शनिबार, ४ साउन २०७६
DainikNepal.com
शनिबार, ४ साउन २०७६

सरकारविरुद्ध सदन र सडकमा शक्ति परिचालन गर्ने काँग्रेसको चेतावनी

दैनिक नेपाल २०७६ जेठ १ गते १४:५४

काठमाडाैँ, १ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मिडिया काउन्सिलसम्बन्धी विधेयक अगाडि बढाए सदन र सडकमा शक्ति प्रदर्शन गर्ने चेतावनी दिएको छ ।

बुधबार बसेको काँग्रेस संसदीय दलको बैठकले मानवअधिकार आयोग, मिडिया काउन्सिल र राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयकको विरोध गरेको हो ।

मिडिया काउन्सिल विधेयकले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता कुन्ठित गर्ने काँग्रेसको ठहर छ । सरकारले जबरजस्ती विधेयकलाई अगाडि बढाउन खाेजे काँग्रेसले सदनभित्र र बाहिर सडकमा आफ्नो शक्ति परिचालन गर्ने प्रमुख सचेतक बालकृष्ण खाँडले बताए ।

काँग्रेसले संविधानको प्रावधान विपरित विधेयक दर्ता गरिएको समेत बताएको छ। ‘संविधानको पालना र रक्षा गर्ने मूल दायित्व सरकारको हो ।

तर, वर्तमान सरकारले संविधानको व्यवस्था र भावनको प्रतिकूल हुनेगरी विभिन्न विधेयकहरु संघीय संसदमा दर्ता गराएको छ’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।

‘मिडिया काउन्सिल सम्बन्धी विधेयकले संविधानको प्रावधान र भावनालाई ठेस पुर्‍याउने र प्रेस स्वतन्त्रतालाई कुन्ठित गर्ने आशय बोकेको छ’, विज्ञप्तिमा भनिएको छ।

त्यस्तै, मानव अधिकार सम्बन्धी विधेयकले संवैधानिक आयोगलाई महान्यायाधिवक्ता कार्यालय अन्तर्गत राख्न खोजिएको उसको बुझाइ छ।

सुरक्षा परिषद् विधेयकले सुरक्षा परिषद् र नेपाली सेनालाई पन्छाएर प्रधानमन्त्रीको एकल निर्णयबाट सेना परिचान गर्न खोजिएको देखिने काँग्रेसको दाबी छ।

प्रतिक्रिया
सम्बन्धित