शुक्रबार, १० जेठ २०७६
DainikNepal.com
शुक्रबार, १० जेठ २०७६

यस्तो छ राष्ट्रपति भण्डारीको चीन भ्रमणको कार्यतालिका, भेट्ने भइन् चिनियाँ समकक्षीलाई

दैनिक नेपाल २०७६ वैशाख ९ गते १२:०६

काठमाडौँ, ९ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी पर्सी बुधबार चीन भ्रमणमा जाँदैछिन् । चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा  राष्ट्रपति भण्डारी चीनको पहिलो राजकीय भ्रमणमा जान लागेकी हुन्।

अप्रिल २६–२७ मा चीनले आयोजना गर्ने बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) दोस्रो अन्तर्राष्ट्रिय शीखर सम्मेलनमा ३७ देशका राष्ट्रप्रमुख, सरकार प्रमुख र उच्च नेताहरू सहित सहभागी हुने राष्ट्रपति भण्डारीको मुख्य कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सीसँग भेटवार्ता गर्ने पक्का भएको छ । बेइजिङमा राष्ट्रपति भण्डारी र समकक्षी सीबीच वैशाख १६ गते दिउँसाे २० मिनेट भेटवार्ता हुने बताइएको छ ।

गणतन्त्र स्थापना भएको १० वर्षपछि नेपालका राष्ट्र प्रमुख र चिनियाँ राष्ट्र प्रमुखबीच बेइजिङस्थित सरकारी मुख्याल ग्रेट हलमा पहिलो पटक यस्तो भेटवार्ता तय भएको हो।

दुई राष्ट्रपतिबीचको भेटवार्ताका लागि २९ अप्रिलको अपरान्ह ४ः२५ देखि ४ः४५ बजेको २० मिनेट समय छुट्टयाइएको छ। भेटवार्ताको सुरुमै राष्ट्रपति भण्डारीले चीनका राष्ट्रपति सीलाई नेपाल भ्रमणको निमन्त्रणा दिने तयारी छ।

राष्ट्रपति सीसँग भेट्नुअघि भण्डारीले चीनका एक जना उच्च नेतासँग नेपाल–चीन सम्बन्धका विषयमा विस्तृत छलफल गर्दैछिन्। राष्ट्रपति भण्डारी र चिनियाँ कम्युनिष्ट पार्टी स्थायी समिति सदस्य तथा अनुशासन आयोगका प्रमुख झाओ लेजीबीच हुने भेटवार्ताका लागि २९ अप्रिलकै बिहान डेढ घण्टा समय छुट्टयाइएको छ।

यस्तो छ भ्रमणको विस्तृत कार्यतालिका

१२ वैशाखः ११ वैशाखमा मध्य चीनको सान्सी प्रान्तको राजधानी सियान उत्रने राष्ट्रपतिको भ्रमण दलको कार्यक्रम । १२ वैशाखमा राष्ट्रपति भण्डारीसँग सान्सी प्रान्तका नेताहरुले भेटघाट । दिउँसो सियान शहरको भ्रमण गर्ने कार्यक्रम । १२ गते साँझ साढे सात बजे भण्डारी बेइजिङ उड्ने ।

१३ वैशाखः बेइजिङस्थित राष्ट्रिय सम्मेलन केन्द्रमा चीनका राष्ट्रपति सीले बीआरआईको दोस्रो शीखर सम्मेलनको उद्घाटन बिहान साढे ९ बजे गर्नेछन। ११ बजेपछि सोही हलमा उच्चस्तरीय बैठक हुनेछ। साँझ राष्ट्रपति भण्डारीको सम्मानमा चिनियाँ राष्ट्रपति सीले ग्रेट हल अफ दि पिपुलमा रात्रीभोज आयोजना गरेका छन्।

१४ वैशाखः राष्ट्रिय सम्मेलन केन्द्रमा बिहान १० बजेबाट बीआरआई सम्मेलनमा सहभागी हुने पाहुनाका लागि ‘वेलकम सेरोमोनी’ हुनेछ। साढे ११ बजेदेखि दिउँसो १ बजेसम्म पहिलो सत्रमा कनेक्टिभिटिले ल्याउने आर्थिक वृृद्धिका नयाँ स्रोतहरूबारे छलफल हुनेछ।

लगत्तै समूहमा फोटो खिचाएपछि अतिथिहरुका लागि ककटेल रिसेप्सन आयोजना गरिएको छ। अपरान्ह ३ः१५ देखि साँझ पौने ६ बजेसम्म तेस्रो सत्रमा सहभागी भएपछि राष्ट्रपति भण्डारी नेपाली दूतवासले उनको सम्मानमा आयोजना गर्ने रात्रीभोजमा सरिक हुनेछिन्।

१५ वैशाखः बेइजिङको चाओयाङमा बिहान उद्योग तथ व्यापार सम्बन्धी बैठकमा सहभागी भएपछि राष्ट्रपति भण्डारी दिउँसो भ्रमणमा निस्कनेछिन्। उनले भ्रमण गर्ने ठाउँहरु निर्धारण हुन बाँकी नै छ। साँझ ६ बजे अन्तर्राष्ट्रिय पुष्पकला प्रदर्शनी र त्यहाँ नेपालले बनाएको लुम्बिनी पीस गार्डेनमा सहभागी भएलगत्तै होटल फर्केर डिनर गर्ने कार्यक्रम छ।

१७ वैशाखः बिहान साढे ६ बजे राष्ट्रपति भण्डारीको टोली चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा प्रस्थान गर्ने भ्रमणतालिकामा उल्लेख छ। दिउँसो ल्हासा भ्रमण गरेपछि राष्ट्रपति भण्डारीसँग साँझ तिब्बतका नेताहरुले दुई पक्षीय हितका विषयमा छलफल गर्ने कार्यक्रम छ।

१८ वैशाखः बिहान ल्हासस्थित नेपाली महावाणिज्य दूतवासले राखेको स्वागत कार्यक्रममा सहभागी भएपछि राष्ट्रपति भण्डारीले दिउँसो टिबेट अटोनोमस डिस्ट्रिक (टीबीसी) को भ्रमण गर्ने कार्यसूची छ।

१९ वैशाखः बिहान ११ः५० बजे राष्ट्रपति भण्डारीले नेतृत्व गरेको नेपाली टोली काठमाडौं प्रस्थान गर्नेछ।

प्रतिक्रिया
सम्बन्धित