शुक्रबार, १० जेठ २०७६
DainikNepal.com
शुक्रबार, १० जेठ २०७६

नेकपाको आगामी एकता महाधिवेशन : कस्तो होला ‘महान बहस’ ?

निर्मल भट्टराई २०७६ वैशाख २३ गते ६:२१

निर्मल भट्टराई

देशको सबभन्दा ठूलो र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को एकता तृणमूल तहमा पुग्दै गर्दा पार्टीको भावी सैद्धान्तिक र सांगठानिक रुपरेखाको आंकलन हुन थालेको देखिन्छ । २०१औं माक्र्स जयन्तीको अवसरमा नकपाका अध्यक्ष पुष्पकमल दाहालले सबै पार्टी पंक्तिलाई पार्टी निर्माणको लागि जिल्ला अधिवेशनहरुमा महान बहस(ग्रेट डिवेट) सञ्चालन गर्न आव्हान गर्नुभएको छ ।

संसारको कम्युनिष्ट आन्दोलनको ईतिहासलाई हेर्दा दुई पटक ‘महान बहस’को अभ्यास भएको पाईन्छ । चिनियाँ कम्युनिष्ट पार्टी र तत्कालीन सोभियत कम्युनिष्ट पार्टीविचमा कम्युनिष्ट अन्तराष्टियमा भएको बहस र चिनियाँ सांस्किृतिक क्रान्तिपछि चीनमा भएको राष्टव्यापी बहसलाई महान बहस भनिएको छ । चिनियाँ र सोभियत कम्युनिष्ट पार्टीविच भएको बहसले तत्कालीन सोभियत सत्तालाई ‘संशोधनवादी र सामाजिक साम्राज्यवादी’ नामाकरण गर्न र चिनियाँ कम्युनिष्ट आन्दोलनलाई ‘क्रान्तिकारी’ करार गर्ने बहस बन्यो । यो बहस अन्य विषयका अतिरिक्त माओ र खु्रस्चेवको टकरावको रुपमा पनि लिन सकिन्छ ।

माओको निधन , सांस्कृतिक क्रान्तिको समाप्ति र ग्याङ्ग अफ फोरको पतनपछि चिनियाँ कम्युनिष्ट पार्टीको अध्यक्ष बनेका ह्वाको फङ लगायत केही नेताले पार्टीमा “माओले बनाएका जुनसुकै नीति, गरेका जुनसुकै निर्णय र निर्देशन मान्ने” भन्ने प्रस्ताव गरेका थिए । तर यो विषयमा ठूलो बहस भयो । त्यही समय ग्वाङ्गमिङ्ग दैनिकमा एउटा आलेख प्रकाशित भएको थियो । उक्त आलेखमा भनिएको थियो–‘व्यवहार नै सिद्धान्तको सत्यता प्रमाणित गर्ने एकमात्र मापदण्ड हो ।’ निसन्देह, चिनियाँ कम्युनिष्ट पार्टीभित्र त्यतिवेला चलेको बहसले पार्टीलाई सही निर्णयमा पुग्न ठूलो मद्दत गरेको थियो । तर केही अपवाद बाहेक नेपाली कम्युनिष्ट आन्दोलनमा चलेका यस्ता बहसले हानीमात्र पुर्याएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकीकरण, निकट भविष्यमा हुने एकताको महाधिवेशन र त्यस अघि सम्पन्न हुने जिल्ला , प्रदेशका अधिवेशनलाई लक्षित गरेर पार्टी अध्यक्ष प्रचण्डले ‘महान बहस’को प्रसंङ्ग कोट्याउनु भएको छ । पार्टी निर्माणमा बहस गर्ने भन्नेवित्तिकै सिद्धान्त र संगठनबारे बहस बुझिन्छ । अध्यक्ष प्रचण्डको मनशायमा प्रश्न गर्ने ठाउँ नभए पनि बहसको घेरा साँघुरो बनाउँदा नै बढी उपयुक्त हुन्छ ।

लेखक

किनभने पार्टी एकता हुँदा माक्र्सवाद, लेनीनवाद र जनताको जनवाद (सारको दृष्टिले हेर्दा यो जनताको बहुदलीय जनवाद नै हो ) मा सहमति भएको हो । यी व्यवहारतः पुष्टि भईसकेका सार्वभौमिक सच्चाई हुन् । मिहीन पीठोलाई फेरि कति पटक पिसिरहने ? के प्राप्ति हेतु पिस्ने ?बरु हाल नेकपामा ध्रुविकृत भएका जनताको बहुदलीय जनवादी स्कुलिङ्ग र माओवादी स्कुलिङ्गका आम नेता कार्यकर्तालाई यी सार्वभौमिक सच्चाईको बारे विहङ्गम जानकारी दिने र आत्मासात गराउने अभियान सञ्चालन हुनु आवश्यक छ ।

जहाँसम्म संगठन निर्माणको सवाल छ, एकीकृत भएका तत्कालीन एमाले र माओवादी केन्द्रले लेनीनवादी संगठनात्मक सिद्धान्तको वकालत गरे पनि व्यवहारमा तत्कालीन एमालेले बटम–अप शैलीको अवलम्वन गरेको थियो भने तत्कालीन माओवादी केन्द्रले टप–डाउन शैलीको अवलम्वन गरेको थियो । अनुभवले देखाएको छ, तत्कालीन माओवादी केन्द्रले अपनाएको नेता तोक्दै तल पठाउने तरिकाभन्दा तत्कालीन एमालेले अपनाएको तलबाट नेता चुन्दै माथि पठाउने तरिका बढी उपयुक्त छ । हो, यसमा भित्रिएका केही गैह्र कम्युनिष्ट आचरण र तौर तरिकालाई चाहिँ निस्तेज र न्यूनीकरण गर्नु आवश्यक छ । दिनभरि सर्वहारा, श्रमजीवी र गरिबको पक्षमा चरा खसाउने भाषण गर्ने र वेलुका दलाल पूँजपतिको पोल्टामा निधाउने प्रवृत्तिलाई विना मोलाहिजा खारेज गर्नु आवश्यक छ ।

हुन त साना मुखले ठूलो कुरा गर्न सुहाउदैन भनिएला, तर हेक्का होस् साना मुख पनि अहिले बोल्न डराउदैनन् । नडराइ यति भनौं, अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र महान बहसभन्दा कैयन गुणा बढी नेता कार्यकर्ताको सही व्यवस्थापन र निर्मलीकरणको आवश्यकता छ ।

प्रतिक्रिया
सम्बन्धित