शनिबार, ४ साउन २०७६
DainikNepal.com
शनिबार, ४ साउन २०७६

ईश्वर पोखरेल भन्छन् : विचारमा स्पष्ट नभए नेकपा तासको घरजस्तै ढल्छ

दैनिक नेपाल २०७६ जेठ १ गते १६:४८

काठमाडौँ, १ जेठ । नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एवं कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेले विचारमा स्पष्ट नभए नेकपा तासको घरजस्तै ढल्ने चेतावनी दिएका छन् ।

एमाले र माओवादी केन्द्र मिलेर बनेको एकीकृत पार्टीको मूल विचार स्पष्ट हुनुपर्नेमा पोखरेलले जोड दिदै विचारमा स्पष्ट नभए पार्टी तासको घर जस्तै ढल्ने चेतावनी दिएका हुन् ।

विश्वका धेरै देशमा सत्ता र शक्तिमा आएका कम्युनिष्ट पार्टीहरु विघटित भएको उल्लेख गर्दै उनले परिवर्तित अवस्थामा नेकपा पनि राजनीतिक कार्यदिशा र विचारमा प्रष्ट हुनुपर्ने बताए । पार्टीले वैचारिक दिशा लिन नसक्ने हो भने हाँसको चाल न कुखुराको चाल हुने उनको टिप्पणी छ ।

‘अबको पार्टी विचारमा सुस्पष्ट बन्न सक्नुपर्छ । अस्पष्टता रह्यो भने एकताको खुशीयाली मनाउँदै गर्दा निणार्यक जीत हासिल गर्न सक्दैन’, पोखरेलले भने, ‘संसारका कम्युनिष्ट शासकहरु पुँजीवादीहरुले गोली नहानी तासको महल ढलेझै ढलेको इतिहास छ । हाम्रो पार्टी त्यस्तो हुनुहुँदैन । त्यसका लागि नेतृत्वले सोच्न जरुरी छ । दूर्भाग्य भोग्नु नपरोस् ।’

पोखरेल पार्टीको राजनीतिक कार्यदिशा तथा मार्गदर्शक विचार जनताको बहुदलीय जनवाद हुनुपर्ने पक्षमा छन् । पार्टी एकीकरणपछि तत्कालीन एमालेले बोक्दै आएको जनताको बहुदलीय जनवाद स्थगनमा छ ।

पोखरेलले केही दिनअघि मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा पनि जनताको बहुदलीय जनवाद नै नेकपाका लागि सार्थक विचार हुने भन्दै यसमा बहस हुनुपर्ने बताएका थिए ।

नेता पोखरेलले पार्टी कुनै नेताको तजबिजमा होइन, स्पष्ट कार्यदिशा र नीतिबाट चल्नुपर्ने पनि बताए । उनले श्रृंखलावद्ध कमिटी प्रणाली नअपनाइए नेकपाको दुर्गती कसैले रोक्न नसक्ने चेतावनी पनि दिए ।

प्रतिक्रिया
सम्बन्धित