सोमबार, ९ वैशाख २०७६
DainikNepal.com
सोमबार, ९ वैशाख २०७६

प्रधानसेनापति थापा छिर्नुअघि जब कुलबहादुर बाहिरिए

दैनिक नेपाल २०७५ चैत ३० गते ११:३५

काठमाडौं, ३० चैत । ०६५ मा तत्कालिन प्रधानसेनापति रुक्माङ्गत कट्वाललाई कारबाहीको निर्णय गरी प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानसेनापतिको पत्र लिन पुगेका कुलबहादुर खड्का र सेनासँगको नैतिक सम्बन्धको गज्जबको ‘लुकाछिपी’ देखियो ।

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले आयोजना गरेको नयाँ बर्षको शुभकामना कार्यक्रममा कुलबहादुर र हालका सैन्य प्रमूख पूर्णचन्द्र थापाको प्रवेशका क्रममा यस्तो लुकाछिपी देखिएको थियो । तर, उक्त कार्यक्रममा रुक्मांगत कट्वाल भने देखिएका थिएनन् ।

कार्यक्रममा पूर्व सैन्य अधिकारी सबैलाई निम्तो गरिएको पोखरेलको स्वकीय सचिवालयले जनाएको छ ।

पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएको पहिलो कार्यकालमा कुलबहादुरमाथि सैन्य संगठनको मर्मअनुसार राजनीतिक नियुक्ति लिन बालुवाटार पुगेको आरोप लागेको थियो । त्यहाँदेखि संगठनका अधिकारीले उनलाई मन पराउन छाडेका थिए ।

यसै पनि सेनाका बाहलवाला र पूर्व अधिकारी रक्षामन्त्रीको चियापानमा आउनु स्वभाविक थियो । तर, सेनामा राजनीतिक दुशाग्रहको मानचित्र स्थापित गरेको र तत्कालिन प्रधानसेनापति रुक्मांगत कटुवालले कारबाही गरेका उनका सेकेन्डम्यान कुलबहादुर खड्का प्रधानसेनापति थापा छिर्नुअघि हठात् बाहिरिएका थिए । यो संयोगको खास कारण भने पत्तो लागेको छैन ।

तर, सैनिक अधिकारीहरू भन्छन्,‘कुलबहादुरले सेनामा स्थापित गराउन खोजेको नजिर गलत थियो, हालका प्रधानसेनापतिसम्मले त्यो नजिरको विरोध गरेका कारणले उनी अनुहार देखाएर कार्यक्रममा बसीरहन सक्ने थिएनन् ।’

कुलबहादुर कसरी चर्चामा ?

उक्त प्रकरणपछि कुलबहादुरको नाम भन्दा बढी बद्नामी भयो । तर, उनले केही मिडिया फोरममा भने आफूले कुनै बद्मासी नगरेको तत्कालिन सरकारको निर्णयअनुसार आफू कायममुकायम प्रधानसेनापति भएको दाबी गरेका थिए ।

उनले सेनामा राजनीति छिराउने काम काम कट्वालबाट भएको र आफ्नो थमौतिका लागि भारतसहित राष्ट्रपति र १८ दलको समर्थन लिएबाट पुष्टि भएको बताएका थिए ।

उनका कतिपय बयानमा भने तत्कालिन एमाले अध्यक्ष तथा सरकार साझेदारीको नेतृत्वको गरेका झलनाथ खनालको बैगुनका कारण आफू मारमा परेको भन्ने पनि उल्लेख छ । जबकि, खनाल आफ्ना सहपाठी भएको उनले बताउँदै आएका छन् ।

कुलबहादुर चर्चामा आउनुको अर्को कारण तत्कालिन प्रधानसेनापति रुक्माङगत कट्वालको आत्मकथामा उनको भूमिकाको चर्चा पनि हो । उक्त आत्मकथामा उनलाई ‘भिलेन’का रूपमा उभ्याइएको छ ।

यद्यपि, त्यहाँ उल्लेख गरेका कतिपय विषय तथ्यगत रहेको वा तथ्यहिन भन्ने विषयमा पनि चर्कै बहस जारी छन् ।

प्रतिक्रिया
सम्बन्धित