सोमबार, ६ जेठ २०७६
DainikNepal.com
सोमबार, ६ जेठ २०७६

प्रधानमन्त्री ओलीले भने : नेपाल अन्तरिक्ष युगमा प्रवेश गर्‍यो

दैनिक नेपाल २०७६ वैशाख ५ गते ११:०१

काठमाडाैँ,  ५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको बताएका छन् । नेपालको आफ्नै स्याटलाइट अन्तरिक्षमा पठाइएपछि उनले खुसी व्यक्त गर्दै नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले बिहिबार बिहान ट्वीट गर्दै स्याटलाइट निर्माणदेखि प्रक्षेपणको कार्यसम्म संलग्न सबै वैज्ञानिकहरुलाई बधाइ दिएका छन् । यसबाट नेपालको प्रतिष्ठा बढेको ओलीले बताएका छन् ।

बिहीबार बिहान २ः३१ बजे अमेरिकाको भर्जिनियाबाट नेपालको भूउपग्रह ‘नेपालीस्याट-१’ अन्तरिक्षमा प्रक्षेपण गरिएको छ । नेपाली भू-उपग्रहलाई एन्टारेस नामक वायुयानभित्र रहने सिग्नस कार्गो विमानमा राखेर अन्तरिक्षमा पठाइएको छ ।

जापानको क्यूटेक विश्वविद्यालयमा अध्ययनरत नेपाली वैज्ञानिक आभाष मास्के र हरिराम श्रेष्ठसहितको वैज्ञानिक टिमले भूउपग्रह अर्थात ‘नानो स्याटेलाइट’ निर्माण गरेको हो । भूउपग्रह निर्माणको नेतृत्व विश्वविद्यालयका वरिष्ठ अन्तरिक्ष वैज्ञानिकले गरेका छन् । जसलाई प्रत्यक्ष रुपमा नेपाली वैज्ञानिक श्रेष्ठ र मास्केले सहयोग गरेका हुन् ।

नार्थट्रोप ग्रुमान सिग्नस नामक मालवाहक अन्तरिक्ष यानबाट प्रक्षेपण भएको नेपाली भूउपग्रह १० सेन्टिमिटर लामो, १० सेन्टिमिटर चौडा र १० सेन्टिमिटर उचाईको तथा केबल १.३३ किलोग्राम वजनको छ ।

यो भू उपग्रह जापानको क्युसु इन्सटिच्युट अफ टेक्नोलोजी अन्तर्गतको बड्र्स परियोजनामार्फत निर्माण भएको हो भने यसको सबै खर्च नेपाली सरकारले व्यहोरेको छ । नेपाली भूउपग्रहसँगै सोही अन्तरिक्ष यानमा जापानी तथा श्रीलंकाली भू उपग्रह समेत प्रक्षेपण भएका छन् ।

नेपाली भू उपग्रह केही समय अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा रहने र त्यसपछि अन्तरिक्षमा छाडिने छ । नेपाली भू उपग्रह त्यसपछि पृथ्वीको सतहबाट ४ सय किलोमिटरको उचाईमा अन्तरिक्षको निम्नतहमा रहने छ ।

प्रतिक्रिया
सम्बन्धित