शनिबार, ४ साउन २०७६
DainikNepal.com
शनिबार, ४ साउन २०७६

पार्टी एकता टुंगियो भनेपनि हुन्छ : प्रचण्ड

‘एमालेका नेताहरुलाई लाइन लगाएर प्रधानमन्त्री बनाएँ’

दैनिक नेपाल २०७६ जेठ १ गते १७:२६

काठमाडाैँ, १ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता छिट्टै टुंगिने बताएका छन् । युवा संघ नेपालको २९ औं स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा अध्यक्ष दाहालले एकता टुंगिसक्यो भने पनि हुने बताए।

‘अब एकता टुंगिसक्यो,’ उनले भने, ‘हल्ला भएको दिन एकता हुन्छ कि हुँदैन म भन्न सक्दिनँ तर, एक दुई दिनमा सबै एकता टुंगिसक्छ।’

जिल्लाको एकता टुंगिएकै दिन पार्टी एकता टुंगिसकेको उनले बताए । उनले युवा संगठनको एकता भने ३ गते नै टुंग्याउन चाहेको बताए। प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कने र भोलि बिहान बैठक गरेर एकता टुंग्याउनेबारे छलफल गर्ने दाहालले बताए।

साथै दाहालले तत्कालिन एमालेका तीन नेताहरुलाई प्रधानमन्त्री बनाउने सामर्थ्य आफूले मात्र राखेको भन्दै आफ्नो योगदानलाई अवमूल्यन नगर्न आग्रह पनि गरे ।

प्रचण्डले केपी ओली, माधव नेपाल र झलनाथ खनाललाई आफूले लाइन लाएर प्रधानमन्त्री बनाएको दावी गरे । उनले आफू समय अनुसार चल्ने नेता भएको प्रष्ट पार्दै आगामी दिनमा अझै नयाँ प्रयोग गरेरमात्र मर्ने चाहना रहेको भन्दै आफूलाई साथ दिन तत्कालिन एमालेका नेता कार्यकर्तालाई आह्वान गरे ।

युवाहरुको साथ पाए अझै पनि केही नयाँ प्रयोग गरेरमात्र ‘माथि जान’ मन छ भन्दै आफूलाई साथ दिन आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित