सोमबार, ९ वैशाख २०७६
DainikNepal.com
सोमबार, ९ वैशाख २०७६

दुई लाख ऋणबाट सौराहामा चार करोडको मालिक

दैनिक नेपाल २०७५ चैत ७ गते ८:१३

गोकर्ण गिरी, अध्यक्ष, रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल सौराहा (रेबान)

गोकर्ण गिरीको पुरानो घर बागलुङ भएपनि जन्म चितवनको सौराहामा भएको हो । अत्यन्तै सामान्य र निम्न परिवारबाट होटेल व्यवसायको क्षेत्रमा प्रवेश गरेका गिरीसँग अहिले झण्ड चार करोड बराबरको सम्पत्ति छ । उनले होटेल व्यवसाय र पर्यटनको क्षेत्रबाट यति धेरै सम्पत्ति जोड्न सकेका हुन् ।

रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान) सौराहका अध्यक्ष समेत रहेका गिरी सामाजिक कार्यमा संलग्न छन् । सौराहामा उनी आफैले अल फ्रेस्को रेष्टुरेन्ट र सूर्योदय गेष्ट हाउस चलाउँछन् । झण्डै एक सयजनालाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी दिएका गिरीले गेष्ट हाउस र रेष्टुरेन्टमा बेलाबेला आफूले पनि काम गर्छन् । कामलाई सानो ठूलो नठान्ने गिरीको यो नै सरलता र सफलता हो ।

‘दाईभाई गरेर हामी पाँच जना छौँ । म कान्छो हुँ । सौराहामा बीस वर्ष अगाडि धेरै होटेल थिएनन्’, उनले बिगत कोट्याउँदै भने, ‘२–४ वटा सामान्य होटेल थिए । त्यस बेला पर्यटक आउँथे । तर, टेन्ट टाँगेर बस्ने गर्थे । जंगल क्षेत्र भएकोले पर्यटक आइरहेको हुनाले । पर्यटन व्यवसाय बढाउनु पर्छ र होटेल खोलिनुपर्छ भनेर पुराना व्यवसायीहरू लाग्नु भयो । होटेल खोल्न थाल्नु भयो । मपनि थपिएँ ।’

‘हामी पनि विस्तारै व्यवसायमा लाग्नुपर्छ भनेर लागियो । पढ्दै थियौँ । बुबाआमा किसानी हुनुहुन्छ । किसानी काम गरेर आउनु भएका मेरो बुबा नुन बोकेर ठोरीबाट काठमाडौं जानु हुन्थ्यो’, गिरीले भने, ‘बुबाकै दुःख र मेहनतले हामी यो ठाउँमा आइपुगेका हौँ । बुबाले हामीलाई पढाउने काम पनि गर्नुभयो । हामीले पनि पढेर आफ्नो व्यवसाय गर्नुपर्छ भनेर लाग्यौँ । बुबाको मेहनतलाई खेर जान दिएनौँ ।’

आफ्ना दाईहरूको सहयोगले होटेल र पर्यटन व्यवसायमा सफल भएको गिरीको भनाइ छ । ‘दाईहरू पर्यटन व्यवसाय क्षेत्रमा प्रवेश गर्नुभयो । दाईहरू पर्यटन व्यवसायमा लागेको देखेर म पनि यो क्षेत्रमा प्रवेश गरेँ’, उनले भने, ‘म ०५८ सालमा पर्यटन व्यवसायमा प्रवेश गरेको हुँ । दाईहरूको अहिले होटेल छ । त्यसै बेलादेखि मैले पहिला सानो रेष्टुरेन्ट गर्न शुरु गरेँ ।’

त्यसभन्दा अगाडि आफूले दाईहरूकै रेष्टुरेन्टमा काम गरेको उनले बताए । ‘मैले शुरुमा आठ–दश वटा ग्यास राखेर पनि बेच्न थाले । आफैले साइकलमा पुर्‍याउँथे । प्रत्येकको होटेल र रेष्टुरेन्टमा आफैले ग्यास पुर्‍याउने काम गरेको हुँ । त्यसपछि रिक्सा किने । रिक्सामा ग्यास राखेर आफैले चलाएर पुर्‍याउने गरेँ’, उनले भने, ‘मान्छे (कामदार) राखेर बियर पनि बेच्न थाले । त्यस बेलासम्म म दाईकै रेष्टुरेन्टमा काम गर्ने गर्थेँ । दाईहरूले रेष्टुरेन्टबाट कमाएको थाहा पाएँ । त्यसपछि रेष्टुरेन्ट किन्नेतर्फ लागेँ ।’

गिरीको जीवनलाई टाँडीका ऋषि ठकुरीले ‘टर्निङ’ गरिदिएका रहेछन् । ठकुरीलाई अहिले पनि गरीले भगवानले बास गर्ने ठाउँमा राखेर नाम लिन्छन् । उनले भने, ‘मलाई एकजना टाँडीको दाई हुनुहुन्छ ऋषि ठकुरी । उहाँले निव्र्याजमा दुई लाख रुपियाँ छ महिनाको लागि चलाउन दिनुभएको थियो ।’

‘०६२ सालको कुरा हो । मैले त्यही दुई लाख रुपियाँ लिएर व्यवसाय शुरु गरेको हुँ । त्यही दुई लाखले रेष्टुरेन्ट खरिद गरे’, उनले भने, ‘दाईहरूले भाडामा लिएको केसी रेष्टुरेन्ट थियो । त्यसलाई मैले किने र विस्तारै कमाउँदै गएँ ।’ उनले आफू सफल हुँदै गर्दा सौराहाको विकास र पहिचानमा पनि यो क्षेत्रलाई केही गर्नुपर्छ भनेर सोँच बनाएर अगाडि बढेको बताए । त्यसमा होटेल, रेष्टुरेन्ट र पर्यटन व्यवसायमा लागेका साथीहरूले मनैदेखि साथ दिएको गिरीले बताएका छन् ।

उनले सौराहामा विदेशी पर्यटक मात्रै आउने गरेको स्मरण गर्दै आन्तरिक पर्यटक नआउने अवस्थालाई साथीहरूसँग मिलेर विस्तारै सुधार गरेर लगेको बताए । ‘आन्तरिक पर्यटकलाई भित्र्याउनका लागि सल्लाह गरेँ । आन्तरिक पर्यटक भित्र्याउन मेला महोत्सव गर्नुपर्छ भन्ने सुझाव आयो । रेबानले फुडफेस्टिभल शुरु गरोस् भन्ने सल्लाह पायौँ’, गिरीले भने, ‘टाँडीभन्दा माथिका मान्छेले सौसाहा भन्ने चिनेका पनि थिएनन् । चार वटा रेष्टुरेन्ट व्यवसायका साथीहरू जम्मा भयो । अनि शुरु भयो सौराहा चिनाउने हाम्रो अभियान ।’ गिरी रेबानका संस्थापक अध्यक्ष पनि हुन् ।

केसी रेष्टुरेन्ट, रिभरभ्यु जंगल क्याम्प तथा रिभरभ्यु जंगल रेष्टुरेन्ट र जंगल भ्यु रेष्टुरेन्ट अफ फेस्को रेष्टुरेन्टका साथीहरू जम्मा भएर अहिलेको गैँडा चोकमा पहिलो फुड फेस्टिभल गरेको उनले सुनाए । ‘त्यो फुड फेस्टिभल दुई दिनको लागि गरेका थियौँ । सफलताका साथ सम्पन्न भयो । धेरै पर्यटक आउनु भयो’, उनले भने, ‘स्थानीय र आन्तरिक पर्यटक पनि आउनुभयो । मान्छे आएको देखेपछि रेष्टुरेन्टहरूको संगठन बनाउनुपर्छ भनेर रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल सौराहा (रेबान) संगठन गठन गरियो ।’

यो संगठनले अहिले १३औँ सौराहा फुडफेस्टिभल गरिसकेको छ । यसले गर्दा धेरै पर्यटक भित्र्याएको उनको बुझाइ छ । सौराहामा पर्यटक भित्र्याउने मात्रै होइन सौराहालाई चिनाउने काम पनि गरेको गिरीले बताए ।

नयाँ पुस्तालाई गिरीले व्यवसाय गर्न सुझाव दिन्छन् । ‘व्यवसाय गर्ने हो भने कमाइ गर्न सकिन्छ’, उनले भने, ‘ग्राहकलाई भगवान मान्नुपर्छ । उनीहरूको इच्छा पूरा गर्नुपर्छ । विश्वास र इमान्दारिता पनि चाहिन्छ ।’

रेस्टुरेन्ट, होटेल र पर्यटनको व्यवासयमा काम गर्दा अबरोध भएको उनको तितो अनुभव छ । ‘भरखरै होटेल व्यवसायमा प्रवेश गरेको थिएँ । केही व्यक्तिहरूबाट अबरोधको प्रयास भयो । म पछाडि हटिन’, उनले भने, ‘परिश्रम गर्दै गएँ । मेरो उदेश्यमा सफल भएँ ।’ गिरी अहिले सौराहाका नाम चलेका प्रतिष्ठित होटेल व्यवसायीमा पर्छन् ।

बाधाहरू भयो भन्दैमा हरेस खान नहुने उनको भनाइ छ । ‘व्यवसायीहरूबाट पनि अवरोध भएको थियो । राज्यको तर्फबाट त्यस बेला पनि सपोर्ट थिएन । अहिले पनि छैन’, उनले भने, ‘म पछाडि हटिन । राज्यको तर्फबाट अहिले पनि सौराहालाई सपोर्ट भएको छैन किन हो थाहा भएन ।’

सरकारले सौराहालाई तेस्रो पर्यटकीय क्षेत्रका रुपमा ब्याख्या गर्दै आएको छ । यसलाई हेर्ने दृष्टिको तेस्रो पर्यटक क्षेत्र भनेर छैन । उनले प्रश्न गर्दै भन्छन्, ‘हाम्रो यो सौराहालाई सरकारको तर्फबाट के गर्नुभएको छ ? सौराहाको प्रचार प्रसार गरिदिनुभएको छैन । सौराहामा के गर्नुपर्छ भनेर पनि सोध्नु हुँदैन । हामीले ठूला कार्यक्रम गर्छौ तर, मन्त्रीदेखि ठूला सरकारी व्यक्ति आउँदैनन् ।’ सौराहले धेरैलाई रोजगारी र राज्यलाई ठूलो कर संकलन गरेको गिरीले बताए ।

उनले अहिले पनि पर्यटकका सम्पूर्ण चाहना पूरा गर्न नसकिएकोमा चिन्ता व्यक्त गर्छन् । तर, अधिकतम चाहना पूरा गर्ने गरेको गिरी बताउँछन् । पर्यटकहरूमा आजकाल म्युजिक सुन्न रुचाउँने परम्परा रहेको उनको अनुभव छ । ‘सौराहामा दश बजेसम्म म्युजिक बजाउन दिएका छौँ । कसैले अबेर रातिसम्म खान चाहन्छ भने भित्र कोठामा खान दिएका छौँ’, उनले भने, ‘आन्तरिक पर्यकटहरूले बाहिर बसेर खुला आकाशमा पोलेको मासु र सेकुवाहरू खान रुचाउँछन् । बाहिर ओपनमा बसेर खान पाए हुन्थ्यो भन्छन् । रमाउन पाए हुन्थ्यो भन्छन् । शान्त वातावरणमा बसेर खानुपर्छ भन्नेमा विदेशी पर्यटकहरू हुन्छन् ।’

रेबानले सौराहमा सेवा शुल्क हटाएको छ । तर, मजदुर संगठनहरूलाई चित्त नबुझेपछि सर्वोच्चमा मुद्धा दिएका छन् । ‘सेवा शुल्कको कुरा अदालतमा बिचाराधीन छ । यस विषयमा धेरै नबोलौँ’, उनले भने ।

‘पर्यटकले खान खान्छन् । दश प्रतिशत किन लगाएको भनेर भन्छन् । बरु एक हजार टिप्स दिन्छन् । सेवा शुल्क लगाउँदा मन खिन्न बनाउँछन्’, उनले भने, ‘टेबुलमा बसेर खाना खाएका पर्यटक सेवा शुल्कका कारण खुसी नभएका कारण सेवा शुल्क हटाएका हौँ । सौराहमा हटायौँ’, उनले भने, ‘ग्राहक बेखुसी भयो भने हामीलाई नराम्रो लाग्छ ।’

व्यवसाय गरेको कर तिर्न जाँदा समस्या रहेको गिरीले बताए । ‘व्यवसायीहरूलाई करसम्बन्धी पूर्ण ज्ञान छैन । तालिम दिनुपर्छ । कर तिर्न जाँदा केही कर्मचारीहरूका कारण समस्या हुन्छ’, उनले भने, ‘प्रहरी प्रशासनबाट सहयोग छ । चन्दा आतंक थियो । अहिले छैन । गुण्डागर्दी छैन । बन्द हडताल छैन । व्यवसाय गर्न पाइएको छ ।’

उनले सौराहालाई राज्यले नहेरेको दोहोर्‍याए । ‘सौराहाको विकास गर्नुपर्छ । हिँड्ने बाटो बनाउनु पर्छ । साइकिलिङ गर्ने ठाउँ छैन । सडक भत्किएको छ । नाइट वाक छैन । जिप सफारी छैन । पहिला भएका थुप्रै कार्यक्रमहरू बन्द भएका छन् । ती बन्द भएका कार्यक्रमहरू खोल्नुपर्छ । विदेशी पर्यटकले चितवन भनेको साइकल चढ्ने ठाउँ भन्छन्’, उनले भने, ‘यो विषयलाई सरकारले ध्यान दिनै पर्छ ।’

प्रस्तुतिः विमल योगी

प्रतिक्रिया
सम्बन्धित