शुक्रबार, १० जेठ २०७६
DainikNepal.com
शुक्रबार, १० जेठ २०७६

काँग्रेस नेतालाई कारवाहीको माग गर्दै गृहमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाइयो

दैनिक नेपाल २०७६ वैशाख ३० गते १५:३१

काठमाडाैँ,  ३० बैशाख । इन्जिनियरलाई ज्यान मार्ने धम्की दिने वडा सदस्यलाई कारबाहीको माग गर्दै इन्जिनियर एशोसिएसन ३ नं. प्रदेश कार्यकारिणी समितिले गृहमन्त्री समक्ष ज्ञापनपत्र बुझाएको छ।

जिल्ला समन्वय समिति सदस्यसमेत रहेका नेपाली काँग्रेस अछामका सहसचिव एवम् प्रवक्ता बेदप्रकाश तिमिल्सिनालाई गिरफ्तार गरी तत्काल कारबाहीको माग गर्दै समितिले सोमबार गृहमन्त्री रामबहादुर थापा समक्ष ज्ञापन पत्र बुझाएको हो।

झोलुंगे पुल उपभोक्ता समितिसँग गरिएको सम्झौतासँग सम्बन्धित विषयलाई लिएर सदस्य तिमिल्सिनाले अछामको पूर्वाधार विकास कार्यालय साँफेबगरमा कार्यरत निमित्त प्रमुख इन्जिनियर जंग बहादुर थापालाई काट्ने, मार्ने धम्की दिँदै अश्लील शब्दले गाली गरेका थिए।

उनले आफूले भने बमोजिम नभएपछि इन्जिनियरलाई तथानाम गालीगलौज गरेको अडियो अहिले पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

ज्ञापन पत्र बुझ्दै गृहमन्त्री थापाले अछाममा इन्जिनियरमाथि ज्यान मार्ने धम्की आएको विषयमा आफूले निर्देशन समेत दिइसकेको जानकारी गराए । यस विषयमा त्यहाँका सांसदले पनि आफूलाई जानकारी गराएकाे बताउँदै गृहमन्त्री थापाले थप अनुसन्धान गर्ने काम भइरहेको बताए । उनले सरकार नागरिकको जीउधनको सुुरक्षाका लागि सदा संवेदनशील र प्रतिबद्ध रहेको जनाए ।

ज्यान लिने धम्की दिएका तिमिल्सिनालाई तत्काल गिरफ्तार गरी कानुनी कारबाही नगरे इन्जिनियर लगायत प्राविधिक कर्मचारीहरूको सुरक्षाका लागि एसोसिएसन गम्भीर कदम चाल्न बाध्य हुने समितका सभापित नन्दलाल बन्जाडेले बताए ।

यस्तो छ गृहमन्त्री समक्ष बुझाएको ज्ञापनपत्रको पूर्ण अंश

‘सामाजिक सञ्जालमा भाइरल भएको अडियो तथा प्राप्त सूचना बमोजिम अछाम जिल्ला पञ्चदेवल बिनायक नगरपालिका वडा नं. १ का कथित वडा सदस्य बेद प्रकाश तिमिल्सिनाले सोही जिल्ला स्थित सुदूरपश्चिम प्रदेश अन्तर्गत पूर्वाधार विकास कार्यालय अछामका कार्यालय प्रमुख इ. जंग बहादुर थापा सदस्यता नं. १३३५२ लाई झोलुंगे पुल उपभोक्ता समितिसँग गरिएको सम्झौतासँग सम्बन्धित विषयमा ज्यान मार्ने धम्की दिएको बारेमा यस एशोसिएसनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।’

‘फिल्डको काममा खटिएका प्राविधिक कर्मचारीहरूलाई कुटपिट, धम्की र अभद्र व्यवहार यसअघि पनि सिन्धुली, सिन्धुपाल्चोक लगायतका जिल्लाहरूमा भएको र यस एसोसिएसनले घटनाको तत्काल नै सम्बन्धित निकायलाई ध्यानाकर्षण समेत गराइएको सन्दर्भमा पटक पटक यस्ता घटना दोहोरिएको हुँदा हामी नेपाल सरकारको ध्यानाकर्षण गर्न चाहन्छौं।

लोकतान्त्रिक शासन व्यवस्थामा समेत यस प्रकारको असभ्य, जघन्य र अक्षम्य अपराध प्रति राज्य निरीह देखिनु किमार्थ शोभनीय हुँदैन। त्यसैले नेपाल सरकारले निज वेद प्रकाश तिमिल्सिनालाई तत्काल गिरफ्तार गरी कानुनी कारबाहीही गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं। अन्यथा इन्जिनियर लगायतका प्राविधिक कर्मचारीहरूको सुरक्षाका सम्बन्धमा यस एसोसिएसन गम्भीर कदम चाल्न बाध्य हुने व्यहोरा समेत यसै ज्ञापन पत्र मार्फत जानकारी गर्दछौं।’

यो पनि पढ्नुहाेस् 

-काँग्रेस अछामका प्रवक्ता तिमिल्सिनाले मच्चाए यस्तो काण्ड

 

प्रतिक्रिया
सम्बन्धित