१ कार्तिक २०८३, शनिबार

युरोप क्षेत्रको क्षेत्रीय साइबर बैठक सम्पन्न

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लन्डन । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गत युरोप क्षेत्रको क्षेत्रीय साइबर बैठक सम्पन्न भएको छ ।

२४ मार्च २०१९ मा क्षेत्रीय संयोजक शिव बरुवालको अध्यक्षतामा सम्पन्न बैठकले १२ औँ युरोपेली भेला अगस्ट ३ र ४ मा इटालीको रोममा गर्ने निर्णय सर्वसम्मतिले पारित गरेको छ ।

बैठकमा संस्थाले विगतमा गरेका गतिविधिको समीक्षा गर्दै आगामी कार्ययोजनाको बारेमा समेत छलफल गरिएको थियो ।

बैठकमा युरोपेली क्षेत्रमा रहेका गैरआवासीय नेपालीहरूलाई सङ्घको सदस्यता वितरण त्यसको व्यवस्थापन तथा नवीकरण लगायतका विषयमा सचेत गराउने र हाल भइरहेको पहललाई समेत थप सार्थक बनाउने गरी अघि बढ्ने निर्णय गरिएको छ ।

युरोप क्षेत्रमा नेपाल महोत्सवको आयोजना गर्ने र नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन व्यापक प्रचार प्रसार गर्ने निर्णय समेत गरिएको छ ।

बैठकबाट १२ औँ युरोपेली भेला लाई भव्य रूपमा सम्पन्न गर्नको लागि युरोप संयोजक शिव बरुबालको संयोजकत्वमा युरोप क्षेत्रका सम्पूर्ण आइसीसी सदस्य एनसीसी अध्यक्ष आयोजक राष्ट्र इटालीका उपाध्यक्ष महासचिव समेत रहने गरी एक मूल आयोजक समिति गठन गरेको छ ।

युरोप उप–संयोजक गोविन्द प्रसाद गौतमले सञ्चालन गर्नुभएको बैठकमा युरोप क्षेत्रका महिला उपसंयोजक , युवा उपसंयोजक साथै एनसीसी अध्यक्षहरूले आफ्नो प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सदस्यता वितरणको लागि सङ्घले सुरु गरेको नयाँ डिजिटल प्रविधिलाई सहज बनाउनुपर्ने र डाटा सुरक्षाको ग्यारेन्टी हुनुपर्ने धारणा राखेका थिए ।

आइसीसी सदस्यहरूले आइसीसी र एनसीसीबीच समन्वयलाई थप प्रभावकारी बनाउनुपर्ने विषयमा चर्चा गरे ।

बैठकमा आइसीसी उपाध्यक्षद्वय कुमार पन्त र सपिला राज भन्डारीले सम्बोधन गर्दै आगामी कार्ययोजनाको बारेमा जानकारी गराए ।

युरोप का २८ राष्ट्रमा फैलिएर रहेको एनआरएनए युरोप क्षेत्रको बैठकमा युरोप क्षेत्रका विभिन्न एनसीसी अध्यक्ष तथा महासचिवहरू,आइसीसी सदस्यहरू युरोप क्षेत्रका उप–संयोजकहरू महिला उपसंयोजक , युवा उप–संयोजक लगायतको सहभागिता रहेको थियो ।