बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

मदिरा व्यवसायीहरूलाई निर्वाचन लाग्यो, अध्यक्षका उम्मेदवार शेर्पाका यस्ता छन् योजना (अन्तर्वार्ता)

सोनाम शेर्पा, वरिष्ठ उपाध्यक्ष २०७६ वैशाख १७ गते ११:३५

सोनाम शेर्पा, वरिष्ठ उपाध्यक्ष, मदिरा व्यवासयी महासंघ

दिरा व्यवसायीहरूलाई राज्यले हेर्ने दृष्टिकोण केही कठोर छ । मदिरा व्यवसाय गर्दै आएका व्यापारीहरू राज्यसँग सधै डराउनुपर्ने अवस्था छ । व्यवसायीहरूको हकहितका लागि मदिरा व्यवसायी महासंघ पनि छ । तर, महासंघको कार्यालय अधिकांश समय बन्द रहन्छ । महासंघ क्रियाशील नभएपनि महासंघका वरिष्ठ उपाध्यक्ष समेत रहेका मदिरा व्यवसायी संघ काठमाडौंका अध्यक्ष सोनाम शेर्पा सक्रिय छन् । व्यवसायीका हरेक समस्या समाधन गर्न अगाडि बढिहाल्छन् ।

शेर्पाको क्रियाशीलता महासंघमा पद ओगटेर बसेका तर कहिल्यै सिन्को भाँच्न नसक्नेहरूका लागि टाउको दुःखाइ बनेको छ । वैशाख २१ गते काठमाडौंमा हुन लागेको मदिरा व्यवासयी महासंघको ११औँ साधारण सभाले नयाँ नेतृत्व चयन पनि गर्दै छ । आफैले कारबाही गरेका व्यक्ति महासंघको अध्यक्ष पदमा उम्मेदवार बनेपछि शेर्पालाई संस्थाप्रति चिन्ता लागेको छ ।

सबै व्यवसायीहरूको सल्लाह र सुझावमा शेर्पाले पनि महासंघमा अध्यक्षको उम्मेदवारी दिने घोषणा गरेका छन् । विगत दश वर्षदेखि मदिरा व्यवसाय गर्दै आएका महासंघका वरिष्ठ उपाध्यक्ष एवम् काठमाडौं शाखाका अध्यक्ष सोनाम शेर्पासँग हाम्रा सहकर्मी विमल योगीले गर्नुभएको कुराकानीको सम्पादित अंश ।

मदिरा व्यवासयी महासंघको अध्यक्ष बन्न किन हतार गर्नुभयो ?

महासंघ निकै कमजोर भयो । केही पदाधिकारीका कारण महासंघ कमजोर भएको हो । पद ओगटेर बसेका केही व्यक्तिले महासंघमा सिन्को पनि भाँच्नु भएको छैन । मदिरा व्यवसायी संघ काठमाडौंले केही पदाधिकारीलाई कारबाही गरेर पठाएको छ । ती पदाधिकारीहरूका कारण व्यवसायीहरूको बदनाम भएको धेरैको गुनासो छ । व्यक्तिगत कुरा त गर्नु हुँदैन । तैपनि धेरै उद्योगी, व्यवसायीलाई पदाधिकारीले ठगेका उजुरी दिएका छन् ।

पद ओगटेर बसेकाहरूका कारण ०५३ सालमा स्थापना भएको महासंघको खातामा अहिलेसम्म एक रुपियाँ पनि जम्मा हुन सकेको छैन । हरेक जिल्लाहरूमा महासंघको शाखाहरूले १५–२० लाख खातामा जम्मा गरेका छन् । यस्तो अवस्थामा काम नगर्ने र विवादित व्यक्तिहरूलाई यस पटक महासंघको नेतृत्व दिनु हुँदैन । व्यवसायी साथीहरू र रक्सी कम्पनीहरूको आग्रहमा मैले अध्यक्षमा उम्मेदवारी दिन लागेको हुँ । जित्ने आश पनि लिएको छु ।

तपाईले अध्यक्षमा जित्ने आधार के छ ?

म काम गर्ने व्यापारी हुँ । काठमाडौंका मदिरा व्यवसायीहरूको पक्षमा काम गरेको छु । देशभरिका व्यवसायीलाई समस्या पर्दा मैले नै सहयोग गरेको छु । अध्यक्षमा दाबी गर्दै आएको व्यक्तिहरूभन्दा म व्यवसायीहरूका लागि काम गर्ने व्यवसायी हुँ । प्यान नम्बर राखेर राजनीति मात्रै गरिरहनु व्यक्ति म होइन । मलाई व्यवसायी साथीहरू र कम्पनीहरूले साथ दिएका छन् ।

तपाईहरूको महासंघमा कति छन् भोट ?

नेपालभरि सात सय २५ देखि सात सय ५० जति भोट छ । यसमध्ये उपत्यकामा मात्रै ४ सय भोट छ । काठमाडौंमा मात्रै ३ सय ३० भोट छ ।

तपाई काठमाडौंको पनि अध्यक्ष होइन ?

हो म काठमाडौंको अहिलेको अध्यक्ष पनि हुँ । म तीन कार्यकाल काठमाडौंको अध्यक्ष भएको छु । मलाई व्यवसायीहरूले पत्याएका छन् । महासंघमा व्यवसायीहरूको विश्वासका कारण मेरो जित सुनिश्चित छ ।

तपाईले अध्यक्षका प्रतिस्पर्धी विष्णु खड्कालाई हराउन सक्नु हुन्छ ?

निर्वाचन भनेको लोकतान्त्रिक प्रक्रिया हो । प्रतिस्पर्धामा उत्रिएपछि हारजित हुन्छ । व्यवसायीहरूको साथ मलाई छ । त्यस कारण मैले मेरा जो कोही प्रतिद्वन्द्वी भए पनि हराउँछु । मैले पहिला पनि भनेको छु मलाई व्यवसायी र कम्पनीहरूको सहयोग र साथ छ । हरेक जिल्लाले मलाई साथ दिएका छन् ।

मदिरा व्यवसायीहरूका धेरै समस्या छ नि ? समाधान गर्न तपाईले के गर्नु भयो ?

हालैको एउटा उदाहरण छ । ई–सेवा भन्ने एउटा कम्पनी छ । पाँचदेखि सात प्रतिशतसम्म छुट छ भनेर विज्ञापन निकाल्यो । त्यस बेला महासंघले कोही पनि बोलेनन् । त्यसका विरुद्ध मैले बोले । दशैँ आउनुभन्दा पाँच दिन अगाडिको कुरा हो । हामी व्यापारीले रक्सीमा १–२ प्रतिशत छुट दिने हो । ई–सेवा भन्ने संस्थाले पाँचदेखि सात प्रतिशतसम्म छुट दिएर पत्रिकामा सूचना निकाल्यो । घरघरमा पुर्‍याउने सुविधा पनि छ भनिदियो । त्यो सुनेपछि म तुरुन्त गएँ । हामी पहिला महासंघमा गयौँ । महासचिवको फोन उठेन । अध्यक्ष रुपन्देहीमा हुनुहुन्थ्यो । महासंघमा ताला लागेको थियो ।

अनि मैले भन्ने ठाउँ कहीँ पाइन । म काठमाडौं जिल्लामा आएर साथीहरूलाई जम्मा गरेर ई–सेवाको कम्पनीमा गएर त्यसको म्यानेजरलाई बोलाएर जथाभावी नगर्न अपील गरेँ । ई–सेवाले पहिला मानेन । तिमीहरूको सबै संस्था र शाखा बन्द गर्छौं भनेर चेतावनी दियौँ । सम्झाइ बुझाइ गरेपछि ई–सेवाले मान्यो । दशैँमा व्यापारीहरूले व्यापार गर्न पाए । यदि हामीले त्यो नगरेको भए देशभरिका मदिरा व्यवसायी साथीहरू आज हेरेको हेरै हुन्थे । ई–सेवाले हाम्रो व्यापार कब्जा गर्न खाजेको थियो । मेरो नेतृत्वमा गएर मदिरा व्यवासय कब्जा गर्न दिएनौँ । ई–सेवाले कारोबार गर्छ । तर, उसले रेट कम गरेर कारोबार गर्दैन । रक्सीमा अलग अलग रेट हुन्छ ।

काठमाडौंको अध्यक्षको नाताले व्यवासयीहरूका लागि के–के काम गर्नुभयो ?

भरखरै नेपाल सरकारले मदिरा नीति निकाल्यो । मदिरा ३ देखि ७ बजेसम्म मात्रै बेच्ने अरु बेला बेच्न नपाइने भन्ने कडा नियम आउन लागेको थियो । त्यसका विरुद्धमा महासंघका कुनै पनि पदाधिकारी र व्यक्तिहरू बोलेनन् । कडा नीति आउन लागेको सुन्ने वित्तिकै काठमाडौं जिल्ला संघबाट पत्रिकामा सूचना निकालेर विरोध गर्‍यौँ । मैले मात्रै केही गर्न नसक्ने भएर अरु विज्ञापन संघ, होटेल व्यवसायी संघ, चेम्बर अफ कमर्शलगायत सबैलाई भनेर हामीले बारम्बार आवाज उठायौँ । त्यसपछि सरकारले हाम्रो आवाज सुन्यो ।

गृहमन्त्रालयमा हामीलाई बोलाइयो । छलफलपछि सरकार ब्याक भएको अवस्था छ । यदि हामीले त्यो नगरेको भए आज हाम्रो व्यवसाय धरापमा पर्ने थियो । काठमाडौंमा सबैभन्दा ठूलो समस्या पैसा खानेछ । सोझा–साझा व्यापारीले काम गर्न नसक्ने । सामान लैजाने पैसा नदिने । व्यापार भनेको विश्वास हो । रक्सीमा हरेक ठाउँमा बिलबिजक जारी गर्नुपर्छ । विश्वासमा सामान लैजाने पछि बिल जारी गर्ने हुन्छ । व्यापारीको सामान लैजाने पैसा नदिने यस्ता धेरै फटाहाहरूलाई काठमाडौं संघबाट कारबाही भएको छ । मेरो टेबुलमा अहिले पनि तीन करोडभन्दा धेरै रकमको उजुरी छ । सामान लगेर पैसा नदिने ठग्ने व्यापारीहरूलाई सामान बहिस्कार नीति लिएका छौं ।

मदिरा व्यवसायीहरूलाई भएका ठूला र समाधान गर्न नसकेको समस्या के हो ?

अहिलेसम्म सबै समस्याको समाधान गरेका छौँ । मेरै पहलमा धेरै समस्या समाधान भएका छन् । व्यापारीहरूलाई सबैभन्दा ठूलो समस्या भनेको आर्थिक समस्या हो । हामीलाई सबैभन्दा धेरै दुःख दिने भनेको कर कार्यालयबाट हुन्छ । छापामारेर व्यवसायीलाई दुःख दिने काम भएको छ । सबै व्यापारी पढेका हुँदैनन् । कितलाई हिसाब किताव राम्रोसँग राख्न आउँदैन । त्यस्तो ठाउँमा गएर कर कार्यालयहरूले विभिन्न बहानामा ठग्ने । दुःख दिने गरेको छ ।

व्यवसायीहरूलाई समस्या पर्न थालेपछि काठमाडौं संघमार्फत चार्टर एकाउन्टेन र कानून व्यवसायी पनि राखेको छु । उनीहरूमार्फत सुविधान लिने गरेका छौँ । मलाई व्यवासयीहरूको पक्षमा बोल्यो भनेर आरोप लाग्ने गरेको छ । कुनै पनि काम लिएर महासंघमा जाँदा अध्यक्ष र महासचिवसँग भेट हुँदैन । यस्तो अवस्थामा व्यवसायीहरूको पक्षमा म नबोलेर को बोल्छ त ? कुनै पनि काम गर्दा तुरुन्त काम गर्ने अवस्था मलाई भएन । म जिल्लामा फर्किएर काठमाडौं जिल्लामार्फत काम गर्नुपर्ने भयो । महासंघमा कुनै पनि बजेट छैन । रक्सीको रेट बिग्रिएको छ । त्यसको रेट पत्रिकामा सूचना जारी गरेर सबैलाई जानकारी दिएका छौँ ।

बजेट आउँदा रक्सीको मूल्य बढ्छ । मूल्य बढेको राम्रो हो ?

यो सरकारको नीति नियम हो । सरकारले गर्ने काम हो । यसमा मैले भन्ने कुरा रहँदैन । रक्सीको मूल्य नबढाउ भन्दा उल्टो अर्थ लाग्ला । रक्सीको रेट बढाउनु ठीक छ । तर, बजेट आउनभन्दा पहिला रक्सी स्टक राख्ने अनि पछि महँगोमा बेच्ने । यसले गर्दा साना व्यापारीहरू मर्कामा पर्छन् । त्यो गर्न पाइँदैन । लामो समयदेखि यस विषयमा मैले आवाज उठाउँदै आएको छु । प्रिन्ट रेटभन्दा तलमाथि गरेर बजारमा बेच्न नपाइने भनेर पनि सूचना निकालेको छु ।

तपाईहरूले रक्सीमा कर छल्नु हुन्छ रे हो ?

कर छलेका छैनौँ । गलत आरोप हो । कुनै व्यापारीले त्यो आफैले जानीजानी गर्छन् भने अर्को कुरा हो । कम्पनीबाट रक्सीको बिल आएको हुन्छ । सबै तहको मूल्य तोकिएको हुन्छ । व्यापारीले रक्सीमा कर छली गर्छन् जस्तो मलाई लाग्दैन । त्यो गर्नु भनेको आफू फस्नु हो । जो जानीजानी फस्छ त्यसमा भन्नु केही छैन ।

अध्यक्ष पदमा आकर्षण भएर उम्मेदवारी दिनुभएको हो ?

मभन्दा राम्रो मान्छे आउँछ भने अध्यक्षमा मेरो उम्मेदवारी हुँदैन भनेर बसिरहेको थिएँ । अध्यक्षमा सुविधा केही पनि छैन । बरु खर्च धेरै छ । महासंघमा जो पनि अध्यक्ष भएर आउनु भयो सबैले आफ्नो व्यापार बिगार्नु भएको छ । हामी आफ्नो पसलमा बस्नुपर्ने मान्छे । हामी व्यापारी हौँ । महासंघमा भएपछि समय दिनुपर्छ । ठाउँ–ठाउँमा घुम्नुपर्छ । त्यसले गर्दा हाम्रो व्यापार बिग्रिन्छ । धेरै जना व्यापारीले आफ्नो व्यापार बिगारेका छन् । मलाई पनि अध्यक्षमा जाने इच्छा थिएन । तर, महासंघ जस्तो संस्थाको गरिमामय पदमा कम्पनीको पैसा खाने र ठग्ने व्यक्ति । काठमाडौं संघले बहिस्कार गरेको व्यक्तिले अध्यक्षमा उम्मेदवारी दिएपछि व्यवसायी र महासंघको हितका लागि मैले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको हुँ । व्यापार नै नभएको व्यक्तिले महासंघमा आएर राजनीति गर्न खोज्दाखेरी मैले उम्मेदवारी दिएँ ।

रक्सी उद्योगी र कम्पनीहरूसँग तपाईहरूको समस्या छ कि छैन ?

उद्योगहरूसँग कहिले काहीँ मात्रै समस्या हुन्छ । समस्या भएपनि उद्योगहरूसँग मिलेर काम गरेका छौँ । हरेक उद्योगले हामीले भनेको मानेका छन् । उत्पादक संघ पनि छ । उनीहरूसँग पनि कुरा गरेका हुन्छौँ । हामीलाई समस्या लिकेज (फुटेको बोतल) मा हुने गरेको छ । फुटेको बोतल नसाट्ने समस्या छ । त्यसको लागि हामीले बारम्बार भनेका छौँ । फुटेको बोतल जसले साट्दैन त्यसको बिक्री वितरण बन्द गर्ने । सामान नबेच्ने माग राखेका छौँ । विदेशी रक्सीमा बोतल फुट्ने र नसाट्ने समस्या धेरै छ । यसका लागि मैले जोडदार आवाज उठाएको छु । ठूला कम्पनीहरूले फुटेका बोतल साटेनन् भने बिक्री वितरणमा रोक लगाएर ती कम्पनीहरूमा तला लगाउने छौँ । यो आवाज फेरि पनि उठाउँछु ।

जिल्ला र साना व्यवसायीका समस्या के–के छन् ?

हामीसँग साना व्यापारी धेरै छन् । सबैका समस्या उस्तै हुन् । साना व्यापारीका समस्या अलिक धेरै छन् । साना व्यापारीहरूको रेट फिक्स भएन । ठूला व्यापारीहरूले सस्तोमा बेच्ने । ठूलाले धेरै किन्ने र सस्तोमा बेच्ने । साना व्यापारीहरूले थोरै किन्ने । तर, महँगो पर्ने । रेटमा समस्या छ । मैले अध्यक्षमा जिते भने साना र ठूला व्यापारीबीच देखिएको रेटको समस्या समाधान गर्छु ।

मैले एक वर्ष अगाडि पनि कसैले पनि आफ्नो प्रिन्ट रेट राख्न नपाइने । बोतलमा भएको स्टिकर रेटमा बेच्नुपर्ने भनेर सूचना नै निकालेको थिएँ । भोलिका दिनमा पनि एउटै रेटका विषयमा आवाज उठाइ रहनेछु । सबैले प्रिन्ट रेटमा बेच्ने हो भने समस्या समाधान हुन्छ ।

तपाईहरूको राजनीतिक दलसँग आवद्धता के छ नि ?

हामी विशुद्ध व्यवसायी हौं । कुनै पनि राजनीतिक दलको झण्डा बोकेर व्यवसाय गर्ने कुरा हुँदैन । राजनीतिसँग सम्बन्ध नरहेका व्यक्ति नेपालमा कमै छन् । मदिरा व्यवसायी महासंघमा व्यक्तिगत रुपमा म यो वा त्यो पार्टी भनेर कोही पनि आएका छैनन् । व्यक्तिगत रुपमा आ–आफ्नो राजनीतिक आस्था हुन्छ । हाम्रो आस्था रहेपनि व्यवासयी मान्छे खुलेर लाग्नु हुँदैन ।

तपाईले अध्यक्षमा जित्नुभयो भने के गर्नु हुन्छ ? भावी योजनाहरू के छन् ?

मैले जिते भने धेरै काम गर्नुछ । सूची नै बनाएको छु । पहिलो प्राथमिकतामा व्यापारीहरूको सस्मस्या समाधान । दोस्रोमा महासंघको भवन आवस्यक्ता छ । भवन बनाउने कुरा छ । म अध्यक्ष भएँ भने एक वर्षभित्र भवन बन्छ । किन भने हरेक रक्सी कम्पनीसँग मेरो राम्रो सम्बन्ध छ । सहयोग गर्ने कम्पनीले हो । बालाजुमा चार आना जग्गा महासंघको नाममा छ । यो जग्गा दश वर्ष अगाडि किनेको हो । भवन बनाउन कसैले सकेनन् । अध्यक्षमा जितेर त्यो भवन मैले बनाउँछु । महासंघको कार्यालय धेरै समय बन्द रहन्छ ।

व्यवसायीलाई समस्या पर्दा उजुरी र गुनासो गर्ने ठाउँ नै छैन । महासंघको कार्यालयलाई व्यवस्थित बनाउनु पर्ने भएको छ । कर कार्यालय र मदिरा व्यवसायीबीच ठूलो अविश्वास छ । चल्ला र चिलको सम्बन्ध छ । व्यवासयी चल्ला हुन् । कर कार्यालय चिल हो । कर कार्यालयले मन लाग्यो भने जति बेला पनि व्यवसायीलाई पक्राउ गर्ने । दुःख दिने गरेको छ । यो विषयमा सुधार हुनै पर्छ । वैशाख २१ गतेको ११औँ साधारण सभाा मलाई व्यवसायी साथीहरूले साथ दिनु हुनेछ । मलाई जिताउनु हुनेछ भन्ने विश्वास लिएको छु ।

प्रतिक्रिया
सम्बन्धित