काठमाडौं, २५ वैशाख । नेपाल वायुसेवा निगममा चरम आर्थिक अनियमितता र अनुशासनहीनता रहेको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
खासगरी निगमले पाइलट नियुक्तिमा अनियमितता गरेको सतर्कता केन्द्रले तयार पारेको नेपाल वायुसेवा निगममा भएको अनियमिततासम्बन्धी अध्ययन प्रतिवेदन, २०७५ मा औँल्याइएको छ । पाइलटको तालिम र चालकदलको आवासमा समेत निगम पदाधिकारीले चलखेल गरेका छन् ।
निगमले नियमविपरीत वाई–१२ ई जहाज उडाउन निजी वायुसेवा कम्पनीमा कार्यरत पाइलट फिजोनाथ नेपाली र केबी लिम्बूलाई १३ लाख रुपैयाँसम्म मासिक तलब दिने गरी नियुक्त गरेको छ । नेपाली मकालु एयरका अध्यक्ष हुन् ।
१ फागुन ०७५ मा सात लाख रुपैयाँ मासिक तलब तथा अन्य सुविधा दिने गरी नेपालीसँग र १८ माघ ०७५ मा लिम्बूसँग सम्झौता गरिएको थियो । उनीहरूले ‘इन्स्ट्रक्टर पाइलट’को ‘लाइसेन्स इन्डोर्समेन्ट’ भएपछि मासिक १३ लाख रुपैयाँ पाउने सम्झौतामा उल्लेख छ ।
दुवैको नियुक्ति सञ्चालक समितिबाट अनुमोदन भएको छैन, तर कार्यकारी अध्यक्षले टिप्पणी सदर भने गरेका थिए । निगमको विनियमावलीमा अति आवश्यक परेको अवस्थामा तेस्रो तहसम्मको पदमा कार्यकारी प्रमुखको स्वीकृतिमा र चौथो तह वा सोभन्दा माथिको तहको पदमा सञ्चालक समितिको पूर्वस्वीकृति लिएर मात्र करारमा कर्मचारी नियुक्त गर्न सक्ने व्यवस्था छ ।
तर, यी दुवै पाइलटका हकमा कुनै कानुनी प्रक्रिया तथा मापदण्ड पूरा नगरी सोझै निवेदनका भरमा कार्यकारी अध्यक्षको तोकादेशअनुसार सम्झौता गरिएको सर्तकताको प्रतिवेदनमा उल्लेख छ ।
यस्तो नियुक्ति नियमसंगत नदेखिएको ठहर छानबिन प्रतिवेदनको छ । निगमका कर्मचारी अन्य कुनै कम्पनी स्थापना, सञ्चालन तथा व्यवसायमा संलग्न हुनुहुँदैन । यो नियमलाई पनि मिचेर निजी एयरलाइन्सका सञ्चालकलाई नै निगममा नियुक्ति दिइएको छ ।
सतर्कता केन्द्रले नियमविपरीत करारमा नियुक्ति गर्ने र हुनेसमेतलाई कानुनबमोजिम कारबाही गर्न तथा पाइलटलाई दिइएको रकमसमेत असुलउपर गर्न सिफारिस गरेको छ ।















प्रतिक्रिया