काठमाडौं, २८ वैशाख । नेपालमा हाल ६ हजार पाँच सय १८ भुटानी शरणार्थी छन् । उनीहरू झापा र मोरङका शिविरमा बस्दै आएका छन् । १९ जना भने शिविरबाहिर बस्दै आएको गृह मन्त्रालयको तथ्यांक छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
नेपालबाट एक लाख १३ हजार पाँच सय ४८ भुटानी शरणार्थी विभिन्न देशमा पुनस्र्थापन भइसकेका छन् । सबैभन्दा धेरै अमेरिकामा ९६ हजार एक सय ६७ पुगेका छन् ।
त्यस्तै, अस्ट्रेलियामा सात हजार तीन सय १५, क्यानडामा ६ हजार आठ सय ३८, न्युजिल्यान्डमा एक हजार ९६, डेनमार्कमा आठ सय ७५, नर्वेमा पाँच सय ७०, बेलायतमा तीन सय ५८ तथा नेदरल्यान्ड्समा तीन सय २९ जनाको पुनस्र्थापना भएको छ । अहिले सबै देशले पुनस्र्थापना कार्यक्रम बन्द गरिसकेका छन् ।
अस्ट्रेलियाले आफूले लगिसकेका परिवारका व्यक्ति नेपालमै भए जान छुट दिएको छ, जसअनुसार हालसालै दुई सय ९१ भुटानी शरणार्थी अस्ट्रेलिया पुगेका हुन् ।
पुनस्थापना बन्द भएपछि बाँकी शरणार्थीलाई के गर्ने भन्ने चिन्ता गृह मन्त्रालयको छ । सरकारले त बाँकी भुटानी शरणार्थीलाई भुटान नै फर्काउने प्रयास गरिरहेको छ ।
गत ३ मंसिरको मन्त्रिपरिषद्को निर्णयले भुटानी शरणार्थीको स्वदेश फिर्तीका लागि भुटान सरकारसमक्ष अनुरोध गर्ने प्रस्ताव पास गरेको थियो । तर, भुटानले फिर्ताका लागि चासो नदिएको परराष्ट्र मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
यस्तै, शिविरमा उनीहरूको समस्या समाधानका लागि कार्ययोजना बनाउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको थियो । विश्व खाद्य कार्यक्रमले उपलब्ध गराउँदै आएको खाद्यान्न सहयोग पनि बन्द भएपछि शरणार्थीका लागि खाद्यान्न समस्या छ ।
अहिले उनीहरूलाई चामल किन्न केही सहयोग उपलब्ध गराउने तयारी भइसकेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बाँकी भुटानी शरणार्थीलाई फिर्ता हुने वातावरण बनाउन भुटान सरकारलाई आग्रह गर्दै आएका छन् ।















प्रतिक्रिया