१ कार्तिक २०८३, आइतबार

स्वर्णपदक विजेता गुरुङलाई सम्मान

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ बैशाख । काठमाडौँको सामाखुशीमा रहेको संस्कार ईग्लिश स्कुलले हालै जापानमा सम्पन्न भएको ४४.५ केजी मुनिको तेक्वान्तो प्रतियोगितामा स्वर्ण पदक विजेता नेपालकी १४ वर्षीया बालिका आकृति गुरुङलाई सम्मान गरेको छ ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमको आयोजना गर्दै स्कुलले गुरुङलाई सम्मान गरेको हो । स्वर्ण पदक विजेता गुरुङ संस्कार स्कुलमा हाल कक्षा ९ मा अध्ययनरत छिन् ।

गत एप्रिल १९ तारिख जापानको ओसाकामा सम्पन्न २५ राष्ट्र सहभागी अन्तर्राष्ट्रिय प्रतियोगितामा गुरुङले नेपालको लागि स्वर्ण पदक दिलाएकी थिइन् । स्कुलको तर्फबाट निर्देशक विमला गुरुङ र तेक्वान्दो गुरु मुगामाया पाख्रिनलगायतले उनलाई खादा तथा माला लगाएर सम्मान गरेका हुन् ।

कार्यक्रममा स्कुलकी निर्देशक विमला गुरुङले नेपालको छबि अन्तर्राष्ट्रियस्तरमा उँचो बनाउने काम गरेको भन्दै स्वर्णपदक विजेता गुरुङलाई बधाई दिइन् । उनले भनिन्, ‘खेलकुदले पनि देशलाई चिनाउन सकिने रहेछ, आज हाम्री स्कुलकी छात्रा आकृतिले यो कुरा पुष्टि गरेर देखाइन् । हाम्रो लागि यो गौरवको विषय हो ।’

भविष्यमा पनि यस्ताखाले प्रतियोगितामा सहभागी हुनको लागि स्कुलको तर्फबाट स्वर्णपदक विजेता गुरुङलाई जस्तोसुकै सहयोग गर्नपनि आफूहरु तयार रहेको उनको विश्वास छ । त्यस्तै, तेक्वान्दो गुरु मुगामाया पाख्रिनले आफू र आकृतिको लगनशीलता र निरन्तर परिश्रमका साथै स्कुलले पु¥याएको सहयोग र आवश्यक व्यवस्थापनका कारण स्वर्ण पदक जित्न सफल भएको सुनाइन् ।

उनले भनिन्, ‘यो प्रतियोगितामा सहभागी हुनको लागि स्कुलले हामीलाई ठूलो सहयोग गरेको थियो । हामीलाई प्रतियोगिताको तयारीको सवालमा कुनैपनि कुराको अभाव हुन दिएन । त्यही भएर हामीले उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी भयौं । र, स्वर्णपदक जित्न पनि सफल भयौं । यो पदक सिँगो देश र नेपालीहरुको लागि गौरवको विषय हो । हामी स्कुलका सम्पूर्ण टिम गौरावन्तित छौं ।’

कार्यक्रममा स्वर्णपदक विजेता आकृति गुरुङले छोटो समयको तयारीमा पनि आफूहरुले यस्तो नतिजा ल्याउन सफल भएको सुनाउँदै यसको सम्पूर्ण श्रेय स्कूल व्यवस्थापन र गुरुको मार्गनिर्देशन भएको स्पष्ट पारिन् ।

उनले भनिन्, ‘हाम्रो देशमा खेलकुद क्षेत्रको विकासको लागि सरकारले ध्यान दिनुपर्छ । खेलाडीहरुको उज्जवल भविष्यको लागि सरकारले विशेष पहलकदमी लिनुपर्छ ।’ प्रतियोगिताको फाइनलमा आयोजक राष्ट्रलाई नै हराउन पाउँदा आफू निकै खुशी भएको पनि उनको प्रतिक्रिया थियो ।

नेपालबाट विभिन्न तौल समूहमा सहभागी हुन २३ जना प्रतियोगीहरु जापान गएका थिए । तीमध्ये नेपालको लागि एकमात्रै पदक त्योपनि स्वर्ण ल्याउन आकृति सफल भएकी हुन् ।