३ कार्तिक २०८३, मंगलबार

माथिल्लो त्रिशुली थ्री ‘बी’को सेयर खुला, पहिलो आवेदन प्रधानमन्त्री ओलीको

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, ७ चैत । सरकारले ल्याएको ‘नेपालको पानी जनताको लगानी, सबै नेपाली विद्युतको सेयरधनी’ कार्यक्रमको औपचारिक सुरुवात आजदेखि भएको छ । माथिल्लो त्रिशुली थ्री ‘बी’को  साधारण सेयर (आईपीओ) आजदेखि खुला भएसँगै कार्यक्रमको औपचारिक सुरुवात भएको हो ।

सरकारको यो कार्यक्रमअन्तर्गत सेयरका लागि आवेदन प्रति कित्ता १० रुपैयाँका दरले नै दिन सकिनेछ । प्रतिकित्ता १ सय रुपैयाँ पर्नेमा पहिलो चरणमा सेयर किन्ने प्रतिवद्धतास्वरुप सरकारले १० प्रतिशतमात्रै रकम तिरेर आवेदन दिन सकिने नियम बनाएको हो ।

त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडअन्तर्गतको ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘बी’ आयोजनाको पहिलो आईपीओ किन्न प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार आवेदन दिएका छन् ।

उनले १० हजार कित्ता सेयरका लागि आवेदन दिएका उनको सचिवालयले जनाएको छ । आयोजनाको आईपीओ किन्न प्रधानमन्त्री ओलीले ग्लोबल आईएमई क्यापिटल र नेपाल डीपी लिमिटेडमा २ वटा डिम्याट खाता खोलेका थिए ।

यसैगरी, प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि १० हजार कित्ताको आवेदन गरेकी छन् । उर्जामन्त्री बर्षमान पुन ‘अनन्त’ ले १ हजार कित्ता र पूर्व सभामुख ओनसरी घर्ती मगरले २ हजार कित्ताको आवेदन दिएका छन् ।

सेयर खरिद गरेपछि प्रधानमन्त्री ओलीले आज नयाँ अभ्यासको थालनी भएको बताए । प्रधानमन्त्री ओलीले आम सर्वसारधणलाई यस प्रकारका आयोजनामा लगानी गर्न प्रोत्साहित गर्न आफूले पहिलो सेयर खरिदका लागि आवेदन दिएको बताए ।

प्रधानमन्त्री ओलीले मौरीले थोरै थोरै फूलको रस संकलन गरेर धेरै मह जम्मा गरेजस्तै नेपालीको थोरै थोरै लगानीले ठुला आयोजनाहरु निर्माण गर्न सकिने बताए । ‘मौरीले फूलको थोरै रस संलकन गरेर मह जम्मा गरे जस्तै हामीले थोरै थोरै लगानीमा सबै जनतालाई सहभागिता गराएर ठुला आयोजनाको निर्माण गर्न सक्छौं’, उनले भने, ‘यस्तो अभियान पर्यटन, कृषि आदिका क्षेत्रमा पनि सञ्चालन गर्न सकिन्छ ।’

फागुन २ गते ‘जनताको जलविद्युत् आयोजना’ कार्यक्रम घोषणा समारोहमा नै प्रधानमन्त्रीले पहिलो सेयर आफूले किन्ने बताएका थिए । नेपाली नागरिकको लगानीमा नै तीन हजार ५ सय मेगावाट क्षमताका आयोजना निर्माण गर्ने लक्ष्यका साथ यो कार्यक्रम सुरू गरिएको हो ।

वहालवाला तथा सेवा निवृत भइसकेका पूर्वशिक्षक, कर्मचारी तथा सुरक्षाकर्मीहरुले पनि यस्ता आयोजनाहरु सञ्चालन गर्न सक्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘यो कार्य आफ्नो देश आफैं बनाउँ अभियानको सुरुवात हो’ प्रधानमन्त्री ओलीले भने, ‘यसमा सहभागी हुनका लागि विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई म आह्वान गर्दछु । यस्तो अभियानले देशलाई छिटो समृद्धिमा पुर्याउन सकिन्छ ।’

त्रिशूली जलविद्युत् कम्पनीका अनुसार, पहिलो चरणमा ३७ लाख ५ हजार कित्ता साधारण सेयर बिक्री खुला गरिनेछ । ‘जनताको जलविद्युत् कार्यक्रम’अन्तर्गत साधारण सेयर बिक्री गर्न लागिएको यो पहिलो जलविद्युत् कम्पनी हो । कम्पनीको सेयर निष्काशन छिटोमा यही चैत ११ गते र ढिलोमा आगामी वैशाख ६ गतेसम्म हुनेछ ।

कम्पनीको जारी पुँजी रु दुई अर्ब ४७ करोडको १५ प्रतिशत अर्थात् रु ३७ करोड पाँच लाख बराबरको रु १०० अंकित दरको ३७ लाख पाँच हजार कित्ता सेयर बिक्री गर्न लागिएको हो । अग्रिम रुपमा सेयर बिक्री गर्न लागिएकाले हाल प्रतिसेयर रु १० का दरले न्यूनतम १०० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था गरिएको छ ।

कुल बिक्री हुने सेयरमध्ये एक लाख ११ हजार १५० कित्ता सेयर भने कम्पनीका कर्मचारीलाई संरक्षण गरिएको छ । सेयरमा आवेदन दिने आवेदकले पहिलो चरणमा प्रतिसेयर रु १० का दरले हुन आउने रु तीन करोड ७० लाख ५० हजार मात्र अग्रिम भुक्तानीका लागि आग्रह गरिएको छ ।

सेयरवापत चुक्ता हुन बाँकी रहने रु ९० भने नियमानुसार पछि माग गरिने आह्वानपत्रमा उल्लेख छ । त्यो भनेको आयोजनाको निर्माण ७५ प्रतिशत सकिएपछि थप रकम माग गरिनेछ ।

नुवाकोटको साविक मनकामना गाविस र रसुवाको लहरेपौवा गाविसको सीमानामा आयोजना रहेको छ । आयोजनाको कुल लागत निर्माण अवधिको व्याजसमेत गरी आठ अर्ब २२ करोड ७४ लाख रुपैयाँ रहेको छ ।