शुक्रबार, १० जेठ २०७६
DainikNepal.com
शुक्रबार, १० जेठ २०७६

बालुवाटार जग्गा प्रकरणमा विष्णु पौडेलले फेरि मुख खोले, यस्तो रहेछ सत्य

दैनिक नेपाल २०७६ वैशाख ६ गते १९:१४

काठमाडौँ, ६ बैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले बालुवाटार जग्गा प्रकरणमा दोस्रोफटक विज्ञप्ति निकालेका छन् ।

पौडेलले गैरकानुनी रुपमा दर्ता भएका जग्गाको दर्ता बदर गरी सरकारको नाममा कायम गर्ने तथा यस्ता कार्यमा संलग्न व्यक्तिहरुलाई कानुन बमोजिम कारवाही गर्ने सरकारको अभियानमा आफूले सघाइरहेको जनाएका छन् ।

साथै, पाैडेलले २०६१ सालमा नवलपरासीको बर्दघाटस्थित आफ्नो ८ कठ्ठा जग्गा बेचेर आएको रकमले बालुवाटारमा ८ आना जग्गा खरिद गरेको प्रष्ट पारेका छन् ।

छोरा नविन पौडेलको नाममा २०६१ पुस २९ गते किनिएको ८ आना जग्गालाई लिएर विवाद आएपछि पौडेलले शुक्रवार साँझ वक्तव्यमार्फत जग्गा प्रकरणमा ६ बुँदे प्रष्टिकरण दिएका हुन् ।

उनले बालुवाटारस्थित सरकारी जग्गा गैरकानुनी रुपले व्यक्तिका नाममा भनाएको दर्ता बदर गरी सरकारकै नाममा कायम गर्न सरकारले चालेको कदमलाई स्वागत र समर्थन गरेका छन् ।

महासचिव पौडेलले आफू मन्त्री सांसद वा कुनै पनि तहको जनप्रतिनिधिको जिम्मेवारीमा नरहेको बेला बर्दघाटमा श्रीमतीको नाममा रहेको जग्गा बेचेर बालुवाटारको जग्गा खरिद गरिएको प्रष्ट पारेका छन् ।

उनले आफ्नो सो जग्गाबारे २०६४ मा संविधानसभा सदस्य निर्वाचित भएपछि र त्यसपछि मन्त्री हुँदा पनि सम्पत्ति विवरणमा उल्लेख हुँदै आएको बताएका छन् ।

यस्तो छ उनकाे वक्तव्य :

प्रेस वक्तव्य
१. नेपाल कम्युनिष्ट पार्टीको वर्तमान सरकारले मुलुकलाई जनआकांक्षाअनुरुप सुशासन, विकास र समृद्धिको नयाँ युगतर्फ अघि बढाइरहेको छ । समृद्ध नेपाल र सुखी नेपालीको संकल्प साकार हुने भरोसा मजबुत हुँदैछ । मुलुकमा सुशासन कायम हुन्छ, देशमा विकास हुन्छ, नेपालीले सुख–भोग गर्न पाउँछन्, विश्व मानचित्रमा नेपाल गौरवशाली राष्ट्रका रुपमा स्थापित हुन्छ र यो हाम्रै पुस्तामा हुन्छ भन्ने विश्वास बढ्दो छ । समाज रुपान्तरणका लागि चालिने हरेक कदममा सहभागी हुनु हामी सबैको साझा जिम्मेवारी हो । म यसअनुरुप अधि बढ्न प्रतिबद्ध छु र यसनिम्ति जस्तोसुकै जुनुसकै योगदान गर्न तत्पर छु ।

२. नेपाल कम्युनिष्ट पार्टीको वर्तमान सरकारले सरकारी तथा सार्वजनिक सम्पत्तिको खोजी गर्ने, प्राप्त गर्ने, संरक्षण गर्ने र राष्ट्रको हितमा सदुपयोग गर्ने कार्यलाई तीब्र गतिमा अघि बढाइरहेको छ । यसका लागि राज्यका सम्बन्धित संयन्त्रहरू परिचालित भएका छन् । खोजी तथा छानविनका कार्यहरू भइरहेका छन् । गैरकानुनी रुपमा दर्ता भएको जग्गाको दर्ता बदर गरी नेपाल सरकारको नाममा कायम गर्न, गैरकानुनी रुपमा जग्गा दर्ता गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई कानुन बमोजिम कारवाही गर्न र सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गर्ने प्रणालीलाई सुदृढ बनाउन वर्तमान सरकारले सञ्चालन गरिरहेको अभियानलाई सहयोग पु¥याउनु मैले मेरो कर्तव्य ठानेको छु । बालुवाटारस्थित सरकारी जग्गा गैरकानुनी रुपले व्यक्तिका नाममा भएको दर्ता बदर गरी सरकारकै नाममा कायम गर्न सरकारले गरेको निर्णय र चालेको कदमलाई पनि म हार्दिक स्वागत तथा समर्थन गर्दछु ।

३. म, मेरो छोरा नवीन पौडेलको नाममा रहेको बालुवाटारस्थित कित्ता नं. ३०९ को क्षेत्रफल ०–०–१–१ र कित्ता नं. ३१५ को क्षेत्रफल ०–७–२–३ (कूल आठ आना) जग्गाका सम्बन्धमा जनमानसमा भ्रम सिर्जना हुने र वास्तबिकता ओझेल पर्नेगरी प्रकाशित÷प्रसारित समाचारहरूप्रति दुःख व्यक्त गर्दछु । सरकारी जग्गा हडप्ने दुषित मनसायले कागज श्रेस्ता मिलाई किर्ते, जालसाजी वा गैरकानुनी कार्य गरी जग्गा दर्ता गर्ने वा गराउने कुनै कार्यमा म र मेरो परिवारका कुनै पनि सदस्यको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता नरहेको र कहिल्यै नरहने पनि अवगत गराउन चाहन्छु । मेरो निम्ति यस्तो अपराधजन्य गतिविधि सोच्नसमेत नसकिने बिषय हो ।

४. २०६१ पुस २९ गते काठमाडाैँ महानगरपालिका वडा नं. ४, बालुवाटारस्थित उक्त ८ आना जग्गाको दर्ता श्रेस्ता सम्बन्धित मालपोत कार्यालयमा बिक्री गर्ने व्यक्ति उमा ढकाल र माधवी सुवेदीको नाममा कायम रहेको र प्रचलित कानुनबमोजिम सम्बन्धित कार्यालयले खरिद बिक्री गर्न मिल्ने एकिन गरी लिखत पारित गरी लाग्ने राजश्व लिई छोरा नवीन पौडेलको नाममा पास गरिदिएको तथ्य पुनः स्मरण गराउँदछु । २०६१ असोज २४ गते नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नं. १० (साविक तिलकपुर गाउँ विकास समिति, वडा नं. ३) मा पूर्व–पश्चिम राजमार्ग नजिकै मेरो श्रीमतीको नाममा रहेको ८ कठ्ठा जग्गा बिक्री गरी प्राप्त श्रोतबाट उक्त जग्गा खरिद गरिएको र त्यतिबेला म विष्णुप्रसाद पौडेल मन्त्री, साँसद वा कुनै पनि तहको जनप्रतिनिधिको जिम्मेवारीमा नरहेको व्यहोरा पनि अवगत गराउन चाहन्छु ।

५. मैले काठमाडौँ महानगरपालिका वडा नं. ४, बालुवाटारस्थित उक्त ८ आना जग्गा २०६४ सालमा रुपन्देही जिल्लाबाट संविधानसभा सदस्यमा निर्वाचित भएपश्चात् बार्षिक रुपमा सम्पत्ति विवरणमा उल्लेख गरेको छु र मन्त्री भएका बखत सार्वजनिक गरिएको सम्पत्ति विवरणमा समेत उल्लेख हुँदै आएको छ ।

६. अन्त्यमा, यस सम्बन्धमा राज्यको औपचारिक र आधिकारिक निकायबाट यथाशीघ्र छानविन होस् र छानविनका निष्कर्षहरू कार्यान्वयन होउन् भन्ने अपेक्षा गर्दछु । राज्यको सम्पत्ति र राजनीतिक नेतृत्वको नैतिक मूल्यको पक्षमा चिन्ता र चासो व्यक्त गर्नुहुने सबैप्रति हार्दिक सम्मान व्यक्त गर्दछु । राज्यको आधिकारिक निकायबाट हुने छानविनका निष्कर्षहरू प्रति मेरो दृढ समर्थन रहनेछ । म माथि लगाइएका आरोपहरू पुष्टि गर्न सम्बद्ध सबैलाई आह्वान गर्दछु । साथै सत्यको कसीमा ती आरोपहरू स्वतः खण्डित हुनेछन् भन्ने दृढ विश्वास पनि व्यक्त गर्दछु ।

विष्णुप्रसाद पौडेल
मिति : २०७५ वैशाख ६
बुटवल – ८, रुपन्देही

प्रतिक्रिया
सम्बन्धित