बुधबार, ११ असार २०७६
DainikNepal.com
बुधबार, ११ असार २०७६

काठमाडौंमा रेल कहिले ?

दैनिक नेपाल २०७६ वैशाख २ गते १०:२८

काठमाडौं, २ वैशाख । रेल सपना नेपालीका लागि नयाँ होइन। केपी ओली सत्तामा आएपछि मुलुकमा चाँडै रेल ल्याउँछौं भनेर गरेका भाषण निकै पुराना भइसकेका छन्। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

त्यसैले यति बेला आमजनताको जिज्ञासा छ– भारत वा चीनबाट त्यस्तो रेल काठमाडौं कहिले आउला ? चिनियाँ पक्षले प्रतिबद्धताअनुसार रेलमार्ग निर्माणमा पहल गरेको छैन भने भारतीय पक्षले पनि अध्ययन मात्र गरेको छ। दुवै तर्फबाट काठमाडौंसम्म आउने रेलको सम्भाव्यताको प्रारम्भिक अध्ययन भएको छ। चिनियाँ पक्षले रकमसमेत निकालिसकेको छ भने भारतीय पक्षले सम्भावना रहेको बताएको छ।

०७५ वैशाखमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीन भ्रमण क्रममा समकक्षी वाङ यीसमक्ष भनेका थिए, ‘नेपालबाट रेल चढेर बेइजिङ आउने मेरो सपना छ।’ वाङले मुस्कान छर्दै भनिहाले, ‘अब त्यो टाढा छैन र सम्बन्धको बाधक हिमाल हुन सक्दैन।’

तर, अहिलेसम्म रेल ल्याउन ठोस काम भएको छैन। मन्त्री ज्ञवालीसँग वाङले नेपालको विकासका लागि चीन सघाउन तयार रहेको बताएका थिए। विदेशमन्त्री वाङले बीआरआई परियोजनामा चिनिया“ रेललाई नेपालसँगको सहकार्यमा राख्नेमा जोड दिएका थिए। बीआरआईमा नेपाल सहमत भइसके पनि यसबाट कस्तो परियोजना लिने भन्ने स्पष्ट हुन सकेको छैन।

चीनले गत वर्ष प्रधानमन्त्री ओली बेइजिङ पुग्दा अर्को वाक्य पनि भनेको थियो, ‘चीन र भारतको साझा सहमति र सहयोगमा नेपालको विकास अघि बढ्नेछ। नेपाल, चीन र भारतको त्रिदेशीय आर्थिक करिडोर यस क्षेत्रको विकासको माग हो। यो निर्माण आवश्यक छ।’ यो धारणाले स्पष्ट हुन्छ– भारत र चीन नेपालबारे आपसी छलफल पनि उत्तिकै गर्छन्। केरुङ–काठामाडौं रेल प्रसंग आउँदै गर्दा वीरगन्ज–काठमाडौं रेलको अर्को खाका भारतबाट त्यसै आएको होइन।

परराष्ट्रमन्त्री ज्ञवालीले वैशाखमा चीन भ्रमण गर्नुअघि नै भारत भ्रमण गरेका थिए। प्रधानमन्त्रीसँग भारत भ्रमणमा रहेका बेला उनले भनेका थिए, ‘चीनबाट मात्र होइन, भारतबाट पनि काठमाडौंसम्म रेल पुग्न सक्छ। दुवै छिमेकबाट रेल आउँदा हामीलाई राम्रै हुनेछ। त्यसमा हामी पनि सहयोगी भएर सहकार्य गर्नुपर्छ।’

उनको तत्कालीन धारणा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिम्स्टेक शिखर सम्मेलनमा नेपाल आउँदा भएको सहमतिले पुष्टि गर्‍यो। त्यतिबेला रक्सोलबाट काठमाडौं रेल ल्याउने समझदारी भएको थियो। अहिले यसको अध्ययन अघि बढेको छ। नेपालले छिमेक पहिलो भन्दै दुवै छिमेकीलाई उत्तिकै महत्त्व दिएर अघि बढेको उनको धारणा थियो। यस्तो धारणा अहिले पुनः चर्चामा आउने देखिन्छ।

प्रतिक्रिया
सम्बन्धित