तिक लाइनकै सन्दर्भमा केही समयअघि लेखेका थिए,‘हिजो अत्यन्त प्रतिकूल अवस्थामा, एक किसिमले केही नभएको अवस्थामा, अथक प्रयत्नका साथ हामीले कम्युनिष्ट पार्टी बनायौं र त्यसलाई एउटा नयाँ उचाइमा पुर्यायौं । मैलिकतामा आधारित सुसंगत विचारका श्रृंखला विकास गर्यौं । सुदृढ संगठनात्मक संरचना तथा आम जनतामा स्थापित नेतृत्व पंक्ति विकास गरयौं ।’

उनको संकेत तत्कालिन एमालेको संगठन र विचारको जग बलियो रहेका कारणले नै कम्युनिस्ट पार्टीको भौतिक आकार पनि बलियो भएको भन्ने नै थियो । उनले त्यहि धरातलमा रहेर अगाडी लेखेका थिए,‘फूट विभाजनका विरूद्धमा चट्टानी ढंगले खडा भयौं र पराजीत गर्यौं । यी काम गरिरहँदा हामीले देश र जनताका हितमा काम गर्ने कुरालाई केन्द्रमा राखिरह्यौं !’

पोखरेलले सोही सैद्धान्तिक धरातलले नै सार्वभौम मुलुकमा उभिन सकेको हेक्का राख्नका लागि धेरैको ध्यानाकर्षण गराउँदै अघि लेखेका थिए,‘क्रान्तिकारी शक्ति निर्माण गर्ने नाममा वा क्रान्तिकारी नेतृत्वको रक्षा गर्ने नाममा विदेशी भूमिमा आश्रित रहेनौं, रहन चाहेनौं । क्रान्तिकारी परिवर्तन गर्ने नाममा विदेशी शक्तिसित कुनै गोप्य साँठगाँठ पनि गरेनौं । हामी आफ्नै देशका आधारभूत जनतामा भर परेर टिक्न चाह्यौं, बाँच्न चाह्यौं ! जनताले नरूचाएका वा जनतालाई हानी पुर्याउने कुनै रूमानी संघर्षमा रमाएनौं, त्यस्ता कुरालाई रुचाउँदै रुचाएनौं ।’

पोखरेल तत्कालिन एमालेभित्र एउटा प्यारापावरका रूपमा विचारका हिसाबले नै उदाएका थिए । उनी तत्कालिन अध्यक्ष झलनाथ खनालसँग उभिए त्यसै सिद्धान्तले जित्यो र आठौं महाधिवेशनमा महासचिव रहे, पुनः त्यहि विचारमा अडिग रहे, नवौं महाधिवेशनमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको बलियो बिजय भएको थियो ।

उनी अहिले पनि सोही विचारमा अडिग रहेर अघि बढ्नुपर्छ भन्ने मान्यता राख्छन् । त्यसैले उनले भनेका छन्,‘हाम्रो यो स्थितिलाई सच्चा शक्तिमा बदल्नका लागि विगतमा हामी स्वयमले स्थापित गरेका विचार, विधि, मान्यता, अभ्यास र आचरणलाई नयाँ स्तरमा उठाउनु र स्थापित गर्नु जरुरी छ । प्राप्त भएको उचाइसंगै चुनौतीहरू पनि प्रकट हुनसक्छन् भन्ने कुरालाई यतिवेला पनि हेक्का राख्नु जÞरूरी छ ।’

उनले नेपाली कम्युनिस्ट पार्टीको यो उचाईलाई जोगाउनका निम्ति हिजो अंगीकार गरेका विचारलाई नै पथप्रदर्शक सिद्धान्तको कसी मान्नुपर्ने धारणा निरन्तर राखिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित