सोमबार, ९ वैशाख २०७६
DainikNepal.com
सोमबार, ९ वैशाख २०७६

स्थानीय तहमा मनपरी : कर्मचारी रिझाउन तलब वृद्धि

दैनिक नेपाल २०७५ चैत ७ गते ६:५२

काठमाडौं, ७ चैत । स्थानीय तहका जनप्रतिनिधिले गैरकानुनी रूपमा कर्मचारीको तलब वृद्धि र बढुवा गरेका छन्।

ललितपुर महानगरपालिका, धरान उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका तथा बैतडी र कञ्चनपुर जिल्लाका नगरपालिकाले कर्मचारी रिझाउन तलब स्केल र तह वृद्धि गरेका हुन्।

विद्यमान कानुनअनुसार जनप्रतिनिधिलाई कर्मचारीको तलब र तह बढाउने अधिकार छैन। अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रूपनारायण भट्टराईले कर्मचारीको सेवासुविधा बढाउने नगरपालिकाको निर्णय गैरकानुनी भएको बताए। ‘केही तहले निर्णय कार्यान्वयन गरिसकेका छन्।

प्रदेश लोकसेवा गठन भएसँगै अनुगमन गरी कर्मचारीलाई खुवाइएको तलब बेरुजु देखाइनेछ’, उनले भने, ‘त्यसपछि जनप्रतिनिधिले कर्मचारी रिझाएर अरू बेथिति गर्न सक्ने अवस्था रहन्न।’ कानुनविपरीतका निर्णयले विकास बजेटको रकम तलबभत्तामा खर्च हुँदा व्ययभार बढ्नेछ।

स्थानीय तहले भने कर्मचारीको वृत्ति विकासको निर्णय निजामती सेवा ऐनको मापदण्डमा टेकेर गरेको दाबी गरेका छन्। स्थानीय तहका कर्मचारीको वृत्ति विकास गाउँपालिका र नगरपालिकाको कार्यबोझ, राजस्व क्षमता, खर्चको आकार, स्थानीय आवश्यक र विशिष्टताका आधारमा संगठन संरचना कायम गर्नुपर्ने व्यवस्था स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा छ। स्थानीय तहले कर्मचारी व्यवस्थापनसम्बन्धी कानुन निर्माण गरेको छैन। प्रदेश लोकसेवा आयोग पनि गठन भएको छैन।

धरान उपमहानगरपालिकाले दरबन्दी निर्धारण गरी कर्मचारी नियुक्ति प्रक्रिया अगाडि बढाएको थियो। तर कर्मचारी समायोजन प्रक्रिया अघि बढेपछि त्यो कार्यान्वयन हुन नसकेको निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेलले बताए।

धनगढी उपमहानगरपालिकाको गत असारमा सम्पन्न नगरसभाबाट तहमा कार्यरत ७० जना कर्मचारीको तह र ग्रेडसमेत वृद्धिको निर्णय गरेको थियो। तह र ग्रेड वृद्धि पाएका कर्मचारी खुसी भए। तर कानुनी रूपमा त्यो वैध नभएपछि अहिले ती कर्मचारी हिस्स परेका छन्।

प्रतिक्रिया
सम्बन्धित