
सौल (कोरिया), १६ बैशाख । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) दक्षिण कोरिया च्याप्टरले आगामी मे ५ का दिन गजल मुशायरा आयोजना गर्ने भएको छ । दक्षिण कोरियाको राजधानी सौलको दोङ्देमुन स्थित शुभेच्छा होटलको सभाहलमा उक्त कार्यक्रम हुने भएको छ ।
अनेसास कोरिया च्याप्टरले श्रृङखलाबद्ध रुपमा संचालन गर्दै आएको ुकाव्य–सुधाुको आठौं श्रृङखलाको रूपमा गजल मुशायराको आयोजना हुन लागेको च्याप्टरका अध्यक्ष प्रमोद सारंगले बताएका छन् । गजल मुशायराका साथमा अनेसास कोरिया च्याप्टरद्वारा तयार पारिएको संयुक्त गजल एल्बम ‘काफिया’ र कोरियामा अनेक डायस्पोरा नामक पुस्तकको समेत विमोचन हुने आयोजकले बताएको छ ।
मे ५, दिउँसो ११ बजेबाट सुरु हुने गजल मुशायरामा गजलकारहरू कृष्ण रिजाल, ह्यारी बोण्ड, धीरेन्द्र स्पन्दन र खगेन्द्र खत्रीले आफ्ना गजलहरू वाचन गर्नेछन् भने उपस्थित सर्जकहरूलाई पनि रचनावाचनको अवसर दिइने कार्यक्रम संयोजक जनक सन्यालले बताएका छन् ।
काव्य–सुधाका विगतका श्रृङ्खलाहरूमा जस्तै यसपटक पनि उपस्थित दर्शकहरूले असली शेरहरूको स्वाद लिन पाउने उनको दाबी छ ।
अनेसास कोरियाले कविता, गजल र मुक्तक वाचनका विशेष श्रृङ्खलाहरू नियमित रुपमा गर्दै आएको छ भने विगतका वर्ष विश्वव्यापी खुला कविता प्रतियोगिता, प्रथम एसियाली साहित्य सम्मेलन, नेपाली र कोरियन कविहरूको संयुक्त कविता कन्सर्ट जस्ता कार्यक्रमहरू पनि सम्पन्न गरिसकेको छ ।















प्रतिक्रिया