काठमाडौं, २० चैत । विनाशकारी हावाहुरीका कारण बारा र पर्साका दुई हजार घरपरिवार प्रभावित भएको गृह मन्त्रालयले जनाएको छ ।
गृहको तथ्यांकअनुसार एक हजार घर भत्किएका छन् भने एक हजारमा आंशिक असर परेको छ । ‘बारामा एक हजार नौ सय घरमा हावाहुरीको असर परेको तथ्यांक छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
पर्सामा करिब ६० घरमा क्षति पुगेको छ,’ राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले भने, ‘धेरै गरिब नै पीडित बनेका छन् । उनीहरूका कमजोर घर र टहरा उडाएको छ । धनीहरूका पक्की घर भएकाले असर कम छ ।’
आइतबारको हावाहुरीमा मृत्यु हुनेको संख्या २८ पुगेको छ । उपचारका क्रममा फेटा गाउँपालिका–६ का खयाग आलमको मंगलबार मृत्यु भएको हो । सोमबारसम्म २७ को मृत्यु भएको थियो ।
गृह मन्त्रालयका अनुसार अझै २ सय ४५ जनाको उपचार भइरहेको छ । २ सय ३३ को पर्सा, ३ को बारा र ९ को काठमाडौंमा उपचार भइरहेको छ । हावाहुरीमा करिब सात सय घाइते भएका थिए ।
यस्तै गृहले मृतकका परिवारलाई एक लाखका दरले राहत रकम बारा र पर्सा पठाइसकेको छ । प्राकृतिक विपत्मा मृत्यु भएकाको परिवारलाई सरकारले एक लाख दिने गरेको छ । घाइतेको उपचार खर्च सरकारले नै व्यहोर्ने निर्णय मंगलबार नै गरिसकेको छ । गृहले पीडित परिवारसम्म राहत पुगिसकेको दाबी गरेको छ । त्रिपाल र खाद्यान्न कतै अपुग नभएको आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख खनालले बताए ।
बारा र पर्साका हावाहुरी प्रभावितलाई प्रदेश ३ सरकारले एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ । प्रदेश ३ मन्त्रिपरिषद्को मंगलबारको बैठकले सो निर्णय गरेको हो । सोमबारको प्रदेश सभा बैठकमा अधिकांश सांसदले प्रदेश २ छिमेकी प्रदेश भएकाले तत्काल सहयोग गर्नुपर्ने धारणा राखेका थिए । त्यसैलाई आधार बनाएर मंगलबारको मन्त्रिपरिषद् बैठकले एक करोड दिने निर्णय गरेको आर्थिक मामिला योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।
कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेश ३ का सांसदबाट तीन दिनको तलब सहयोग गर्ने निर्णय गरेको छ । प्रमुख प्रतिपक्ष कांग्रेस सचेतक छिरिङ दोर्जे लामाका अनुसार प्रदेश सभाका एक सय नौजना सांसदबाट तीन दिनको तलब कट्टा गरिनेछ । सोमबार मुख्यमन्त्री डोरमणि पौडेल, आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल र सांसद दीपक निरौलासहितको टोली हुरी प्रभावित क्षेत्रमा पुगेको थियो ।
बारा र पर्साका हावाहुरीपीडितलाई राहत र आवास पुनर्निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । प्रदेश सभा सदस्यहरूले एक दिनको तलब दिने भएका छन् । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले पीडितको राहत र पुनस्र्थानाका लागि प्रदेश २ सरकारलाई एक करोड सहयोग गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए । प्रदेश सभामा ५३ सदस्य छन् ।
प्रदेश २ सरकारको विपद् कोषको खातामा यो रकम जम्मा गरिने उनले बताए । ‘हावाहुरीबाट ठूलो क्षति भएको छ । यो दुःखद घडीको सामना गर्न सुदूरपश्चिम प्रदेश सरकार पनि साथमा छ,’ प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री शाहले भने, ‘अकल्पनीय पीडा भोगिरहेका त्यहाँका जनताका लागि प्रदेशले थोरै भए पनि सहयोग गर्न खोजेको हो ।’
सुदूरपश्चिम प्रदेश सभा बैठकले बारा र पर्सामा हावाहुरीबाट ज्यान गुमाएकाप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । सभामुख अर्जुनबहादुर थापाले गरेको शोक प्रस्ताव प्रदेश सभाले पारित गरेको हो । बैठकमा हावाहुरीमा ज्यान गुमाएकाको सम्झनामा एक मिनेट मौनधारणसमेत गरिएको थियो । शोक प्रस्ताव पारित भएपछि १५ मिनेटका लागि बैठक स्थगित भएको थियो । त्यसपछि बसेको अर्को बैठकमा प्रदेश सभा सदस्यहरूले पाउने एक दिनको तलब हावाहुरीपीडितको राहत र पुनस्र्थापनामा सहयोग गर्ने जानकारी दिइयो । उपसभामुख निर्मला बडाल जोशीले प्रदेश सभामा रहेका सबै पार्टीका संसदीय दलका नेताहरूको प्रस्तावमा प्रदेश सभाका सदस्यको एक दिनको तलब पीडितका लागि दिने निर्णय भएको जानकारी गराइन् ।
कर्णाली प्रदेशका सांसदहरूले बारा र पर्साका हावाहुरी प्रभावितलाई चार दिनको तलब दिने सार्वजनिक महŒवको प्रस्ताव पेस गरेका छन् । मंगलबारको प्रदेश सभा बैठकमा विशेष समय लिएर कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सो प्रस्ताव पेस गरेका हुन् ।
हावाहुरी प्रभावितलाई आवश्यक राहत दिने निर्णय गर्ने गरी रुलिङ गर्न उनले सभामुखसँग माग गरे । ‘बारा र पर्सा अहिले हावाहुरीले दिएको पीडाबाट आक्रान्त छ,’ उनले भने, ‘त्यहाँका नागरिकको पीडा कर्णालीवासीको पीडा पनि हो, त्यसैले कर्णाली सरकारले आवश्यक राहतको व्यवस्था गर्ने निर्णय गर्नुपर्दछ ।’
बारा र पर्साका हावाहुरी प्रभावितलाई तत्काल राहत दिन प्रदेश २ सरकारले ६ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ । मंगलबार बसेको राहत तथा उद्धार व्यवस्थापन समिति बैठकले पूर्णरूपमा घर क्षति भएको परिवारलाई चार महिनाभित्रै प्रि–फ्याब घर निर्माण गरी उपलब्ध गराउने निर्णय गरेको छ । साथै, तत्काल अस्थायी बसोवासका लागि त्रिपाल र टेन्टको व्यवस्था गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले बताए ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले बारा–पर्सामा हावाहुरीबाट मृत्यु भएकाका परिवारलाई पार्टीले पाँच–पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । राहत सामग्री वितरण गर्न मंगलबार बाराको फेटा पुगेका प्रचण्डले सहयोग घोषणा गरेका हुन् ।
‘हावाहुरीका कारण मृत्यु भएका परिवारका लागि पार्टीको तर्फबाट प्रतिपरिवार पाँच लाख दिने व्यवस्था गर्छौँ,’ प्रचण्डले भने, ‘पीडितका घर बनाउन सरकारले सहयोग गर्छ, घाइतेको निःशुल्क उपचार हुन्छ ।’ प्रचण्डले वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत घाइतेलाई पनि भेटेका छन् ।
कांग्रेसले हुरी प्रभावितलाई २५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने जनाएको छ । सभापति शेरबहादुर देउवाले मंगलबार बाराको फेटा गाउँपालिका पुगेर सहयोगको घोषणा गरेका हुन् । सोमबार कांग्रेसका ६३ सांसदले दुई दिनको तलब हुरी प्रभावितलाई दिने सो पार्टीको संसदीय दलले बताएको थियो ।
कांग्रेस उपसभापति विमलेन्द्र निधिले राहत कोषमा छुट्टै १० लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् । निधिले पार्टीको प्रदेश २ र आफ्नोतर्फबाट गरी १० लाख रुपैयाँ आर्थिक सहयोग घोषणा गरेका हुन् । यसरी कांग्रेसका तर्फबाट ४५ लाख रुपैयाँ आर्थिक सहयोगको घोषणा भएको छ ।















प्रतिक्रिया