सोमबार, ९ वैशाख २०७६
DainikNepal.com
सोमबार, ९ वैशाख २०७६

फागु पूर्णिमामा बुद्ध पूजा

दैनिक नेपाल २०७५ चैत ६ गते १८:४५

– कृष्णराज गौतम

काठमाडौँ, ६ चैत । चाबहिलस्थित चारुमती बुद्ध विहारमा फागु पूर्णिमामा आज बौद्ध धर्मावलम्बीले विशेष पूजा गरेका छन् । बुद्धले बोधिसत्व प्राप्त गरिसकेपछि तत्कालीन कपिलवस्तुका राजा शुद्धोदनले उनलाई दरबार फर्कन आजको दिन दूत पठाएर निमन्त्रणा गरेको विश्वास छ ।

बौद्ध साहित्यमा आधारित विभिन्न उपदेशलाई अर्थ लगाएर सांसारिक दुःखबाट स्वतन्त्र रहने प्रण गर्दै उनीहरुले बुद्धलाई स्मरण गरेका हुन् । विहारमा भएको बुद्ध पूजा, भजन र प्रवचनले सर्वसाधारणलाई आकर्षित गरेको पाइएको थियो । ईपू ५६३ मा जन्मेका सिद्धार्थले २९ वर्षको उमेरमा बोधगयामा गई ६ वर्षको तपस्या तथा साधनापछि प्राप्त गरेका ज्ञानबाट उनी बुद्ध भएका हुन् । बुद्धकालीन समयमा उनले बताएका उपदेशलाई लिखित रूपमा उतारिएको थिएन ।

बुद्धको शेषपछि उनका अनुयायीले तीन पटक सम्मेलन गरेर उपदेशको सङ्ग्रह गरी ग्रन्थका रुपमा सूत्र पिटक, विनय पिटक र अभिधर्म पिटक निर्माण गरेका थिए । त्यसलाई ‘त्रिपिटक’ भनिन्छ । बुद्धको अर्थ ज्ञान प्राप्त गरेको व्यक्ति हो । बुद्धको जन्मबारे विभिन्न विद्धानमा एकमत छैन । प्राणी हिंसा गर्न नहुने, साँचो बोल्ने, नचोर्ने, ब्रह्मचार्य पालन गर्ने, लागुपदार्थ सेवन नगर्नेलगायत विषयलाई उपदेशका रुपमा बौद्ध साहित्यमा समेटिएको छ ।

प्राचीन समयदेखि नै हिन्दू र बौद्ध धर्मावलम्बीबीच धार्मिक, सांस्कृतिक सम्बन्ध रहेको पाइन्छ । वैदिक हिन्दू तथा बौद्धमा मन्त्र, तन्त्र र यन्त्रबीचमा गहिरो सम्बन्ध थियो । लोभ, लालच, मोह, आशक्तिजस्ता कारणले दुःख उत्पन्न हुने र मानिसले दुःख भोग्नुपर्ने हुँदा हरेक विषयलाई सामान्य रुपमा ग्रहण गर्नुपर्छ भन्ने सन्देश बुद्ध दर्शनको महत्वपूर्ण विशेषताका रुपमा लिइएको विहारका प्रमुख भिक्षु तपस्सी धम्मले बताउनुभयो ।

बौद्ध अनुयायीले पवित्र तीर्थस्थलका रुपमा लुम्बिनी, बोधगया, सारनाथ र कुशिनगरलाई मान्छन् । उनको जन्मस्थल लुम्बिनी, ज्ञान आर्जनस्थल बोधगया, पहिलोपटक उपदेश दिएको स्थल सारनाथ र देह त्यागेको स्थल कुशिनगर हो । ज्ञान प्राप्त गरेपछि बुद्धले तत्कालीन समाजमा करीब ४५ वर्ष उपदेश फैलाएको विश्वास छ ।
लिच्छवी राजा जयदेवले पशुपति अभिलेखको वंशावलीमा वृषदेव राजालाई ‘बौद्धधर्मको पक्षपात गर्ने’ भन्दै प्रशंसा गरेको पाइन्छ ।

त्यसैगरी गोर्खाका राजा पृथ्वीनारायण शाहले आधुनिक नेपाल एकीकरण गरेपछि काठमाडौँ उपत्यकालगायत विभिन्न स्थानमा भएका गुम्बा र विहारको संरक्षण गरेको इतिहास पाइन्छ । समय परिस्थितिले अनुयायीमा आएको चिन्तनले बुद्ध दर्शनमा हीनयान र महायानका रुपमा विभाजन भएको पाइन्छ । त्रिपिटकमा उल्लिखित उपदेशका अनुयायी हीनयानी भए । उनीहरूले अवलम्बन गर्ने अभ्यासलाई पछि थेरवादी भनिएको हो । ती अनुयायीले बुद्ध, धर्म र सङ्घलाई आत्मसात् गरी बोधी ज्ञानलाई मुख्य आधार मानेका छन् ।

महायानका अनुयायीले आफ्नो हित हुने कुरालाई आफैँ निर्णय गर्नुपर्ने मूल्य र मान्यता राख्ने गर्दछन् । समग्र प्राणीजगत्को कल्याण गर्ने सिद्धान्तलाई अवलम्बन गर्ने महायानीका ग्रन्थकालाई कङ्ग्युर र तेङ्ग्युर भनिन्छ ।

दुवै पक्षका अनुयायीले सदाचारी र ध्यानी बनेर अरूको हितमा कार्य गर्नुपर्ने मान्यता राखेका छन् । ईपू ३०० वर्षअगाडि भारत वर्षबाट राजा अशोक लुम्बिनी आएर ‘यहाँ भगवान् जन्मिएका थिए’ भनेर ठूलो ढुङ्गाको स्तम्भ खडा गरेको विषय लुम्बिनीको अशोक स्तम्भमा पाइएको छ । बुद्धका उपदेश, व्याख्या र बौद्ध दर्शनका सिद्धान्त अहिलेको विश्व परिवेशमा फराकिलो हुँदै गएको छ । – रासस

प्रतिक्रिया
सम्बन्धित