शनिबार, ४ साउन २०७६
DainikNepal.com
शनिबार, ४ साउन २०७६

जाणरण अभियान देउवाविरुद्ध प्रयोग, अराजक बन्दै कांग्रेसका नेताहरू

दैनिक नेपाल २०७६ जेठ १ गते १०:१०

काठमाडौं, १ जेठ । नेपाली कांग्रेसले वैशाख २५ गतेदेखि शुरू गरेको जागरण अभियानलाई नेताहरूले आफ्नो स्वार्थअनुकूल हुने गरेर ब्याख्या र मनभित्रको कुन्ठा व्यक्त गर्ने मञ्चका रुपमा प्रयोग गर्न थालेका छन् ।

विशेष गरेर सभापति शेरबहादुर देउवा विरोध समूहले जागरण अभियानलाई गुटको कुरा राख्ने थलोको रुपमा प्रयोग गरेको हो । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति देउवाविरुद्ध जागरण अभियानमा धेरै आक्रामक भएर देखिएको छैन ।

तर, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र डा.शेखर कोइरालाहरूले जागरण अभियानमा संगठन सुदृढीकरणका कुराभन्दा पनि आफ्नो मनको कुण्ठा व्यक्त गर्ने गरेका हुन् ।

विराटनगरमा मंगलबार आयोजित कार्यक्रममा नेता कृष्णप्रसाद सिटौला र डा.शेखर कोइरालाले महाविधेशनका लागि सभापति देउवालाई दवाव दिनुपर्ने अभिव्यक्ति दिए । उनीहरूले जिल्ला सभापतिहरूलाई महाधिवेशन गर्नका लागि देउवाविरुद्ध हस्ताक्षर अभियान चलाउन आग्रह गरे ।

नेता प्रकाशमान सिंहले वैशाख २५ गते राष्ट्रिय सभा गृहमा आयोजित जागरण अभियानको उद्घाटन कार्यक्रममा सभापति देउवाकै अगाडि पार्टी नेतृत्वको आलोचना गरे । नेता सिंहको आलोचनाले हलमा सन्नाटा छाएको थियो । धेरैले नेता सिंहको सो चर्तिकलाको खुलेरै आलोचना गरे ।

कांग्रेसका नेता डा.रामशरण महतले जागरण अभियानमा पार्टीभित्रको आन्तरिक कुरालाई भन्दा पनि केन्द्रबाट सर्कुलर भएको विषयलाई उठाउनु पर्ने बताउँछन् ।

‘नेतृत्वको अलिअलि आलोचना हुनुलाई स्वभाविक रुपमा लिनुपर्छ’, उनले भने, ‘बैठकमा भन्ने कुरालाई सार्वजनिक ठाउँमा भन्नु हुँदैन । नेताहरूले आफ्नो मर्यादा र सीमालाई उल्लंघन गर्नु हुँदैन ।’

जागरण अभियानमा सरकारको गलत कुराको विरोध गर्नेदेखि पार्टी संगठनको कुरा र गतिविधि गर्ने कार्यविधि नै बनाएर केन्द्रबाट परिपत्र भएको छ ।

नेपाली कांग्रेसका युवा नेता राजु खनालले जागरण अभियानलाई पार्टीको हितअनुसार प्रयोग गर्नुपर्ने बताए । ‘म पनि केन्द्रीय प्रतिनिधिका रुपमा दार्चुला जिल्लामा खटिएको छु । मैले कसैको विरोध गरिन । तर, शीर्ष नेताहरू मिलेर जाँदा कांग्रेस झन् बलियो हुन्छ भनेको छु’, उनले भने, ‘पार्टीको बैठकभित्र गर्ने कुरालाई सार्वजनिक रुपमा भन्नु हुँदैन । कार्यकर्ताको मनोवल कमजोर हुन्छ ।’

जागरण अभियानकै क्रममा कुरा नमिलेपछि दुई समूहबीच कुटाकट पनि भएका छन् । सिन्धुपाल्चोक जिल्लामा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतका लठैतहरूले जागरण अभियानको कार्यक्रम हुँदै गर्दा मञ्चमा पुगेर कुटपिट गरेका थिए ।

कतिपय जिल्लाहरूमा फरक गुटको केन्द्रीय प्रतिनिधि आएको भनेर कार्यक्रमलाई असफल बनाउने प्रयासहरू भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित