७ कार्तिक २०८३, शनिबार

सेनाको प्रमाणपत्र छानबिनमा

5.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ वैशख । नेपाली सेनाले सैन्य कर्मचारीको शैक्षिक प्रमाणपत्र छानबिन थालेको छ। अहिले परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीमा जवान र अधिकृतको एसएलसी/एसईई प्रमाणपत्र छानबिन भइरहेको छ।

यसपछि सैन्य कर्मचारीको एसईईभन्दा माथिल्लो तहको शैक्षिक प्रमाणपत्र छानबिन गर्ने तयारी जंगीअड्डाको छ। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

छानबिनका लागि जंगीअड्डाबाट प्रमाणपत्र आइरहेको पनिकाले जनाएको छ। पनिकाले एसईई (यसअघि एसएलसी) को प्रमाणपत्र मात्र प्रमाणीकरण गर्छ। जंगीअड्डाबाट प्रमाणपत्र प्रमाणीकरणका लागि अनुरोध पठाएको यो पहिलोपटक हो। परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीका अनुसार विशेष छानबिनका लागि भन्दै सेनाले अनुरोधपत्रसहित प्रमाणपत्र पठाइरहेको छ। पछिल्लो समय एकैपटकमा सयौं थान प्रमाणपत्र पनिकामा आइरहेको छ।

सेनाको पत्रमा जंगी अड्डाको लोगो र छाप पनि हुन्छ। तर फरकफरक गुल्म, गण र टुकडीमा कार्यरत सैनिकको प्रमाणपत्र छुट्टाछुट्टै आउँछन्। अधिकारीका अनुसार कतिपय भने व्यक्तिगत रूपमै आउने गरेका छन्। उनले भने, ‘कहिले जवान आफैं आउँछन्। कहिले एकैजनाले पनि दर्जनौं प्रमाणपत्र ल्याउने गरेका छन्।’

‘प्रमाणपत्र हेर्दा त सेनाको हो कि होइन थाहा पाउँदैनौं। तर एकै व्यक्तिले ठूलो फाइल ल्याएपछि कसको हो भनेर सोध्दा उनीहरूको हो भन्ने जानकारी आउँछ’, परीक्षा सहनियन्त्रक भवराज कोइरालाले भने, ‘कतिपयले प्रमाणपत्रकै कारण तलब रोकिएको, बढुवाको फाराम भर्न नपाएको लगायत गुनासा लिएर छिटो प्रमाणीकरण गरिदिनुपर्‍यो भन्दै अनुरोध गर्छन्। तर ल्याइएका प्रमाणपत्र कुन दर्जाका कर्मचारीको हो भन्ने जानकारीचाहिँ हुँदैन।’

छानबिनका लागि आउने प्रमाणपत्रको संख्या गत साउनदेखि बढेको छ। त्यसअघि नगण्य मात्रामा कुनै व्यक्ति मात्र छानबिनका लागि प्रमाणपत्र लिएर आउँथे। ‘एक वर्षदेखि भने संस्थागत रुपमै सम्बोधन गरेर आउन थालेको छ’, प्रमाणपत्र प्रमाणीकरण शाखाका टीका कुँवरले भने, ‘सेनाकै प्रमाणपत्र प्रमाणीकरणको चाप बढेपछि बिहानदेखि रात नपर्दासम्म कार्यालयमा बसेर काम गरेका छौं।’ सेवा प्रवेश गर्दा, बढुवा प्रयोजनका लागि पेस भएका र शान्ति सेनामा विभिन्न मुलुकमा जाने क्रममा पेस भएका प्रमाणपत्रमा विशेष निगरानी हुने गरेको छ।