८ कार्तिक २०८३, आइतबार

जो दोषी, उही न्यायाधीश !

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ चैत । जिल्ला अदालतबाट उच्च अदालतमा सिफारिस ६ मध्ये ५ न्यायाधीशको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको प्रमाण कान्तिपुरले फेला पारेको छ ।

परिषद्का सदस्यद्वय रामप्रसाद सिटौला र पदमप्रसाद वैदिकले न्यायपरिषद्मापेस गरेको छानबिन प्रतिवेदनमा राजेशकुमार काफ्ले, लेखनाथ ढकाल, कुलप्रसाद शर्मा, महम्मद जुनेद आजाद र नगेन्द्रलाल कर्णमाथि थप छानबिन र कारबाहीको सिफारिस गरिएको छ ।

छानबिनमा नपरेका बालमुकुन्द दवाडी ललितपुरको बलात्कारसम्बन्धी एक मुद्दामा अस्वाभाविक थुनछेक आदेश गरेकाले विवादित छन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

प्रतिवेदनमा उल्लिखित ५ न्यायाधीशमध्ये ४ जनामाथि विस्तृत अनुसन्धान र कार्यक्षमता अभावमा कारबाहीको सिफारिस गरिएको थियो । एक जनामाथि भने सचेत गराउने निर्णय भएको थियो ।

कारबाहीका लागि सिफारिस गरिएको प्रतिवेदनमा हस्ताक्षर गरेका न्यायपरिषद् सदस्यद्वयले नै तिनै न्यायाधीशलाई उच्च अदालतको न्यायाधीश सिफारिस गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

‘हामीले त्यतिबेला प्रतिवेदनमा थप छानबिन हुनुपर्छ भनेको हो । पछि ओमप्रकाश श्रीमान् (पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र) का पालामा उहाँहरूमाथिको उजुरी पुष्टि नहुने भनी तामेलीमा राखियो,’ न्यायपरिषद्का एक सदस्यको भनाइ उद्धृत गर्दै परिषद् स्रोतले भन्यो, ‘नैतिक प्रश्न त हो । तर कानुनी रूपमा दोषी नहुने भएकाले सिफारिस गरेका हौं ।’

न्यायपरिषद् स्रोतका अनुसार प्रारम्भिक प्रतिवेदनको सिफारिसका आधारमा अरू छानबिन पनि भएको थियो । कारबाही हुनुपर्ने भनी प्रतिवेदन पनि तयार भयो ।

त्यसैबेला तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले अवकाश लिइन् । त्यसपछिका प्रधानन्यायाधीश गोपाल पराजुली र ओमप्रकाश मिश्रले कुनै कारबाही गरेनन् । बरु थप छानबिन गरेर प्रमाण नभेटिएको भनी धमाधम उजुरी तामेलीमा राख्ने निर्णय भयो ।