काठमाडौं, ४ वैशाख । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत एक दर्जन सहसचिवहरूको सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुपनारायण भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । राजधानी दैनिकले समाचार छापेको छ ।
यस्तै अर्थ मन्त्रालयअन्तर्गत साना ऋण व्यवस्थापन कार्यालयका विष्णु ढकाललाई प्रदेश २ मा, गृह मन्त्रालयका मनोहर खनाललाई गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा, घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शान्तबहादुर सुनारलाई कर्णाली प्रदेशको आर्थिक मामिला मन्त्रालयमा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सुशील ढकाललाई राष्ट्रिय सूचना आयोगमा, सूचना आयोगकी गीताकुमारी हुमागाइंलाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ ।
यसैगरी, श्रम मन्त्रालयका प्रल्हाद सापकोटालाई राष्ट्रिय दलित आयोगमा, प्रदेश ३ को मुख्यमन्त्री कार्यालयका रमेश सिवाकोटीलाई अर्थ मन्त्रालयमा, गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्रालयका फणिन्द्र पोख्रेललाई गृह मन्त्रालयमा, प्रदेश २ का सामाजिक विकास मन्त्रालयका देवीराम भण्डारीलाई आदिवासी जनजाति आयोगमा र सूचना विभागका महानिर्देशक बालकृष्ण घिमिरेलाई प्रदेश ३ को आर्थिक मामिला मन्त्रालयमा सरुवा गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ ।
राजधानी समाचारदाता। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएका सहसचिव रुपनारायण भट्टराईलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री कार्यालयले भट्टराईलाई विभागको महानिर्देशकका रूपमा पठाएको हो । कालो धन जम्मा गरी शुद्धीकरण गर्ने प्रयास गर्ने व्यक्तिहरूको छानबिन गर्न भट्टराईलाई विभागमा पठाइएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।
यातायात व्यवस्था विभागको महानिर्देशक रहँदा सिन्डिकेटधारीलाई कारबाही गरी चर्चामा आएका भट्टराई हक्की स्वभावका प्रशासकका रूपमा चिनिन्छन् । यातायात व्यवस्था विभागमा रहँदा उनले राजस्व छली गर्ने विभाग मातहतका विभिन्न कार्यालयमा कार्यरत दर्जनौं कर्मचारीलाई छानबिनको घेरामा ल्याएका थिए । सो क्रममा करोडौं रुपैयाँ राजस्वसमेत असुली भएको थियो ।















प्रतिक्रिया