८ कार्तिक २०८३, आइतबार

ठाकुरलाई संयोजक बनाउँदा दुई नेताको फरक मत

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ वैशाख । राष्ट्रिय जनता पार्टीको महाधिवेशन मूल आयोजक समिति गठनबारे नेताहरूले फरक मत राखेका छन् । गत बिहीबारको अध्यक्ष मण्डलको बैठकमा संयोजक शरतसिंह भण्डारीले महन्थ ठाकुरलाई मूल आयोजक समितिको संयोजक तोक्न प्रस्ताव गरेका थिए ।

उनको प्रस्तावमा सदस्यद्वय राजेन्द्र महतो र अनिलकुमार झाले समर्थन जनाए । तर, राजकिशोर यादव र महेन्द्र राय यादवले भने ठाकुरलाई अधिकारसमेत दिएर संयोजक बनाइनुपर्ने धारणा राखे । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

नेता यादवले आफूहरूले अधिकारसम्पन्न बनाएर मात्रै ठाकुरलाई महाधिवेशन आयोजक समितिको संयोजक बनाउनुपर्ने धारणा राखेको जानकारी दिए ।

‘महाधिवेशन आयोजक समितिको संयोजकमा ठाकुरजीको विकल्प छैन । तर, उहाँलाई संयोजक बनाउँदा बैठकले अधिकार के–के दिने हो, त्योसमेत तोकेर जाउँ भन्ने मेरो धारणा थियो,’ यादवले नयाँ पत्रिकासँग भने, ‘टिओआर नदिई संयोजक मात्रै बनाउँदा ठाकुरजीजस्तो व्यक्तित्व भएको व्यक्तिले अध्यक्ष मण्डलको बैठकलाई सोधिरहने कुरा आउँदैन ।’

राजपाले आगामी बैठकबाट एकल नेतृत्वमा जाने निर्णय गरिसकेको छ । ७ वैशाख २०७४ मा मधेस केन्द्रित पाँच पार्टी मिलेर बनेको राजपामा अध्यक्षको दाबी गर्ने धेरै छन् ।

धेरैमध्येबाट एउटा अध्यक्ष बनाउनुपर्ने र अन्य नेतालाई के पद दिने भन्ने व्यवस्थापन भइनसक्दा तोकिएको मितिमा महाधिवेशन नभएको निकटस्थ स्रोत बताउँछ । राजपामा महन्थ ठाकुर र राजेन्द्र महतोले अध्यक्ष दाबी गरिरहेका छन् । दुई नेताबीच पदीय मर्यादाक्रम नमिलेकाले महाधिवेशन सारिएको एक नेताले बताए ।

‘तयारी नपुगेकाले मिति सारिएको भनिए पनि मुख्य विषय पदमा भागबन्डा नमिलेकाले महाधिवेशन सारिएको हो,’ ती नेताले भने । स्रोतका अनुसार ठाकुरलाई अध्यक्ष र महतोलाई सहअध्यक्ष बनाउने गरी छलफल चलिरहेको छ ।