लण्डन । बेलायतस्थित केन्टको मेडस्टोनमा नेपाली मूलका दिनेश खड्का काउन्सिलर निर्वाचित भएका छन् ।
बिहीवार सम्पन्न स्थानीय निर्वाचनमा लिबेरल डेमोक्रयाट पार्टीका उम्मेदवार बनेका खड्का भारी मतअन्तरले विजयी बनेका हुन् ।
मेडस्टोनको हाई स्ट्रिट वडाको काउन्सिलरको लागि खड्काले ८ सय ५२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कञ्जरभेटिभ पार्टीका उम्मेदवारले ३६० मत मात्र पाएका थिए ।
खड्का निर्वाचित भएको क्षेत्रमा विगत २५ वर्षभन्दा लामो समयदेखि उनकै दल लिबेरल डेमोक्रयाटले नै जित्दै आएको थियो ।
निर्वाचित भएलगत्तै खड्काले विगत २४ वर्षसम्म केन्टमा काउन्सिलर रहेका नेतालाई परिवर्तन गर्नु आफ्ना लागि अवसर र चुनौती दुबै रहेको बताए ।
‘मलाई विश्वास गरेर यो जिम्मेवारी दिने सबै स्थानीयाहरूको भावनाको सम्बोधन हुने गरी काम गर्नेछु’, उनले भनेका छन् ।
सन् २००१ मा बेलायत आएका खड्का नेपालमा दाङ जिल्लाका बासिन्दा हुन् ।
एक बेलायती फुड कम्पनीमा टेक्निकल मेनेजरको रुपमा कार्यरत खड्काले फुड साइन्समा विद्याबारिधि गरिरहेका छन् ।
सन् २०१० मा लिबेरल डेमोक्रयाट पार्टीको सदस्यता लिएपछि खड्का स्थानीय राजनीतिमा क्रियाशील रहँदै आएका थिए ।
















प्रतिक्रिया