मंगलबार, ३१ असार २०७६
DainikNepal.com
मंगलबार, ३१ असार २०७६

सरकारले राप्रपालाई भन्यो : गणतन्त्र अतिक्रमण हुने मागमा विचार गर्नुस्

दैनिक नेपाल २०७६ वैशाख १० गते १८:०८

काठमाडाैँ,  १० बैशाख । सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई लोकतान्त्रिक गणतन्त्रमाथि नै अतिक्रमित हुने खालका मागमा तत्काल पुनर्विचार गर्न आग्रह गरेको छ ।

विभिन्न माग राखी आन्दोलन गरिरहेको राप्रपा र सरकारबीच मङ्गलबार भएको वार्तामा सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले धर्म निरपेक्षतालगायतका संविधान विरोधी माग सम्बोधन गर्न नसकिने भएकाले त्यसमा पुनर्विचार गर्न आग्रह गरेका हुन् ।

आजको वार्ता विषय प्रवेश भएको र आफ्ना मागहरु औपचारिक रुपमा टेबल गरको राप्रपा प्रचार विभागका प्रमुख मोहन श्रेष्ठले बताए । राप्रपाले राजनीतिक र जनजीविकासँग सम्बन्धित दुईथरि मागहरु प्रस्तुत गरेको उनले बताए ।

सरकारी वार्ता टोलीले भने राजनीतिक मागहरुमा मन्त्री स्तरबाट भन्दा पनि व्यापक राजनीतिक छलफलबाट अघि बढ्नु उपयुक्त हुने र थप छलफल जरुरी रहेको बताएको थियो।

अर्को वार्ता एक हप्तामा बस्ने र थप छलफल गरिने बताइएको छ । तर,  वार्ताको मिति भने तय गरिएको छैन । वार्तामा सरकारकातर्फबाट कानूनमन्त्री भानुभक्त ढकाल, कानुन सचिव राजीव गौतम, कानुन मन्त्रालयका उच्चपदस्थ अधिकारी सहभागी थिए।

त्यस्तै, राप्रपाका तर्फबाट दीपक बोहरा र निरञ्जन थापा सहभागी थिए। बोहरा वार्ता टोलीका संयोजक पनि हुन्। पार्टीका महामन्त्री समेत रहेका टोलीका अर्का सदस्य महामन्त्री राजेन्द्र लिंदेन भने आज वार्तामा उपस्थित भएनन्।

गत आइतबार कानुनमन्त्री ढकालले राप्रपा अध्यक्ष कमल थापालाई पत्र पठाउँदै वार्ताका लागि आग्रह गरेका थिए। भोलिपल्टै राप्रपाले तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित