सोमबार, २ भदौ २०७६
DainikNepal.com
सोमबार, २ भदौ २०७६

केन्द्रीय समिति छैन : नेविसंघ स्थापना दिवस मनाउँदै

दैनिक नेपाल २०७६ वैशाख ७ गते ७:५३

काठमाडौं, ७ वैशाख । नेपाल विद्यार्थी संघलाई कांग्रेसको नर्सरी मानिन्छ । हाल कांग्रेसको नेतृत्वमा रहेका अधिकांश नेता नेविसंघकै उत्पादन हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

यस्तो गौरवशाली इतिहास बोकेको नेविसंघ अहिले भद्रगोल अवस्थामा छ । ४९औँ स्थापना दिवस मनाइरहँदा संघको केन्द्रीय कार्यसमितिसमेत छैन । तीन महिनाअघि नै निर्वाचित केन्द्रीय समितिको कार्यकाल समाप्त भएको हो । केन्द्रीय कार्यसमितिविहीन अवस्थामै संघले स्थापना दिवस मनाएको छ ।

१२औँ महाधिवेशन गर्न नसकेपछि तत्कालीन अध्यक्ष नैनसिंह महरले २८ माघमा राजीनामा दिएका थिए । नियमित दुई वर्ष र थप गरिएको पाँच महिनामा पनि महाधिवेशन गर्न नसकेकाले महरले म्याद सकिइसकेपछि राजीनामा दिएका थिए । पार्टीले समयमा विधान नदिँदा आफूले महाधिवेशन गर्न नसकेको उनको प्रस्टोक्ति थियो ।

तर, महरले राजीनामा दिएपछि तत्काल महाधिवेशन गर्न तदर्थ समिति गठन गर्ने तयारी भए पनि दुई महिनाभन्दा बढी बितिसकेको छ । नेविसंघको कार्यसमिति नभए पनि शुक्रबार स्थापना दिवस मनाइयो । जसमा माउ पार्टीका सभापति, महामन्त्रीलगायतका शीर्ष नेता सहभागी भए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले छिट्टै तदर्थ समिति गठन गर्ने आश्वासन दिएका छन् । नेविसंघको ४९औँ स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले ३२वर्षे उमेरहदको विषयलाई नेविसंघकैं नेताहरूसँगको छलफलबाट टुंग्याउने पनि उनले बताए । अघिल्लो कार्यसमितिले समयमा १२औँ महाधिवेशन गर्न नसकेपछि नेविसंघको कार्यसमिति स्वतः भंग भएको छ ।

सभापति देउवाले केपी ओली नेतृत्वको सरकारले एउटै पनि प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन् । सरकारले जनहितमा कुनै पनि काम गर्न नसकेको आरोप लगाएका हुन् । सरकारका कामकारबाही उल्टै आलोचित भएको भन्दै खबरदारी गर्ने वेला आएको उनले बताए ।

‘निर्मला पन्त हत्याकाण्डका हत्यारालाई सरकारले बचाउने काम गरिरहेको छ,’ देउवाले भने, ‘अर्कोतिर महँगी बढेको छ, कर बढाएको छ, चारैतिर सरकारको कामकारबाही अन्याय र अत्याचारतर्फ देखिँदा नेविसंघ अब जाग्नुपर्ने वेला आएको छ ।’ सरकारविरुद्ध सशक्त भएर उभिन देउवाले नेविसंघका नेता–कार्यकर्तालाई निर्देशन दिए ।

महामन्त्री डा. शशांक कोइरालाले सरकारको काम प्रभावकारी नभएको टिप्पणी गरे । सरकारलाई ‘कुरा गर्ने तर काम नगर्ने’को उपमा दिँदै कोइरालाले सरकारको गलत रबैयाविरुद्ध उत्रिन नेविसंघका नेता–कार्यकर्तालाई निर्देशन दिए । नेविसंघमा छिटोभन्दा छिटो तदर्थ समितिको आवश्यकता भएको उनको भनाइ थियो ।

नेता प्रकाशमान सिंहले सरकार गलत बाटोतर्फ अग्रसर रहेको भन्दै कम्युनिस्ट अधिनायकवादलाई परास्त गर्न कांग्रेस र नेविसंघ तयार हुुनुपर्ने बताए । सहमहामन्त्री डा. प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मासहितका नेताले अब छिट्टै नेविसंघको कार्यसमिति गठन गरेर संगठन विस्तारमा लाग्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित