सोमबार, २ भदौ २०७६
DainikNepal.com
सोमबार, २ भदौ २०७६

पत्रकारिताको हत्या !

विनोद ढकाल २०७६ वैशाख २० गते ९:५४

-विनोद ढकाल

सरकारले ल्याएका विभिन्न ऐन र नियमले नागरिकलाई अभिव्यक्ति र अधिकार स्वतन्त्रतामा संकुचित बनाउन थालिएको गुनासोका सन्दर्भमा एउटा कार्यक्रममा मेरा मित्रले भनेका थिए– हामी कति स्वतन्त्र छौं ? हामी पत्रकारिता गर्छौं तर मन्त्रीका प्रेस सल्लाहकार नबनी गर्न सक्तैनौं । केही अपवाद बाहेक ।

उनको अपवादमा उभिएको एउटा अपवादचाहिँ म पनि हुँ । मसँग पत्रकारिताबाहेक, लेखन बाहेक न कुनै संघ संगठनको सदस्यता छ न कुनै आमुख व्यक्तिको सल्लाहकारको नियुक्ति । म ति अपवादहरू भित्र पनि पर्छु जो कुनै अन्तर्राष्ट्रिय कुटनीतिक नियोगका लागि लेख्दिन । म त्यो अपवादमा पनि पर्छु– जो नेपालमा ठूलो मिडिया चलाउँदै विदेशी मिडियामा रिपोर्टिङ पनि गर्दिन । म त्यो पनि अपवादको एउटा रोचक पात्र हुँ जो सानो भन्दा सानो मिडियाको मालिक होइन, श्रमजीवि नै हो । आजभोली सबैका खल्तीमा मिडिया छन्, डिजिटल ।

जब तत्कालिन शाही शासनका मुख्य व्यक्ति पूर्वराजा ज्ञानेन्द्र दरबार छाड्दै थिए, त्यहि कुर्सीमा बस्न हानाथाप गर्यौं । हाम्रो स्वतन्त्रताको कसी गणतन्त्रमा त्यहाँदेखि दुनियाँसामु एउटा छविका रूपमा प्रतिस्थापित भयो । यो तितो भए पनि छाड्न सकिएन, पेशा र स्वतन्त्रताको आवाज बुलन्द बनाउने काम

यत्ति बयान दिएपछि म विश्व प्रेस स्वतन्त्रताका दिन, नेपाली प्रेसको कुरा गर्न मनासिब ठान्छु । यस पेशालाई जीन्दगीभरी स्वतन्त्रताका पक्षमा बोलेर, लेखेर बसेकाहरूलाई हार्दिक शुभकामना छ । र, हामी पत्रकारिताको परिचयपत्र बोक्नेलाई कर्मशील बन्ने दिन अझ सशक्त बनोस् भन्ने अपेक्षा ।

हामी पत्रकार किन बन्यौं ? यस प्रश्नमा घोत्लिन र विश्लेषणमा छिर्नु अघि मैले बुझ्न सकेको प्रेस स्वतन्त्रतामाथि बोल्न मन लाग्छ । कहिँ पढेको थिएँ– पत्रकारिता, कुनै आमुखको चाहनाको प्रकाशन हुनै सक्तैन, यो आम मानिसको प्रकाशन हुनुपर्छ ।

हो, ०६३ का बेला यो आम मानिसको प्रकाशन बन्यो, किनभने हामीलाई स्वतन्त्रता चाहिएको थियो । त्यो राज्यको स्वतन्त्रताभित्र प्रेस स्वतन्त्रताको स्वार्थ पनि लुकेको थियो । हामी यो स्वतन्त्रतामा कति रमायौं ? कति उत्तेजित भयौं ? जब तत्कालिन शाही शासनका मुख्य व्यक्ति पूर्वराजा ज्ञानेन्द्र दरबार छाड्दै थिए, त्यहि कुर्सीमा बस्न हानाथाप गर्यौं । हाम्रो स्वतन्त्रताको कसी गणतन्त्रमा त्यहाँदेखि दुनियाँसामु एउटा छविका रूपमा प्रतिस्थापित भयो । यो तितो भए पनि छाड्न सकिएन, पेशा र स्वतन्त्रताको आवाज बुलन्द बनाउने काम ।

तर लोकतान्त्रिक आन्दोलन यता, दलगत विभाजनभित्र पत्रकारिता पनि यति विभाजित भयो की यो आमुखको प्रकाशन ज्यादा र आम मानिसको कम देखिन थाल्यो । कहिलेकाहीँ डर लाग्छ– कुनै मन्त्री, सांसद, मेयर अथवा कुनै पदीय व्यक्तिको प्रेस सल्लाहकार बनिएन भने पत्रकारको न्युनतम योग्यता नबन्ला भन्ने ।

जुनसुकै पेसामा आवद्ध रहेको आमुख मान्छेले जब कोही पत्रकार भन्ने परिचय पाउँछ । उसले भन्छ– म पनि पत्रकार थिएँ । कुनै राम्रो अवसर नपाएपछि राजनीति, राजनीतिमा पनि कमजोर भएपछि अँगाल्ने पेशाका रूपमा व्याख्या हुन थालेको छ, पत्रकारिता । आखिर अन्तिम पेशा पत्रकारिता नै किन रोज्छ मान्छे, पहिलो किन बनाउन चहाँदैन ? यो प्रश्नले निरन्तर घोचिरहन्छ मलाई, पहिलो र अहिलेसम्म पनि जारी राखेको पेशामा रहँदा ।

हामी स्वतन्त्र प्रेसको हुंकारका लागि लडिरहँदा कतिले हेक्का राखेका छौं कि कुनै पनि आम मान्छेको स्वतन्त्रताको अनुभूति प्रेस स्वतन्त्रता छ की छैन भन्ने विषयले निक्र्यौल गर्छ भन्ने । अब आफैंलाई सोधौं प्रेस स्वतन्त्रता भनेको के हो ? हामी स्वतन्त्र छौं ?

कुनै व्यवस्था परिवर्तन भएपछि प्रकाशन, प्रशारण गर्न पाउने अधिकार, लेख्न पाउने अधिकार मात्रै प्रेस स्वतन्त्रता हो ? हामी यहि स्वतन्त्रताका नाममा सत्ता वा प्रतिपक्षको भजनगीत गाउँछौं भने त्यहाँ कहाँ स्वतन्त्र पाउँछौं आफूलाई ? स्वतन्त्र छु भन्ने आत्मरती होला तर दलगत स्वार्थको स्टेरिङले हाम्रो बौद्धिक यात्रालाई उनको बाटोमा घुमाइरहेको छैन र ? यो स्वतन्त्र पत्रकारिता होइन, प्रेस स्वतन्त्र छैन भन्ने मेरो अनुभूति हो । स्वतन्त्र कहिँ छ भने त्यो अपवादमा छ ।

संसारभरी पत्रकारिता पेशामा आवद्धहरूको समान आवाज हुन्छ– प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता । यहि अधिकारको मानका लागि ३ मे मनाइन्छ । विश्वभर मनाईने प्रेस स्वतन्त्रताका अवसरमा यतिचाहिँ भन्नुपर्छ, हामी लोकतान्त्रिक गणतन्त्र हुँदै संघात्मक राज्य प्रणालीमा आउँदा स्वतन्त्र छौं तर दलगत स्वार्थमा, सत्ता र प्रतिपक्ष अनि विभिन्न राजनीतिक विचारधाराको जगमा । यो आवद्धता तथा पक्षपोषणकारिता हो । अझ, यसलाई म पर्चाकारिता भन्छु । माफ गर्नु होला, स्वतन्त्र छौं भन्ने अपवादबाहेकको निष्कर्शमा म पुग्न सक्तिन ।

प्रेस स्वतन्त्रता अथवा स्थापना दिवसका अवसरमा ‘मर्निङ वाक’ गर्ने औपचारिक चलन छ । यो फेन्सी चलन हो । पेशागत संगठनको नाममा हुन्छ प्रायः । हामी यहाँबाट उठौं ।

आफैंतिर फर्किएर पत्रकारले सोध्ने बेला आएको छ– के हामी स्वतन्त्र छौं ? छैनौं भने स्वतन्त्रता हामीलाई किन चाहियो ? जब हामी स्वतन्त्र रहँदैनौं भने जनताले स्वतन्त्रताको अनुभूती कसरी गर्दा हुन् ? के हामी व्यावासायीक र पेशागत हितकर काम गरिरहेका छौं ? छैनौं भने हामीलाई कसले दियो प्रेस स्वतन्त्रताको नारा लगाउने अधिकार ?

कसको अधिनमा स्वतन्त्रता ?

भ्रष्टाचारी, दुराचारी, यो देश लुटी र भुटी खाने गिरोहले पत्रपत्रिका, पत्रकारिता र प्रेस स्वतन्त्रतालाई जालमा पारेका छन् । अहिले पत्रकारिता होइन, पर्चाकारिता हुन्छ । अनेक कोणका मिशनमा छ, पत्रकारिता । एउटा अखबारले प्रमाणसहित कुनै भ्रष्टलाई उदांगो पार्यो भने, अर्काले त्यसको महिमागानमा लेख्ने गर्छ ।

यो भ्रष्टको मोहजालको बाटो भयो । आफैंतिर फर्किएर पत्रकारले सोध्ने बेला आएको छ– के हामी स्वतन्त्र छौं ? छैनौं भने स्वतन्त्रता हामीलाई किन चाहियो ? जब हामी स्वतन्त्र रहँदैनौं भने जनताले स्वतन्त्रताको अनुभूती कसरी गर्दा हुन् ? के हामी व्यावासायीक र पेशागत हितकर काम गरिरहेका छौं ? छैनौं भने हामीलाई कसले दियो प्रेस स्वतन्त्रताको नारा लगाउने अधिकार ? आफैंतिर फर्किएर प्रश्न गरौं ।

राजनीतिक मिशनकारिता पत्रकारिता होइन । पत्रकारिता, जनताको दुख, पीडा र न्यायका लागि मिशनमा हुनुपर्छ । राज्यलाई त्यो चित्र देखाउन सक्ने हुनुपर्छ । नकी सेल्फीवाला पोज दिएका फेन्सी नेताको महिमागान गाउने । कुनै आमुख व्यापारीको हितकर गीत गाउने । कुनै भ्रष्टको फूलमालाको तस्बिर छाप्ने । पत्रकारिताले राज्यका हरेक कमजोरी, राज्यको गलत बाटोमा प्रश्न गर्ने हिम्मत राख्नुपर्छ । त्यसको उत्तरका लागि र्याख र्याख्ती पार्नुपर्छ । अनिमात्र हामी स्वतन्त्र छौं भन्ने अनुभूत होला । नत्र त यी सब भन्ने कुरा न हुन्…।

पत्रकारिता सत्ताको अलटपलटसँग होइन, प्रवित्तिसँग लड्न सक्नुपर्छ अनि स्वतन्त्र हुन्छ । प्रेसमा जसले अंकुश र बन्धन लगाउँदैछ त्यसैका भ्रातृ संगठनको गठजोड र समिकरणका हिसाबमा चुनावी मैदानमा उत्रिएर छाता संगठनको नेतृत्वमा पुग्नेबाट श्रमजीवि पत्रकारको सुरक्षा, प्रेस स्वतन्त्रताको रक्षा हुन्छ की मानमर्दनमा जोडबल ?

सत्ताको अलटपलटसँगको तालमेल

दुख लाग्छ । एकथरी विरोध, अर्काथरी प्रतिरक्षामा उत्रिएको देख्दा । यो सत्ताको अलटपलटसँगै पत्रकारिताका दुई धारमा रहेका स्वतन्त्रताका गायकहरूको चलन बनिरहेको छ । गल्तीप्रति कसैले प्रश्न उठाउनेवाला छैन, आफ्नाको । विरोधीलाई पानीमुनि गए पनि नछाड्ने चलन बनिसकेको छ ।

पत्रकारिता सत्ताको अलटपलटसँग होइन, प्रवित्तिसँग लड्न सक्नुपर्छ अनि स्वतन्त्र हुन्छ । प्रेसमा जसले अंकुश र बन्धन लगाउँदैछ त्यसैका भ्रातृ संगठनको गठजोड र समिकरणका हिसाबमा चुनावी मैदानमा उत्रिएर छाता संगठनको नेतृत्वमा पुग्नेबाट श्रमजीवि पत्रकारको सुरक्षा, प्रेस स्वतन्त्रताको रक्षा हुन्छ की मानमर्दनमा जोडबल ? यहि प्रश्नले घोच्छ । पत्रकारिताको डेढ दशक पार गर्दा देखिएको चित्र र चरित्र पनि यहि हो ।

सीमितबाहेक कोही व्यावासयीक क्षेत्रमा छैनन् । कलम चलाउन जान्ने भन्दा दिमाग चलाउन जान्नेले पत्रकारिताको विल्ला भिरेर हिँडेका छन् । यस्ता विल्लाको दायरा र मापदण्ड छ की छैन ? के हामी आत्मामा हात राखेर अबका दिनमा एउटा विधान कोर्न सक्छौं कि कुनै दल वा विचारसँग प्रत्यक्ष वा परोक्ष सम्बन्ध नभएको पेशागत पत्रकार मात्र महासंघको नेतृत्वमा आउन पाउँछ । के महासंघले त्या विधानलाई पारित गरी पत्रकारितामा निष्पक्षता र पेशागत मुल्य र मान्यता स्थापित गराउन सक्छ ?

हामी दुनियाँलाई स्वतन्त्रताको अध्याय पढाउँदै गर्दा स्वतन्त्र सम्पादकीय भन्ने मानकलाई स्थापित गर्न कति सक्षम छौं ? यो चुनौति हामीले पार लगाएका छौं ? वरिष्ठ पत्रकारहरूले पनि सोचुन्

साहुकारिता झन् डरलाग्दो

नेपालको पत्रकारिताको सबैभन्दा डरलाग्दो पाटो चाप्लुसी हो । यसलाई म साहुकारिता भन्छु । साहुको निजी स्वार्थ, व्यापारिक स्वार्थमा गरिने पत्रकारिता । बडेमान सम्पादकहरू पनि यसमा चुकेका छन्, एकाध लाख तलबका लागि । यो राजनीतिक दलको मिशनजस्तै एउटा व्यापारीको मिशनको बिम्ब हो ।

साहुका अनेक व्यापार मध्येको एउटा व्यापार बनिरहेको छ, पत्रकारिता । कोही व्यक्ति र व्यापारीसँग बार्गेनिङ गर्ने, कोही सिस्टमसँग । यो ओपन सेक्रेट सत्य भन्न हामीलाई डर लाग्छ । हामी दुनियाँलाई स्वतन्त्रताको अध्याय पढाउँदै गर्दा स्वतन्त्र सम्पादकीय भन्ने मानकलाई स्थापित गर्न कति सक्षम छौं ? यो चुनौति हामीले पार लगाएका छौं ? वरिष्ठ पत्रकारहरूले पनि सोचुन् । होइन भने, हामी कुनै न कुनै प्रायोजनका आधारमा पत्रकारिताको हत्या गरिरहेका छौं, यसभन्दा अर्को निक्र्यौलमा पुग्न सकिन, अहिलेका लागि ।

प्रतिक्रिया
सम्बन्धित