शनिबार, ४ साउन २०७६
DainikNepal.com
शनिबार, ४ साउन २०७६

भरिया बनेर चार पटक सगरमाथा चढेका लीलाबहादुरले विश्व रेकर्ड बनाउने, चार गतेदेखि काउन्टडाउन

दैनिक नेपाल २०७६ जेठ २ गते ८:३८

लीलाबहादुर बस्नेत, हाइअल्टिच्युड पोर्टर

दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नम्बर १, लामाबरका लीलाबहादुर बस्नेतले चार पटकसम्म विश्वको उच्च शिखर सगरमाथाको चुचुरो चुमी सकेका छन् । उनले सगरमाथाको चुचुरो चुमेको चार पटक हुँदा पनि उनी गुमनाम छन् । दुई स–साना छोराहरूसहित बौद्धमा बस्दै आएका बस्नेतकी पत्नीको निधन भएको एक वर्ष भयो । उनका बुबा र आमा पनि छैनन् । छोराहरूको लालनपालन र भविष्यका लागि उनलाई ठूलो चिन्ता लाग्ने गरेको छ ।

बस्नेतले सगरमाथाको चुचुरो चुमेको भरियाको रुपमा हो । यस पटक उनले आफ्नै खर्च र बलबुतामा सगरमाथाको चुचुरो चुम्ने तयारी गरेका छन् । त्यो पनि एक हप्तादेखि दश दिनभित्र । बस्नेतको यो यात्रा जेठ ४ गते काठमाडौंबाट शुरू भई काठमाडौंमा आएर समापन हुनेछ । कठिन कार्यका लागि उनलाई गृहजिल्ला दोलखाको बिगु गाउँपालिका, सेभेन समिट हिमाल आरोहण कम्पनी, प्यारागन स्कूलसहितका संस्थाले सानो ठूलो सहयोग गरेका छन् । उनलाई सगरमाथा चुचुरो चुम्नका लागि कम्तीमा १६ लाख खर्च लाग्नेछ । उनले अहिलेसम्म करीव दश लाख संकलन गरेका छन् । बाँकी रकम आफ्नै पुख्र्यौली घर जग्गा धितोमा राखेर पैसा खोज्दै छन् ।

उनले काठमाडौंबाट सगरमाथाको चुचुरोमा सातदेखि दश दिनको लक्ष्य राखेका छन् । काठमाडौंबाट शुरू भई सातौ दिनमा सगरमाथाको चुचुरो चढेर काठमाडौंमा सातौँ दिनभित्र आइपुगी विश्व रेकर्ड राख्ने बस्नेतले बताए ।

साना ठूला गरी बस्नेतले भरियाका रुपमा सगरमाथासहित आधा दर्जन बढी हिमालको आरोहण गरिसकेका छन् । बस्नेतले चीनको तिब्बतमा रहेका दुई वटा हिमाल पनि चढेका छन् ।
‘हिमाल चढ्ने पर्यटकको भारी बोक्ने मेरो पेसा हो । पढाइ भएन’, उनले भने, ‘हिमाल चढ्ने पर्यटकको भारी बोक्न शुरू गरे ।’ यस पटक उनले विश्व रेकर्डको लागि सगरमाथाको चुचुरो चुम्न लागेको बताए । ‘म साधारण व्यक्ति । पढ्ने रहर गरिवीका कारण पूरा हुन सकेन’, उनले भने, ‘केही गरौँ र देशको नाम विश्वमा चिनाउन विश्व रेकर्ड बनाउन सगरमाथाको चुचुरोमा चढ्न लागेको हुँ ।’

‘सगरमाथाको चुचुरोसम्म चार पटक चढेको छु । शिखरसम्मै पुगेको छु । नेपाल सरकारले भरियाको सर्टिफिकेट पनि दिएको छ । मैले सन् २००८, ९, १० र ११ मा सगरमाथा चढेको हुँ । कामदारको हैसियतले चढेको हुँ’, बस्नेतले भने, ‘हाइअल्टिच्युड पोर्टरको रुपमा सगरमाथा गएको हो । रेकर्डको रुपमा म सगरमाथा चढ्न जान लागेको छु ।’ उनलाई सेभेन समिट कम्पनीले साथ र सहयोग गरेको छ । सेभेन समिटका निर्देशक मिङ्मा शेर्पाको समूहले १४ वटा हिमाल चढिसकेको छ ।

बस्नेतले तिब्बतको छोयु (८२०१ मिटर) हिमाल, तिब्बतकै सिसिपाङमा (८ हजारभन्दा माथि), आमादब्ला, मनास्लु, ६ हजार जति उचाइँ भएका मेरापिक, लघु पिक, पोबल्दे जस्ता हिमाल चढिसकेको बताए । ‘हामी कामदारको रुपमा गएका हौँ । अफिसको रेकर्डमा हामीले हिमाल चढेको उल्लेख छ’, उनले अनुभव सुनाउँदै भने, ‘नेपालमा धेरै हिमाल छन् । धेरै नेपालीलाई आफ्नै देशको हिमालका बारेमा थाहा छैन । विदेशीहरू घुम्न आउँछन् । सगरमाथा चढ्छन् । नेपालीहरूले पनि हिमाल चढ्नुपर्छ । आन्तरिक पर्यटनलाई बढावा दिनुपर्छ ।’
सगरमाथा चढ्नका लागि नेपाल सरकारसँग ६० देखि ७५ दिनको अनुमति लिइएको हुन्छ । सोही अनुसारको परमिट लिएर सगरमाथाको चुचुरोसम्म पुग्ने हो । ‘सगरमाथाको चुचुरोमा पुग्न ३५ देखि ४० दिनसम्मको समय लाग्छ’, उनले भने, ‘काठमाडौंबाट लुक्ला फ्लाइटमा जान्छौँ । लुक्लाबाट बेश क्याम्प जान्छौँ । बेश क्याम्पमा जाँदा दुई ठाउँमा रेष्ट हुन्छ । सात क्याम्पपछि मात्रै बेश क्याम्पमा पुग्छौं । बेश क्याम्प पाँच हजार तीन सयको उचाइँमा रहेको छ । खुम्बु क्षेत्रमा पर्ने एभरेष्ट बेश क्याम्प भन्छन् ।’

हिमाल चढ्ने साथीहरूसहित जाँदा लुक्लाबाट बेश क्याम्पसम्म पुग्न सात दिन लाग्छ । ‘नेपाली भरिया मात्रै जाने हो भने चार दिनमा पुग्छौँ । म विश्व रेकर्डको लागि काठमाडौंबाट समय तोकेर जाने हो । म दुई दिनमा लुक्लाबाट बेश क्याम्प पुग्नुपर्छ’, उनले भने, ‘सात दिनमा सगरमाथा चुचुरोमा पुगेर फर्कने हो ।’

बस्नेतले मौसम बिग्रियो भने नाम्चे, ट्याम्पुचेबाट अलिअलि हिउ पर्ने गरेको बताए । ‘बेश क्याम्पदेखि माथि पूरै हिँउ परेको हुन्छ । हिउँमा खुट्टा गाडीदैन । हामीलाई क्लाइम्बिङ जुत्ता दिइएको हुन्छ । सोही अनुसारको कपडा हुन्छ । जुत्तामा फ्रेमवम (काँडा) हुन्छ । त्यसले गर्दा चिप्लने सम्भावना हुँदैन’, उनले भने, ‘भरियाले बेश क्याम्पदेखि बेश क्याम्प दुईसम्म १५ किलो बोकिएको हुन्छ । कम्पनीअनुसार १० देखि भारी बनाएका हुन्छन् ।’

बस्नेतले भने, ‘त्यहाँ पुगेपछि पैसाको लोभ हुन्छ । माथि पुगेर भारी बोकियो भनेको बोनस क्यारी हुन्छ । डबल भारी बोकियो भने एक सय ८० डलर दिने गरिन्छ । सोहीअनुसार पैसा पाउँछौं । भरियाले ५० किलोसम्म बोक्छन् । बेश क्याम्पमा खाने कुरा सकिदैन । सबै व्यवस्था गरिएको हुन्छ ।’

उनले भने, ‘सपोर्टिङ शेर्पा (सहयोगी) दुई जना हुन्छन् । बेशक्याम्पसम्म भारी पुर्‍याउने भरिया छुट्टै हुन्छ । बेशक्याम्पसम्म हामी कसैले भारी बोक्नु पर्दैन । हामी बेश क्याम्पदेखि माथिको लागि सपोर्टर हो । सगरमाथा चुचुरोसम्म सबै गर्ने हामीले हो । बेश क्याम्पदेखि एक, दुई, तीन र चार गरी चार वटा बेश क्याम्प हुन्छ । अन्तिम बेश क्याम्पको उचाइँ सात हजार ९ सय मिटरमा रहेको छ । हामी क्याम्प वानमा बस्दैनौँ ।’

‘सगरमाथाको चुचुरोमा चढ्दा हामी सिधै दुई नम्बर बेश क्याम्पमा गएर बस्छौँ । क्याम्प वानबाट क्याम्प दुईमा पग्न दुई घण्टा लाग्छ । खुम्बो आइपोल डक्टरले बाटो बनाउँछन् । बाटो बनाउने टोली छुट्टै हुन्छ’, उनले भने, ‘मे १ सम्म सरकारी कर्मचारी नै बसेका हुन्छ । क्याम्प चारबाट चुचुरोसम्म पुग्न कहाली लाग्दो बाटो र डर हुन्छ ।’

राति आठ बजेदेखि हिँडेको बिहान चार बजेसम्म सगरमाथाको चुचुरोसम्म पुग्नुपर्छ । दिउँसोमा एभरेष्टको चुचुरोमा छौँ भने फर्केर सकुशल फर्कने सम्भावना निकै कम हुने गरेको उनले बताए । हावा चल्ने भएकोले दिउँसोमा सगरमाथाको चुचुरोमा पुग्न नसकिने उनले बताए । ‘सगरमाथा चढ्नेहरूका लागि सेफ्टी दिन डोरी हुन्छ । सेफ्टीका लागि राखिएको यो डोरी अति नै विश्वासिलो हुन्छ । तलदेखि फिक्स डोरी हुन्छ माथिसम्मै’, उनले भने, ‘सगरमाथाको चुचुरोमा दश मिनटसम्म बसेको छु । अक्सिजन बोकेर जाने हो । सानो सामान पनि माथि पुगेपछि भारी हुन्छ । कुनै पनि सामान बोकेर हिँड्न सकिँदैन । गाह्रो हुन्छ । हिमाल चढ्ने सदस्यको हामीले नै सबै हेरचाह गर्नुपर्छ ।’

उनले भने, ‘अक्सिजनदेखि पानीको बोतल सबै हामीले हेर्नुपर्छ । बोक्नुपर्छ । पानीको बोतल मात्रै चार किलो हुन्छ । अक्सिजन सक्कियो भने लाइफ सक्कियो । मेरो टिमको मान्छे मरेको छैन । तर बाटोमा शवहरू थुप्रै हुन्छन् । आफ्नो ज्यानलाई माथिबाट तल ल्याउन समस्या भएको बेला शव ल्याउन समस्या पर्छ ।’

उनका अनुसार सगरमाथा चढ्ने पर्यटक र भरियाले क्याम्प दुईसम्म दालभात नै खान्छन् । ‘त्योभन्दा माथि ड्राइफुड खान्छौँ । दिशा पिसाव प्लाष्टिकमा गरेर फाल्ने हो । कसैले आफू बोकेर ल्याउँछन् । बेश क्याम्पमा दिसा पिसाब राख्ने ठाउँ हुन्छ’, उनले भने, ‘दिसा पिसाव र फोहर बोक्नको लागि प्रतिकिलो एक सय ८० डलरसम्म लाग्छ ।’

उनले भने, ‘सगरमाथा चढ्न म मे १८ तारिख (जेठ ४ गते) मा सगरमाथा चढ्न जाँदैछु । सबै तयारी भएको छ ।’

‘म र मेरो सर्पोटिङमा एक जना हुन्छन् । सगरमाथा चढ्न मलाई १६ लाख जति खर्च लाग्छ । दोलखाको मेरै बिगु गाउँपालिकाले चार लाख ८९ हजार चार सय ७७ रुपियाँ सहयोग गरेको छ । प्यारागन स्कुलबाट साढे दुई लाख रुपियाँ, प्यारागन स्कुलमै कार्यरत एकजना अमेरिकन नागरिकले साढे दुई लाख रुपियाँ सहयोग गर्नुभएको छ’, उनले भने, ‘बेश क्याम्पमा नेट चलाउन पाइन्छ । एभरेष्ट लिङ्क कार्ड पाइन्छ । यो कार्डबाट रिचार्ज गर्न पाइन्छ । फेसबुकमा एक–दुई वटा फोटो पोस्ट गर्ने हो भने पाँच सय रुपियाँ जान्छ । चुचुरोमा नेट चल्दैन । सबैसँग सञ्चार सेट पनि हुन्छ । सञ्चार हुन्छ । सञ्चार सेटबाट जाने हो ।’

उनले भने, ‘सगरमाथाको चुचुरोमा बुद्धको मूर्ति राखिएको छ । सन् २००७ मा छिरिङ दोर्जे शेर्पाले बुद्ध जयन्तीका अवसरमा बुद्धको मूर्ति राखिएको छ । दोलखा रोल्वालिङका पेम्बा दोर्जे शेर्पाले पनि बुद्धको मूर्ति राख्नुभएको छ । मैले दश दिनभित्र सगरमाथा चढेर आउँछु । तर, यस पटक विश्व रेकर्ड राख्नु छ । सात दिनभित्र सगरमाथा चढेर काठमाडौं आइपुग्छु । यसअघि मैले पाँच दिनमा गन्तब्यमा पुगेको थिएँ ।’

‘बेश क्याम्पबाट छिटो चढ्नेमा १२ र ८ लाप्का गेलु, पेम्बा दोर्जेले १२ घण्टा लागेको छ । नेपाल सरकारले कर्मचारी राखेको हुन्छ । त्यो प्रमाण ल्याएर आएर पर्यटन मन्त्रालयबाट प्रमाण पत्र बुझ्ने हो । काठमाडौंबाट शुरू गरेर एक हप्तादेखि दश दिनभित्र सगरमाथाको चुचुरोमा पुगेर काठमाडौंमा आइपुग्छु । विश्व रेकर्ड राख्छु’, उनले भने ।

भरियालाई कम्पनीले दैनिक एक हजार पारिश्रमिक हो । अरु भनेको बेश क्याम्पमा पुगेर भारी बोक्दा पाइन्छ । ‘बेश क्याम्पमा पुगेपछि जति भारी बोक्न सक्यो त्यति कमाइ हुन्छ । तेब्बरसम्म भारी बोक्छौँ । अर्थात चार सय पचास डलर दिनमा कमाइ हुन्छ । नेपाली रुपियाँ ४५ हजारसम्म कमाइ हुन्छ’, उनले आफ्नो अनुभव सुनाए ।

प्रस्तुति : विमल योगी

प्रतिक्रिया
सम्बन्धित