सोमबार, ९ वैशाख २०७६
DainikNepal.com
सोमबार, ९ वैशाख २०७६

यी हुन् खेलाडीको नाममा धन्दा गर्ने मदनकुमार, तीन पाने स्पष्टीकरणले ठहरै

दैनिक नेपाल २०७५ चैत २९ गते ११:३३

काठमाडौं, २९ चैत । करातेका वरिष्ठ प्रशिक्षक मदनकुमार उप्रेतीलाई राष्ट्रिय खेलकुद परिषदले छानविन समिति बनाएर छानविनको दायरमा राखेर अनुसन्धान थालेको छ ।

उप्रेतीले जिल्ला खेलकुद विकास समिति झापामा वरिष्ठ प्रशिक्षक भएर बसेका बेला विभिन्न गलत कार्य गरेपछि परिषदले आफ्ना सदस्य देवकुमार अधिकारी ‘बद्री’को अध्यक्षतामा छानविन समिति बनाएको थियो ।

अधिकारी अध्यक्ष रहेको समितिले उप्रेतीसँग फागुन १३ गते तीन पानाको ९ बुँदे स्पष्टीकरण मागेको छ ।

परिषदले लिखित स्पष्टीकरण मागेपछि करातेका वरिष्ठ प्रशिक्षक उप्रेती तनावमा परेका छन् । उप्रेतीले करातेको नाममा दिएको १५ धुर जग्गा आफ्नो श्रीमती मीना उप्रेतीको नाममा गरी तीन तले घर बनाएको अख्तियारमा उजुरी परेको छ ।

उप्रेतीका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियारले पत्र पठाएपछि परिषदलाई तनाव भएको थियो । त्यसपछि अधिकारीको अध्यक्षतामा छानविन समिति बनाएर उप्रेतीमाथि अनुसन्धान शुरु भएको छ ।

करातेका वरिष्ठ प्रशिक्षक उप्रेतीलाई आर्थिक अनियमितता, अख्तियारी दुरुपयोग, गैर खेलाडीलाई सेवा सुविधा दिएको, विदेश पठाएको लगायतका आरोप छन् । उप्रेतीले आफू संलग्न नै नरहेको संघ र संस्थाका नाममा पनि ठूलो बदमासी गरेका छन् ।

उप्रेतीले खेलकुदका नाममा नक्कली स्टिकर बनाउनेदेखि गोप्य कागजपत्र बनाएर खेलाडीहरूसँग अबैध असुली गरेको आरोप पनि छ ।

खेलाडीको नाममा आफूलाई फाइदा पुग्ने गरेर उप्रेतीले शंकास्पद गतिविधि गरेको उजुरी न्यायिक निकायहरूमा परेपनि कारबाही भएको थिएन । यस पटक उनीविरुद्ध परिषद र अख्तियारले हदैसम्मको कारबाही गर्ने संकेत देखाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित