७ कार्तिक २०८३, शनिबार

अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारीबाटै सुरक्षा जोखिम

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ वैशाख । नेपाल एयरलायन्सका लोडर रञ्जितकुमार यादव ३० तोला तस्करीको सुनसहित २२ वैशाखमा पक्राउ परे । विदेशबाट आउनेले ल्याएको सुन लिएर उनले पास गराइदिएका थिए ।

विमानस्थलबाट बाहिरिँदा उनीमाथि चेकजाँच गर्नुपर्ने सुरक्षा कार्यविधि छ । तर, जाँच नहुने बाटो थाहा पाएका उनले लामो समयदेखि त्यसरी नै सुन पास गर्दै आएका थिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

विमानस्थलभित्रै कार्यरत विभिन्न निकायका कर्मचारी तथा पसल सञ्चालकहरूबाट सुरक्षा जोखिम बढ्दै गएको प्रहरी अधिकारीहरू बताउँछन् । कर्मचारीलाई नै प्रयोग गरेर तस्करी हुन थालेका छन् ।

विमानस्थलको व्यवस्थापन अस्तव्यस्त हुँदा तस्करलाई सहज हुँदै गएको र यसले राष्ट्रिय सुरक्षामै जोखिम हुने सक्ने चिन्ता सुरक्षा अधिकारीहरूको छ । त्यसैले केही दिनयता विमानस्थल प्रहरीले कर्मचारीमाथि कडाइपूर्वक जाँच गर्न सुरु गरेको छ ।

‘सबै कर्मचारीलाई मेटल डिटेक्टरले चेकिङ गर्छाैँ,’ त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख एसएसपी सन्दीप भण्डारी भन्छन्, ‘कर्मचारीलाई युनिफर्म अनिवार्य गरिएको छ भने ड्युटी अवधिबाहेकको समयमा भित्र प्रवेश गर्न रोकिएको छ ।’ तर, कडाइले मात्र समस्या समाधान नहुने बरु विमानस्थलले सुरक्षाको पुनर्संरचना गर्न आवश्यक रहेको विज्ञहरू बताउँछन् ।

पसलबाटै अवैध कारोबार

विमानस्थलको स्टेरलाइजर जोनमा रहेको कफी पसलकै सञ्चालक सुवास श्रेष्ठ डलरको अवैध कारोबारमा गत महिना पक्राउ परेपछि पसल बन्द भएको छ । उनले आठ वर्षदेखि पसल चलाउँदै आएका थिए । विमानस्थलभित्र करिब दुई दर्जन पसल तथा रेस्टुरेन्ट सञ्चालित छन् ।

पसल सञ्चालक र कर्मचारीलाई विमानस्थल कार्यालयले विशेष पास दिन्छ । तर, उनीहरूमाथि कडा जाँच नहुँदा अवैध कारोबार मौलाएको छ ।

‘एउटा पसलको वर्षको भाडामा एक करोडभन्दा धेरै छ,’ एक प्रहरी अधिकारी भन्छन्, ‘व्यापारबाट त्यो पैसा उठ्छ जस्तो देखिन्न, पसलको आवरणमा अन्य काम हुन्छ भन्ने सुनिन्छ ।’ विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री विमानस्थलभित्र काम गर्ने कर्मचारीको जाँच गर्ने दायित्व प्रहरीको भएको बताउँछन् ।