शुक्रबार, १० जेठ २०७६
DainikNepal.com
शुक्रबार, १० जेठ २०७६

प्रधानमन्त्री ओली भोलि नवलपुर पुग्ने भएपछि सुरक्षा व्यवस्था कडा, विप्लवको बन्द फिर्ता

दैनिक नेपाल २०७६ वैशाख ६ गते १०:५१

-बिजय चालिसे 

कावासोती, ६ बैशाख  प्रधानमन्त्री केपी शर्मा ओली भोलि शनिबार नवलपुर आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । नवलपुरको सदरमुकामका रुपमा रहेको कावसोतीमा आवश्यक सरकारी कार्यालयहरू एकीकृत रुपमा स्थापनाको लागि शिलन्यास गर्न प्रधामन्त्री ओली  नवलपुरको सदरमुकाम कावासोती आउँदै छन् ।

एक सय ७९ बिघा क्षेत्रफलमा फैलिएको जग्गामा स्थानीय, प्रदेश र संघ अन्तर्गतका कार्यालयहरू स्थापना गर्ने योजना अनुसार प्रधानमन्त्री ओली शिलन्यासका लागि भोलि कावासोती आउने प्रतिनिधिसभा सदस्य तिलक महतले जानकारी दिए ।

केही समय अघिमात्र साँसद महतकै पहलमा नेपाल सरकारको नाममा ल्याइएको कावासोती नगरपालिका वडा नम्बर ३ स्थित जग्गामा जिल्लामा आवश्यक पर्ने सरकारी कार्यालयहरू स्थापना गरिने भएको हो । एकीकृत रुपमा कार्यालय व्यवस्थापन गर्दा नागरिकहरुले एकै स्थानबाट सबै सेवाहरू सहज रुपमा लिन सक्ने भएकाले अहिले यत्रतत्र छरिएर रहेका सरकारी कार्यालयहरु एकै ठाउँमा व्यवस्थित गर्न लागिएको साँसद महतले बताए ।

भोलि प्रधानमन्त्री ओलीसहित राष्ट्रिय सभा अध्यक्ष, अर्थमन्त्री, भौतीक पूर्वाधार मन्त्री र गण्डकी प्रदेशका मुख्यमन्त्रीलगायतका नेताहरु कावासोती आउने कार्यक्रम छ । प्रधानमन्त्री सहितका शिर्ष नेताहरु कावासोती आउनेभएपछि जिल्लाको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

जिल्ला सुरक्षा संयन्त्रको बैठकले प्रधानमन्त्री लगायतको सुरक्षामा कुनै कसर बाँकी नराख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालले जानकारी दिए । उनका अनुसार जिल्लाका विभिन्न ठाउँमा सादा पोशाकका प्रहरी परिचालन गरिनुका साथै तिनै तहका सुरक्षा निकायले सुरक्षा दिनेछन् ।

विप्लव नेतृत्वको नेकपाले प्रधानमन्त्री पुग्ने जिल्ला बन्द गर्ने पूर्वनिर्धारित कार्यक्रम भने नवलपुरमा स्थगित गरेको छ । बिहिबार मात्रै बन्द गरिएकाले सर्वसाधारणलाई थप मर्का हुने भन्दै शनिबार नवलपुर बन्द नगरिने पार्टीले विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित