शनिबार, ४ साउन २०७६
DainikNepal.com
शनिबार, ४ साउन २०७६

अब आइजी खनालले ‘मोरल’ उत्तरहरू दिनुपर्छ

विनोद ढकाल २०७६ वैशाख ३१ गते १२:०६

-विनोद ढकाल

नेपाल प्रहरीको प्रमूख (आइजी) छान्ने बेला भएका अनेक दुर्घटनाका साक्षी नेपाली मिडिया छन् । जसलाई नवराज सिलवाल प्रकरणका रूपमा व्याख्या गरिन्छ । सिलवाल प्रकरणका क्रममा केही घन्टे आइजी भए जयबहादुर चन्द । र, कार्यकालको आइजी खाए प्रकाश अर्यालले । अर्यालको कार्यकाल गतिलो रहन सकेन किनभने सोही प्रकरणको परिणामले मुलुक तातेको थियो । यहाँ सम्मकी तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लाग्यो, फेरि अदालतले नै उनलाई फर्कायो । न्यायालय कतिसम्म हल्लियो भने गोपाल पराजुली फूलमाला लगाएर केही समयका लागि सुशीलाको कुर्सीमा बस्न भ्याए । यद्यपि, पराजुलीले उक्त पद कालान्तरमा पाए र विवादीत भएर बिताए ।

नेपाल प्रहरीको प्रमूख हुनका लागि यतिसम्मको दौड किन हुँदो रहेछ ? यसको उदाहरण त तत्कालिन प्रहरी महानिरिक्षक अच्युतकृष्ण खरेलले लेखेको आत्मकथामा नै उल्लेख छ । इतिहासमा दुई पटक आइजी हुने खरेलले लेखेका छन्,‘राजनीतिक पार्टीलाई चन्दा दिनुपर्ने भयो, कांग्रेसलाई ३० लाख र एमालेलाई १० लाख चुनाव खर्च पठाएँ ।’ यति गरे पनि उनी नैतिकताको खडेरी फोर्समा पर्नुहुन्न भन्ने विषयमा अडिग नै रहे र काम गरे । त्यसकारण नेपाल प्रहरीको इतिहासमा उनको कार्यकाललाई धेरैले सम्झिएका होलान् ।

मूल प्रश्नतिर फर्कौं । सत्ताको रापले प्रहरी संगठन प्रजातान्त्रिक कालदेखि नै पिल्सिरहेको छ । त्यहि रापले संगठनको आकार, प्रकार र त्यहाँभित्रका गतिविधिलाई कुन आकारमा बंगाउने, चेप्ट्याउने अथवा खुम्च्याउने भन्ने निर्णय गर्दै घन हानिरह्यो । कहिले नेपाली कांग्रेसको सत्ताले हान्यो, कहिले नेकपा एमालेको सत्ताले । र, यतिबेला नेकपाको सत्ताले हानिरहेको छ । संगठनमा राजनीतिक दलसँग पौंठेजोरी खेलेर एउटा व्यावसायीक प्रतिष्ठा कायम गर्ने हिम्मत कसैले गरेनन् । केही आशा आइजी सर्वेन्द्र खनालसँग थियो, एकाध घटनाक्रमले उनी पनि राजनीतिक रापमा पिल्सिरहेका जस्ता छन् ।

कुनै कोणको दबाब उनलाई पक्कै परेको होला तर संगठनको प्रमूख व्यक्तिलाई दबाबमा पारेर राख्न सक्ने कुनै अफिसरले उनले तयार पारेको गीतमा कसरी स्वर भर्न सक्ला ?

तर, उनलेचाहिँ धेरै नैतिक प्रश्नहरूको उत्तर अवश्य दिनुपर्छ ।

आइजीको फूली लगाउँदै गर्दा एउटा अमिलो यथार्थसँग जुधिरहेका थिए खनाल, डिआइजी रमेश खरेलको राजीनामा प्रकरणले । त्यो राजीनामा खनालको योग्यताका लागि र खरेलको अयोग्यताको प्रमाणका रूपमा आएको थियो । त्यसबेलाको सोही योग्यतालाई प्रमाणित गर्नुपर्ने चुनौतिको भार खनालले बोकेका थिए । उनी प्रहरी मुख्यालय छिर्दैगर्दा चुनौति के हुन सक्छन् भन्ने विषयमा एउटा आलेख लेखेको थिएँ ।

….र, यो पनि सवेन्द्र समय

सामाजिक अपराध, कुनै घटना विशेषमा प्रहरी किन चुक्यो भन्ने आम प्रश्न भन्दा पहिला संगठनलाई बलियो बनाउने काममा खनाल किन चुकिरहे किन झुकिरहे भन्ने प्रश्न स्वभाविक हुन्छ । तिनै सामाजिक अपराधका कारणले प्रहरी आग्रह र पूर्वाग्रहको चपेटामा परेकै थियो, परिरहेको होला । तर खनालले सांगठनिक संरचना कायम गर्ने विषयमा पनि नेताका सिफारिस र इच्छा आपूर्तिको भन्दा नयाँ काम गर्न नसकेको प्रतित भइरहेको छ ।

एउटै दौडका सहभागी कोही पहिलो, दोस्रो वा तेस्रो हुन सक्छन् । तर, कसैका लागि त्यहि २ सय मिटरको बन्ने र कसैका लागि ५० मिटरमा झारिदिने परम्पराका साक्षी खनाल बने, विश्वराज पोखरेललाई डिआइजी नियुक्ति गर्ने क्रममा । कुनै कोणको दबाब उनलाई पक्कै परेको होला तर संगठनको प्रमूख व्यक्तिलाई दबाबमा पारेर राख्न सक्ने कुनै अफिसरले उनले तयार पारेको गीतमा कसरी स्वर भर्न सक्ला ? अथवा उनलाई कसरी टेर्ला ? एउटा मोरल प्रश्न हो । अर्को, खनालसँगैका सहयात्री कतिपयले जीवन नै प्रहरी संगठनका लागि खर्च गरिरहँदा पोखरेलको स्थान पाउन सकेका छैनन् । केही विधानका जटिलता होलान्, केही व्यवाहारका जटिलता । तर, त्यो जटिलतालाई फूकाउनुपर्ने कि अझ कसिलो बनाएर झन् गाँठो पार्न उद्दत हुनुपर्ने ? पोखरेल नियुक्तिले यो प्रश्न खनालका अगाडी नैतिक रूपमा उठाउँछ ।

प्रहरी अपराधरहित समाजको परिकल्पनाको सन्देश फ्याँक्छ । कुनै व्यक्ति हत्या गर्नु, बलात्कार गर्नु अथवा हतियारको दुरुपयोगले समाजमा वितण्डा मच्चाउनुभन्दा ठूलो अपराधचाहिँ त्यसलाई नियन्त्रण गर्ने संगठनमा कर्म गरिरहेकाहरू बीच नैतिक खाडल खन्नु हो । यसको साक्षी खनाल बनिसकेका छन् । कसले र किन खन्न बाध्य बनायो ? भन्ने प्रश्न माध्यमिक हुन्छ प्राथमिक प्रश्नचाहिँ त्यो बाध्यतालाई खनालले किन स्वीकार गरे ? किन ट्याकल गरेर नैतिक समस्याका कारण संगठनको लय नै भत्किन्छ भन्ने सन्देश उपल्लो तहसम्म दिन सकेनन् ? दिएको भए एउटा उदाहरण हुन्थे वा हुन्थेनन् ?

१९ साउन ०७५ मा एसपीबाट एसएसपीमा बढुवा हुँदा पोखरेलले आफूभन्दा अघिल्लो ब्याचका केही राम्रा प्रहरी अधिकृतलाई वरीयतामा उछिनेका थिए । एक ब्याच अघिका वसन्तकुमार पन्त, ईश्वरबाबु कार्कीलगायत ६ जनाभन्दा वरीयतामा पोखरेल अगाडि बढे । नौ महिनापछि उक्त ब्याचलाई छिचोलेर डीआईजी भए ।

२९ वैशाख ०४९ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा भर्ना भएका पोखरेल उत्तमराज सुवेदी, धीरजप्रताप सिंह, दिवेश लोहनीसहित ६ जना इन्स्पेक्टर पदमा १०१ ब्याचमा छिरे । अहिले उनको हैसियत ९८ व्याचका शैलेश थापालगायतसँग छ । एउटा नैतिक प्रश्न के भने सँगै दौडमा रहेका अन्य एसएसपीले पोखरेललाई स्यालुट ठोक्दा के सोच्दा हुन् ? अनि, उनी अघिका ब्याचका नै एसएसपी छन् झन् तिनको नैतिक धरातलले के भनिरहेको होला ? यो एक प्रकारको भूकम्प जस्तै ठानिँदैन र ?

प्रहरी सेवामा प्रवेश गरेकै कारण पोखरेलको बढुवा हुन हुँदैन थियो भन्ने प्रश्नमा म अड्किन्न । तर, उनको बढुवा हुँदै गर्दा उनीभन्दा अगाडि सोही पदमा पुग्नुपर्नेको बाटो छेकेर, उनैलाई दिनुपर्ने बाध्यता खनाललाई किन आइलाग्यो ? यदि, सरकारले नै उनको बढुवाको निर्णय गरेको थियो भने पनि खनालले संगठनमा यस्ता बढुवाले मोरल प्रश्न खडा गर्छन् भन्ने आँट र साहस किन देखाएनन्, किन मौन बसे ?

इतिहास बनाउनेहरू मात्र सम्झनामा हुन्छन् । आफ्नो कार्यकाल आइपुग्नुअघि सम्म बदनाम भएको प्रहरी संगठनलाई इमानको लयमा हिँड्न, राजनीतिक दल विशेषको स्वार्थ होइन संगठनको स्वार्थको कसीमा बाँध्न सक्ने मौका खनालसँग थियो तर उनी यसमा पनि कतै चुकिरहेको भेटिए

कुनै पनि सेवामा लागि परेपछि त्यसको उच्च ओहदाको अपेक्षा राख्नु स्वभाविक विषय हो । पोखरेल जुनसुकै बाटोबाट उदाउने कोशिश गरुन्, त्यसलाई उनको चलाखीपन भन्न सुहाउला । त्यति स्वार्थ उनले राख्न सक्छन् । उनको पनि कुनै लक्ष्य हुन सक्छ । त्यो स्वार्थ र महत्वकांक्षाको लोभले उनले अनेक प्रयोग गरेका हुन सक्छन् । तर, फौजी संगठनमा नैतिक मानमा चोट लाग्यो भने त्यसले चेन अफ कमान्डलाई घाटा गर्छ भन्ने यो पाठ, खनालले उनलाई आइजी नियुक्ति गर्दा रमेश खरेलले दिएको राजीनामाबाट पढ्नुपर्ने थियो, त्यो अध्यायको अध्ययन गर्न किन सकेनन् ? यसको मोरल उत्तरबाट भाग्न पाउँदैनन् ।

आफ्ना सिपाहीले बुट पड्काएर पाँच औंला फर्काएर हान्ने सलाम कुनै आमुख व्यक्तिलाई होइन । प्रहरी नभएको भए, डाक्टर बन्न सक्ने खनालका लागि होइन । त्यो फूलीका लागि हो, त्यो टोपीका लागि हो । त्यो सलाम अथवा स्यालुटको मान भनेको आफ्ना अफिसरको नैतिकता जोगाउन सक्ने, हिम्मत राख्नसक्ने कसी बनाउन सक्नुपथ्र्यो । खनाल यस प्रकरणमा चुकेका छन् ।

अब करिब ७/८ महिनाको अवधि उनले नेतृत्व कायम गर्नेछन् । उनलाई लाग्दो हो, यति अवधिमा किन विवादीत बन्ने, राजनीतिक दलसँग सम्बन्ध कायम राखे भोलीका दिनमा कुनै विशेष नियुक्ति पनि पाइएला । तर, इतिहास बनाउनेहरू मात्र सम्झनामा हुन्छन् । आफ्नो कार्यकाल आइपुग्नुअघि सम्म बदनाम भएको प्रहरी संगठनलाई इमानको लयमा हिँड्न, राजनीतिक दल विशेषको स्वार्थ होइन संगठनको स्वार्थको कसीमा बाँध्न सक्ने मौका खनालसँग थियो तर उनी यसमा पनि कतै चुकिरहेको भेटिए । उनले इतिहास बनाउने बाटोलाई समात्नु भन्दा वर्तमानमा टिक्ने आचरणलाई निरन्तरता दिए, यसको परिणाम भोलीको संगठनमा देखिनेछ, पोखरेल प्रहरी प्रमूख नियुक्त भएको दिनदेखि । आखिर अफ्रिकन गीतको धुनमा लोकलय कहाँ बज्छ र ?

प्रतिक्रिया
सम्बन्धित