७ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्रीले यी प्रश्नको जवाफ दिन पाएनन्

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ वैशाख । प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधबीच संघीय संसद्बाट सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम मंगलबारको प्रतिनिधिसभा र राष्ट्रिय सभाका छुट्टाछुट्टै बैठकबाट पारित भएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

प्रतिनिधिसभामा तीन दिन र राष्ट्रिय सभामा दुई दिन भएको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ प्रधानमन्त्री केपी ओलीले दिएपछि नीति तथा कार्यक्रम पारित भएको हो । विपक्षी दलका सांसदले राखेको संशोधन प्रस्ताव बहुमतबाट अस्वीकृत भएको छ ।

प्रेम सुवाल : १२ हजार अस्थायी–करार शिक्षक आन्दोलनरत छन् । अयोग्य भए किन भर्ना गरियो ? कुन–कुन देशको राष्ट्रपतिले मेरो सरकार भन्ने चलन छ ?

दिव्यमणिराज भण्डारी : प्रकृतिको अनुकूलले आलु र धानको उत्पादन बढ्यो, जस प्रधानमन्त्रीले लिनुभयो । व्यवस्थापनको कमी–कमजोरी र भिजनको कमजोरीले परियोजना सोचेअनुसार नभए यो सरकारले लिन्छ कि लिन्न ?

पुष्पा भुसाल गौतम : बलात्कारपछि हत्या गरिएका निर्मला पन्तका हत्याका अपराधी अझै पनि जेल जान बाँकी छ । त्यो कहिले जेल जाने ?

सुजाता परियार : दलित समुदाय र पिछडिएको समुदायको सम्बोधन गर्ने नीति तथा कार्यक्रम आएन । सरकारले कस्तो समृद्धि चाहेको हो ?

गगन थापा : राष्ट्रपतिको सरकारको प्रधानमन्त्रीले वाइडबडी खरिद, बालुवाटार प्रकरणमा दोषीलाई कारबाही गर्न अभूतपूर्व काम गरेको भन्नुभयो । छानबिन गर्ने निकाय एकातर्फ फैसला दिने प्रधानमन्त्री ?

डिला संग्रौला पन्त : भ्रष्टाचारमा यो सरकार चुर्लुम्म डुबेको छ । भ्रष्टाचार रोक्नेभन्दा गर्नेलाई संरक्षण गर्दै हुनुहुन्छ । भ्रष्टाचारको जगमा आर्थिक समृद्धि कहाँ हुन्छ ?

पार्वती डिसी चौधरी : निर्मला पन्तको हत्यारा कहिले पत्ता लाग्छ ? एनसेलको कर कहिले उठाउने ?

राजेन्द्रकुमार केसी : ३३ किलो सुन कहाँ छ ?

सञ्जयकुमार गौतम : आपत्कालीन हवाईजहाज अवतरण गर्ने राजमार्ग बनाउने कुरा आयो । तर, सडक व्यवस्थित बनाउँदा राम्रै हुन्थ्यो कि ?

देवेन्द्रराज कँडेल : भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्नुभयो । मार्सी चामलदेखि बालुवाटारमा बिहान–बेलुका आउनेको लिस्ट जारी गरियो भने भूमाफिया छन् कि को छन् थाहा हुन्छ ।

शरत्सिंह भण्डारी : संविधान संशोधनको विषय उठायौँ । बोल्ने एउटा लेख्ने अर्को किन गर्नुभयो ?

अनिलकुमार झा : तुइन विस्थापित गर्न पटक–पटक जोड गर्नेले घाट–घाटमा बनेको पुल बजेट नभएर रोकिएको छ । कहिले बनाउने ?

उमा रेग्मी : राष्ट्रपति महिला उत्थान कार्यक्रम, कस्ता महिलालाई कसरी उत्थान गर्ने कार्यक्रम हो ?

मीनेन्द्र रिजाल : राष्ट्रपतिले मेरो सरकार भन्नुभयो । संविधानमा राष्ट्रपतिको मातहत सरकार राखेको छैन । संविधानले पूर्ण प्रेस स्वतन्त्रता भन्छ, सरकार नियामक निकाय बनाउँछु भन्छ । तपाईंको बोली जनतालाई ख्यालठट्टा लाग्न थालेको छ । यो व्यवधान कहिले अन्त्य हुन्छ ?

ज्ञानेन्द्रबहादुर कार्की : गत साल पाँच वर्षभित्र कुनै नेपाली विदेश जानुपर्दैन भन्ने कार्यक्रम थियो । एक वर्षमा कतिले रोजगारी पाए ?

मीनबहादुर विश्वकर्मा : कोसीमा स्टिमर के देख्नुभएको थियो, बारम्बार पानीजहाजको गीत गाउनुभयो । त्यो स्थानीयले ०६१ देखि नै ल्याएका हुन् । घरघरमा पाइपबाट ग्यास कहिले आउँछ ?

महेन्द्र राय यादव : तराईमा जनसंख्याका आधारमा बजेट जान्छ कि जाँदैन ? फास्ट ट्र्याक कहिले बनिसक्छ ?