आइतबार, ५ जेठ २०७६
DainikNepal.com
आइतबार, ५ जेठ २०७६

विकास समितिले सरकारलाई भन्यो : मेलम्चीको बाँकी काम तत्काल अघि बढाउनू

दैनिक नेपाल २०७६ जेठ १ गते १४:३३

काठमाडाैँ,  १ जेठ । संसदीय समितिले बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको बाँकी काम तत्काल अघि बढाउन सरकारलाई कडा निर्देशन दिएको छ।

प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम तत्काल अघि बढाउन खानेपानी मन्त्रालयलाई कडा निर्देशन दिएको हो ।

काठमाडौं उपत्यकाबासीको प्रतीक्षाको विषय बनिरहेको मेलम्ची खानेपानी आयोजनाको बाँकी कामलाई तत्काल अघि बढाउन सरकारलाई पुनः निर्देशन दिइएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन्।

त्यसैगरी, समितिले सरकारको नीति तथा कार्यक्रमअनुसार नै आगामी आर्थिक वर्षको बजेट निर्माण गर्न/गराउन पनि खानेपानी मन्त्रालयलाई सचेत गराएको छ।

समितिले राष्ट्रिय खानेपानी तथा सरसफाइ नीति र सो सम्बन्धी ऐन शीघ्र तर्जुमा गरी कार्यान्वयनमा ल्याउन पनि सरकारलाई निर्देश गरेको छ।

त्यसैगरी, स्वच्छ खानेपानी वितरण प्रणालीलाई व्यवस्थित बनाउन, भूकम्पले क्षति पुर्‍याएका खानेपानी आयोजनाहरु छिटो सञ्चालनमा ल्याउन पनि सरकारलाई सचेत गराइएको समितिकी सभापति खड्काले बताइन्।

बैठकमा खानेपानी मन्त्री विना मगरले क्याविनेटमा छलफल गरेर मेलम्ची खानेपानी आयोजनाको बाँकी कामलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । उनले स्वच्छ खानेपानीको अभाव हुन नदिने गरी सरकारले आवश्यक कामकारबाहीलाई अघि बढाइएको दाबी पनि गरिन् ।

प्रतिक्रिया
सम्बन्धित