बुधबार, ११ असार २०७६
DainikNepal.com
बुधबार, ११ असार २०७६

काठमाडौँ कोलाज !

क्षितिज समर्पण २०७५ चैत ९ गते ११:०२

–क्षितिज समर्पण

फेरि साँझ पर्‍यो ।
चारो खोज्न निस्केका चराहरु गुँड फर्किसके होलान् ।
म पनि एक चरा न हुँ !

डेरा फर्किदैछु । डेरा–मेरो गुँड । जहाँ, एक थान श्रीमती र एक थान बचेरो छन् ।
कुनै दिन साँझ नपर्दै डेरा पुग्न पाए कस्तो हुँदो हो !

अँ ! एकदिन घाम नअस्ताउदै पुगेको छु ।

‘आज किन टायममै आइसेको बाबा ?’ छोराले प्रश्न ग¥यो ।
यस्तो लाग्छ, उसका लागि बाबा भनेको रात परेपछि मात्र डेरा पुग्ने ‘जिनिस’ हो ।
उसका लागि म समयमै डेरा पुग्नु भनेको आठौं आश्चर्य जस्तो हुन्छ ।

उसको प्रश्नको जवाफमा मेरा आँखा भरिए । उसलाई आँसु देखाउनु हुँदैन ।
आँसु निल्ने कोसिस गरे । टाबेलले मुख पुछेजस्तो गरेँ । उसलाई विश्वास छ–बाबा अहिलेसम्म रोएको छैन ।

र, ऊ ठान्छ–बाबा कहिल्यै रुँदैन ।

उसलाई थाहा छैन, उसको बाबाले ऊ निदाइसकेपछि कयौं रात सिरानी भिजाएको छ ।
थाहा पाए भन्दो हो–रुन्चे बाबा !

अफिसको समय ६ बजेसम्म हो । तर, ६ बजे नै बिरलै दिन निस्किन्छु । जिम्मेवारीले निस्किन पनि दिदैन ।
कामको चाप देखेर निस्किन मन मान्दैन । निष्ठुरी हुन सकिदैन ।
कहिलेकाहिँ आफ्नै मनप्रति पनि गुनासो गर्छु–किन यति ‘मोह’ मान्छ यो मन ?
र, कहिलेकाहिँ सोच्छु–सरल छु र त, सबैको प्रिय छु !

अफिसमा कामको चाप धेरै भएको समय राती साढे ९, १० बजेसम्म बसेको इतिहास पनि छ । सवा ६, साढे ६, सात त सामान्य भइ नै हाल्यो ।
अचेल भने पारिवारिक समस्याका कारण सकेसम्म समयमै निस्किने अभ्यास गरिरहेको छु ।
सात बज्नै आँटेको छ ।

सडकको निधारमा बत्तिहरुको राँके जुलुस छ । नजिकै आइरहेको रातविरुद्ध नारावाजी गर्न तयार जस्ता देखिन्छन् सडक छेउमा उभिएका पोलहरु ।
यस्तो लाग्छ केहिबेरमा जिन्दावाद र मुर्दावादको नारा लाग्नेछ ।

र, यो पुरै सहर केहीबेरमै बत्तिहरुको आक्रमणमा पर्नेछ ।

सडक बत्ती नभएको ठाउँमा मान्छे ठम्याउनै गाह्रो पर्छ । धमिल देखिन्छन् अनुहार ।
यो अध्याँरोको फाइला कसलाई होला ?

मान्छे जिन्दगी उज्यालो बनाउन खोज्छ । तर, जिन्दगी उज्यालो बनाउने विकल्प उसले अँध्यारोमा पनि खोज्छ । वा भनौँ जिन्दगी उज्यालो बनाउन उसले अँध्यारो बाटो रोज्न परे पनि पछि पर्दैन ।

हाय ! हामी मान्छे !

घन्टाघर पुगेँ । उसले छिटो हिड्न निर्देशन दियो ।
मेरा पाइलाहरु छिटोछिटो अघि बढ्न खोजे ।
‘सरी ! ’

जामे मस्जिदनेर कोही ठोक्कियो ।
ऊ पनि हतारमै हुँदो हो ।

आकाशे पुल उक्लिएँ । दिउँसो यहि पुलमा बसेर एअरफोन, चार्जर, मोजा, तेल जस्ता सामान बेच्नेहरु पनि आफ्नो गुँड फर्किसकेछन ।
जीविका चलाउन के–के उपाय निकाल्छ मान्छे ।

यहाँ, पैसा बेचेर पैसा कमाउने मान्छेहरु पनि छन् ।
‘कति दिनुहुन्छ भन्नुस् न त !’ पुलको दायाँपट्टीबाट स्त्री आवाज आयो ।
एउटा पुरुष छेउमै उभिएको थियो ।
म वेवास्ता गर्दै अगाडि बढेँ ।

‘होल नाइट भए १५ सय भन्दा मुनि त हुँदै हुँदैन !’
पुलको बायाँपट्टी अर्को स्त्री आवाज आयो ।

थोरै रोकिएर उसलाई हेरेँ । मुखमा माक्स लगाएकी स्त्रीछेउ एउटा अधबैंसे पुरुष ‘बार्गेनिङ’ गरिरहेछ ।
हरेक साँझ देखिने यस्ता दृश्य मलाई अनौठा लाग्न छोडिसके । यो मोलमोलाई हेरक दिन भइरहेछ ।
सुरु सुरुमा काठमाडौं आएको बेला भने निकै अचम्म लागेको थियो ।

रत्नपार्क ओर्लेर माइक्रो चढेँ ।
–मान्छेको मूल्य कति होला ?
–यौवनको मूल्य कति होला ?
–किनबेच गरेको यौन आनन्ददायक हुन्छ होला ?
–एउटी स्त्री किन देहव्यापारमा लाग्छे ?
–यो उसको अन्तिम विकल्प हो ? या सजिलो विकल्प ?
–एकदिनमा कतिजनासङ्ग हुन्छ उसको यस्तो सम्बन्ध ?
–पीडाका बीच कसरी तयार हुन्छे ऊ ?
–र, एउटा पुरुष किन यति हिंस्रक हुन्छ ?

यस्तो लाग्छ, हरेक साँझ आकाशे पुलमा बसेर एउटी स्त्री बलात्कारका लागि आह्वान गर्छे । र, एउटा पुरुष बलात्कारका लागि तयार हुन्छ ।
सोच्दा सोच्दै माइक्रो स्टेशन आइपुगेँ ।

अघि रत्नपार्कको आकाशे पुलमा ‘बार्गेनिङ’ गर्नेहरुको स्टेशन चाहिँ कहाँ होला ? के उनिहरु पनि आफ्नो स्टेशन पुगे होलान् ?
कहाँ होला उनीहरुको जिन्दगीको स्टेशन ?

म आफ्नै स्टेशन आइपुगेँ ।
अर्थात्, मेरो प्रिय डेरा !
जहाँ, दुई वर्षदेखि जिन्दगीका हिउँद, वर्षाहरु छलिरहेको छु ।

प्रतिक्रिया
सम्बन्धित