सोमबार, २ भदौ २०७६
DainikNepal.com
सोमबार, २ भदौ २०७६

विप्लव समूहमा जिम्मेवारी हेरफेर : प्रकाण्डले पाए यस्तो जिम्मेवारी

दैनिक नेपाल २०७६ वैशाख ५ गते १४:४४

काठमाडाैँ, ५ बैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामा जिम्मेवारी हेरफेर गरिएको छ ।

निकै लामो समयदेखि गुमना रहेका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई मध्यकमाण्ड इन्चार्जको जिम्मेवारी दिइएको छ ।

हाल यो जिम्मेवारीमा रहेका हेमन्त प्रकाश ओली ‘सुदर्शन’ पक्राउ परेसँगै प्रकाण्डले जिम्मेवारी पाएका हुन् । पछिल्लाे समय प्रकाण्ड गुमनाम जस्तै थिए । उनी प्रवक्ताको जिम्मेवारी रहेको बताइएपनि केही महिनायता उनको नाममा पार्टीको औपचारिक विज्ञप्ति आउने गरेको थिएन ।

प्रहरीबाट पक्राउ परेपछि पार्टीका केही गोप्य दस्तावेज बाहिरिएको भन्दै उनलाई जिम्मेवारविहीन बनाइएको समेत हल्ला चलेको थियो । यति मात्र होइन विप्लव र प्रकाण्डबीच सम्बन्ध बिग्रिएको चर्चा पनि थियो ।

मध्य कमाण्ड इन्चार्जको भूमिकामा रहेका सुदर्शन चैत पहिलो साता काभ्रेबाट पक्राउ परेका थिए। सरकारले विप्लवको पार्टीलाई प्रतिबन्ध लगाएसँगै सुदर्शन पक्राउ पर्ने उच्चस्तरीय नेता हुन् ।

ओली पार्टीमा विप्लव र प्रकाण्डपछिको वरियतामा थिए । सरकारले गएको फागुन २८ गतेदेखि विप्लव समूहलाई प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया
सम्बन्धित