मंगलबार, ३१ असार २०७६
DainikNepal.com
मंगलबार, ३१ असार २०७६

नीजि निवास पुनर्निर्माणमा ८० प्रतिशत उपलब्धी भएको प्राधिकरणको दाबी

दैनिक नेपाल २०७६ वैशाख १० गते १७:३२

काठमाडौँ, १० बैशाख । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नीजि निवास पुनर्निर्माणमा ८० प्रतिशत उपलब्धी हासिल गरेको दाबी गरेको छ । अनुदान सम्झौता गरेका ७ लाख ६२ हजार ३०७ घर परिवार मध्ये ६ लाख १२ हजार ९३५ घर परिवार पुनर्निर्माणको प्रक्रियामा छन् ।

जसमध्ये ५० प्रतिशत अर्थात ३ लाख ८२ हजार २७७ परिवारले घर पुनर्निर्माण सम्पन्न गरी आ–आफ्नो घरभित्र प्रवेश गरिसकेका छन् भने ३० प्रतिशत अर्थात २ लाख ३० हजार ६५८ परिवार घर पुनर्निर्माणका क्रममा रहेका प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीले जोखिममा परेका वर्ग र असुरक्षित स्थानमा रहेका परिवारलाई सुरक्षित स्थानमा जग्गा उपलब्ध गराउने व्यवस्था मिलाएको बताए । ‘भूमिहीन, स्ववासी लगायतको समस्या पनि समाधान गर्दैछौँ । जनताबाट आएका अधिकांश गुनासो सम्बोधन गरेका छौं’, ज्ञवालीले भने, ‘अन्तिम पटकको गुनासो सुन्ने क्रममा स्थानीय तहसँगको समन्वयमा सर्वेक्षण गरिरहेका छौं । हामीले सुरुदेखि भन्दै आएका थियौं–सरकारले घर बनाइदिने होइन, सम्बन्धित घरधनीको स्वामित्व र अपनत्वमा बन्ने हो । त्यसमा सरकारले आर्थिक र प्राविधिक सहयोगको वातावरण मिलाइदिने हो । आजका दिनसम्म आइपुग्दा यस प्रकृयाले ठूलो मात्रामा घर बन्ने अवस्था सिर्जना भएको छ ।’

ज्ञवालीले भूकम्पबाट ७ हजार ५५३ विद्यालय क्षति भएकोमा निर्माण सम्पन्न र निर्माणाधीन गरी ८३ प्रतिशत प्रगति हासिल गरेको बताए । जसमा ५९ प्रतिशत अर्थात ४ हजार ४७६ को पुनर्निर्माण सम्पन्न भइसकेको र १ हजार ७७२ विद्यालय पुनर्निर्माणको क्रममा रहेको उनले बताए ।

‘स्वास्थ्य संस्था पुनर्निर्माणतर्फ समग्रमा ६६ प्रतिशत उपलब्धी हासिल गरेका छांै, जसमा ५४ प्रतिशत अर्थात ६४३ को पुनर्निर्माण सम्पन्न गरेका छौं भने १२ प्रतिशत अर्थात १४५ पुनर्निर्माणको क्रममा छन्’, ज्ञवालीले भने ।

पुरातात्विक महत्वको सम्पदा पुनर्निर्माणमा भूकम्प अति प्रभावित जिल्लामा उनले ५९ प्रतिशत उपलब्धी हासिल गरेको बताए । जसमा २ सय २४ वटा अर्थात ३० प्रतिशत पुननिर्माण सम्पन्न भएका छन् भने २ सय २१ वटा अर्थात २९ प्रतिशत पुनर्निर्माणको क्रममा रहेका प्राधिकरणले जनाएको छ ।

सुरक्षा निकायका भवनहरुको पुनर्निर्माणमा ५६ प्रतिशत प्रगति भएको प्राधिकरणको भनाई छ । ‘जसमा ३८ प्रतिशत अर्थात १ सय ४५ को पुनर्निर्माण सम्पन्न भएको छ भने १८ प्रतिशत अर्थात ७१ वटा भवन पुनर्निर्माणको क्रममा छन् । सरकारी भवनको पुनर्निर्माणमा ९८ प्रतिशत उपलब्धी गरेका छौं, जसमा ६३ प्रतिशतको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने ३५ प्रतिशत पुनर्निर्माणको क्रममा छन्’, ज्ञवालीले भने । भूकम्प पश्चात्को पुनर्निर्माण पछिल्लो समयमा द्रुत गतिमा अघि बढिरहेको प्राधिकरणको दाबी छ ।

प्राधिकरणले पुनर्निर्माणका क्रममा केही चुनौती पनि देखिएको उल्लेख गरेको छ । प्राधिकरणका अनुसार पुनर्निर्माण र पुनस्र्थापनाका कार्यहरु सम्पन्न गर्न सबैभन्दा ठूलो चुनौती वित्तीय व्यवस्थापनको देखिएको छ ।

पुनर्निर्माण र पुनस्र्थापनाको पञ्चवर्षीय योजनामा समग्र पुनर्निर्माणका लागि कूल रु.९३८ अर्ब रकमको आंकलन गरिएको थियो । जस मध्ये आर्थिक वर्ष ०७४÷७५ सम्म कुल रु. १८६ अर्ब रकम खर्च भएको छ भने चालू आर्थिक वर्षमा जम्मा रु.१२३ अर्ब खर्च गर्ने परिमार्जित लक्ष्य लिइएको प्राधिकरणका सीईओ ज्ञवालीले बताए ।

‘सरकारको नियमित कार्यक्रम, निजी क्षेत्र र गैसस क्षेत्रबाट करिव रु. २०० अर्ब परिचालन हुने अपेक्षा गरेका छौं । यस हिसाबले हामीलाई पुनर्निर्माण कार्य सम्पन्न गर्न थप करिव रु. ४२९ अर्ब रकम आवश्यक पर्नेछ’, ज्ञवालीले भने, ‘यसरी पुनर्निर्माणको प्रगति हाम्रो वित्तीय व्यवस्थापनमा निर्भर हुने स्थिति देखा परेको छ । यसका लागि हामी अर्थमन्त्रालय र दातृ निकायहरुसँग सघन छलफलमा जुटेका छौं ।’

प्रतिक्रिया
सम्बन्धित